Logo

दाङमै फल्न थाले रसिला र स्वादिष्ट स्याउ

दाङ– हावापानीका दृष्टिकोणले समशीतोष्णदेखि उप–उष्ण जलवायु रहेको दाङमा पनि स्याउ फल्न थालेको छ । खासगरी उच्च पहाडी र हिमाली भेगमा स्याउ उत्पादन हुने चर्चा चलिरहेका बेला चुरे क्षेत्रमा रहेको दाङमा पनि स्याउ फल्न थालेपछि कृषि क्रान्तिका लागि नयाँ सम्भावना उजागर भएको हो ।

दाङको विशेष हावापानी, उर्बर माटो र समुद्री सतहबाट मध्यम उचाइको भू–बनोटले स्याउ उत्पादनको सम्भावनालाई यथार्थमा बदल्ने बाटो खोल्न तल्लीन छन्, रोल्पाका मनु बुढामगर । हाल घोराही बस्दै आएका मनुले घोराही उपमहानगर–११ मज्गैमा ३ बिघा बढी जग्गा १० वर्षका लागि भाडामा लिएर सगरमाथा नर्सरी कृषि प्रालि दर्ता गरेर स्याउलगायत विभिन्न फलफूलका बेर्ना उत्पादनसँगै स्याउ फलाउन लागेका छन् ।

भारतको हिमाञ्चल प्रदेशमा १५ वर्ष काम गर्दै स्याउ खेतीबारे गहिरो अनुभव र ज्ञान हासिल गरेर जन्मथलो फर्किएका उनले अहिले स्याउको नर्सरीदेखि अन्य प्रजातिका फलफूलका बेर्ना उत्पादन गर्दै आएका छन् । भारतबाट मूलबिउ ल्याएर ग्राफ्टिङ गरेर यहाँको हावापानी सुहाउँदो फल्न सक्ने गरी बिरुवा उत्पादन गर्दै आएको उनी बताउँछन् ।

गत वर्ष तयार पारेको स्याउका बेर्ना रोपेर यो वर्ष उत्पादनसमेत दिन थालेको उनको भनाइ छ । ‘हिमाञ्चलमा जन्मिएर पनि पुख्र्यौली थलो खोज्दै यहाँ आएर काम गर्न थालेको छु । यो काम गर्दा मैले सुरुमै राम्रो प्रतिफल पाइरहेको छु’, उनले भने ‘यहाँको हावापानी, माटोले राम्रो साथ दिने देखेको छु । सुरुमा यहाँ आएर माटो जाँच गरेर भारतबाट ल्याएको गर्मीमा पनि फल्ने स्याउका बेर्ना रोपेर गरेको परीक्षण सफल भएको छ ।’

परीक्षणका रुपमा तयार पारेको बेर्ना रोपेर एक वर्षमै स्याउ फलाउन सफल भएका उनले फलाएका स्याउ हिमाली जिल्लामा उत्पादितजस्तै स्वादिष्ट र रसिला छन् । ‘बेर्ना रोपेको करिब १४ महिनामै फल लागेको छ । स्याउको स्वाद पनि मिठो, रसिलो छ । गुणस्तर पनि राम्रो छ’, उनले भने ‘अब दाङलाई स्याउबाट चिनाउने कोसिसमा लागेको छु ।’ मनाङ, मुस्ताङ, हुम्ला, जुम्लालगायत हिमाली तथा उच्च पहाडी जिल्लामा फल्ने स्याउ जस्तै यहाँको हावापानीमा पनि फल्न सक्ने गरी बेर्ना उत्पादन गरेर उनले स्याउ फलाएका हुन् ।

रोपेको दोस्रो वर्षबाट फल्न थाल्ने स्याउको बोटले पाँच–सात वर्षबाट पूर्ण रुपमा फल दिने उनले बताए । एउटा बोट वयस्क भएर फल्न थाले एकै सिजनमा कम्तीमा एक क्विन्टलसम्म स्याउ फल्ने उनको भनाइ छ । दाङको हावापानीमा उत्पादन हुने ६ र पहाड तथा हिमालमा हुने ३४ गरी ४० प्रजातिका ४० हजार बढी बिरुवा उत्पादन गरेका छन्, उनले । ४० प्रकारका स्याउका बेर्ना हावापानी र माटोअनुसारको भूगोलमा रोपेर फलाउन सकिनेछ ।

समुद्री सतहबाट ६०० देखि ११०० मिटर उचाइमा फैलिएको दाङमा रोपिने स्याउ अन्ना, हर्मन ९९ र डोर्सड गोल्डेन हुन् । यी प्रजातिका स्याउ गर्मी हुने ठाउँमा फलाउन सकिन्छ । स्याउको गुणस्तरमा कमी नरहेको र तराईमा फल्ने स्याउको बोक्रा पातलो र पहाडी भेगमा फल्ने स्याउको बोक्रा केही बाक्लो हुने उनले जानकारी दिए ।

‘यहाँको हावापानी समशीतोष्णदेखि उप–उष्ण जलवायु छ । वर्षको अधिकांश समय मध्यम तापक्रम रहने, पर्याप्त घाम लाग्ने र मनसुन समय पर्याप्त वर्षा हुने भएकाले दाङको हावापानी नयाँ–नयाँ फलफूलका लागि उपयुक्त बन्दै गएको छ । पहिला–पहिला स्याउ चिसो ठाउँमा मात्रै फल्छ भन्ने मान्यता थियो । तर, अहिले विश्वभर गरिएका अनुसन्धानले जुनसुकै वातावरणमा पनि विभिन्न प्रजातिका स्याउ फलाउन सकिन्छ भन्ने प्रमाणित गरेको छ । त्यसैको नतिजा स्वरुप मैले दाङमा अन्ना, हर्मन ९९ र डोर्सड गोल्डेन प्रजातिको स्याउ रोपेर फलाउन सफल भएको हुँ’, उनले भने ।

४० प्रजातिका ४० हजार बढी बिरुवा उत्पादन गरिसकेका मनुले अहिलेसम्म झन्डै ४५ लाख बढी लगानी गरेर दाङमा स्याउ उत्पादनको बलियो सम्भावना देखाएका छन् । उत्पादित स्याउका बेर्ना दाङसहित रोल्पा, प्युठान, रुकुम र अन्य छिमेकी जिल्लामा मागअनुसार जान थालेका छन् ।

‘स्याउ खेतीका लागि जमिनको प्रकृति, मल–जलको व्यवस्थापन र रोगकिरा नियन्त्रणप्रति ध्यान दिनुपर्छ । यदि उचित सल्लाह, तालिम र प्रविधि पाए दाङका धेरै ठाउँ स्याउ उत्पादनमा अघि सर्न सक्छ,’ उनले भने, ‘यसका लागि हामीले नर्सरीबाट बेर्ना बिक्री गर्दैगर्दा प्राविधिक ज्ञान पनि दिने गरेका छौं । बेर्ना किनेर लैजानेलाई स्याउको उत्पादन कसरी लिन सकिन्छ भन्ने ज्ञान हुने गरेको छ । यो काममा सरकारले पनि प्राविधिक ज्ञान दिन सके राम्रो हुने थियो ।’

नेपाली युवा घरअगाडिको जमिन बाँझै राखेर स्याउ टिप्न भारतका विभिन्न ठाउँमा जाँदा दु:ख पाउने गरेको उनले सुनाए । ‘यही कामका लागि नेपाली दाजुभाइ भारत जाँदा धेरै दु:ख पाउने अवस्था छ । यहाँ स्याउ उत्पादनको राम्रो सम्भावना रहेका बेला उनीहरूलाई यहीँ रोकेर रोजगारी दिन सकिए स्याउ उत्पादनमा टेवा पुग्नेछ । घरमै बसेर रोजगारीसँगै राम्रो आम्दानी गर्न सकिने आधार बन्न सक्छ,’ उनले भने ।

खाली जमिनलाई स्याउ उत्पादनमा जोड्न सके नेपाललाई स्याउमा आत्मनिर्भर बनाउन सकिने उनको धारणा छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार पछिल्ला वर्षमा जिल्लामा फलफूल खेती गर्ने किसान र क्षेत्रफल बढ्दै गएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेले जिल्लामा केरा खेती ६ सय ६० हेक्टर, ड्रागन फ्रुट ७० हेक्टर, मेवा ३० हेक्टरमा हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्