Logo

एनसेल फाउन्डेसन ह्याकाथन उपाधि विजेता बन्यो इकोलुप

काठमाडौं– मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको एनसेल फाउन्डेसनसहितका संस्थाले आयोजना गरेको नेपालको पहिलो राष्ट्रिय स्तरको वेस्ट ह्याकाथन उपाधि थापाथली क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीको टिम इकोलुपले जितेको छ ।

ट्रयास डिजिटाइज शीर्षकअन्तर्गतको नवीन सोलुसन्स/समाधान प्रस्तुत गर्दै प्रथम स्थान हासिल गर्न सफल यो टिमले फोहोर वर्गीकरण, ट्रयाक र व्यवस्थापन गर्न उपभोक्तालाई प्रोत्साहन गर्ने डिजिटल प्लेटफर्म प्रोटोटाइप विकास गरेको थियो । यस्तै, किङ्स कलेजका विद्यार्थीको फुलस्ट्याकजिरोवेस्ट टिमले ल्यान्डफिल टू सर्कुलेटरी शीर्षकअन्तर्गत दोस्रो स्थान प्राप्त गरेको छ ।

एनसेलका अनुसार काठमाडौं विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स विभागका विद्यार्थीको टिम सोर्स कोडले तेस्रो स्थान प्राप्त गरेको छ । यो टिमले वेस्ट विथआउट स्मक शीर्षकअन्तर्गत डेटा र एआईमा आधारित समाधान विकास गरेका थिए । कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाललाई स्थानीय स्तरमा आधारित नवीन सोलुसन्स आवश्यक रहेकामा जोड दिए ।

विश्व वातावरण दिवस २०२५ अवसरमा एनसेल फाउन्डेसन, खालीसिसी र बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । फोहोरमैला व्यवस्थापनमा केन्द्रित यस किसिमको यो पहिलो ह्याकाथनमा सहभागिताका लागि चार सय बढी आवेदन परेकामा १३ उत्कृष्ट टोली छनोटमा भएका थिए ।

‘कार्यक्रम केवल प्रतियोगिता मात्रै थिएन, सिभिक इनोभेसनका लागि प्लेटफर्म पनि थियो । जहाँ युवाले प्रविधि र उद्देश्यका माध्यमबाट हरित भविष्य निर्माण गर्ने दिशामा योगदान दिए’, एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् । अन्तिम तीन विजेता टोलीले उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) बाट परामर्श र इन्क्युवेसन सहयोग प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्