Logo

सुनिल स्मृतिको प्राथमिकतामा कृषि र रोजगारी सिर्जना

रोल्पा– सुनिलस्मृति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम ल्याएको छ । गाउँसभाको १८औं बैठकमा गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अध्यक्ष बुढाथोकीले सोमबार सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभाले सर्वसम्मत पारित गरेको छ ।

नीति तथा कार्यक्रममा निर्वाहमुखी कृषिलाई आधुनिक र व्यावसायिक बनाउँदै कृषि उपजमा पालिकालाई आत्मनिर्भर बनाउन यान्त्रिकीकरण तथा विशिष्टीकरण गरिने उल्लेख छ । गाउँपालिकाको अरेशमा अदुवा, गजुल र तेवाङमा सुन्तला र कागती, कफी, घोडागाउँ र खुङ्ग्रीमा आँप, मिझिङमा केरा र आँप, बेसारलगायत प्रत्येक वडाको भौगोलिक अवस्था, माटोको गुणस्तर, हावापानीको अनुकूलनताका आधारमा बालीवस्तुको विशिष्टीकृत उत्पादनलाई विशेष प्राथमिकता दिइने भएको छ ।

‘वन वनमा चिउरी घर घरमा मौरी’ भन्ने मूल नाराका साथ सम्भावित क्षेत्रमा मौरीपालन व्यवसाय प्रवर्द्धन गरिने उल्लेख छ । कृषिजन्य वस्तुहरुमा गाउँपालिकालाई आत्मनिर्भर बनाउन सम्भावित क्षेत्र पहिचान गरी उत्पादित कृषि उपजको संकलन, र बजारीकरणका लागि संकलन तथा बिक्री वितरण केन्द्रको व्यवस्था गर्नुका साथै कोल्ड स्टोरेज सेन्टर निर्माणको कार्य अघि बढाइने बताइएको छ । ‘कृषि विकास अभियान: रैथाने बाली हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ परम्परागत र पोषणयुक्त रैथाने बाली संरक्षण तथा खेती विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

उत्पादन बढाउन उत्पादनमा आधारित प्रोत्साहन अनुदान प्रणालीको व्यवस्था गरिने भएको छ । त्यस्तै बेरोजगार युवालाई मागमा आधारित सीप विकास तालिम दिइ उद्यम व्यवसायमा जोड दिइने भएको छ । गरिबी निवारणका लागि लक्षित वर्गलाई उद्यमशीलता विकास तालिम दिइ सीप विकास तथा प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइने भएको छ । वैदेशिक रोजगारबाट फर्किएका युवा तथा विप्रेषण प्राप्त गर्ने परिवारको लगत संकलन गरी उपयुक्त उद्यम तथा व्यवसाय गर्न प्रेरित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पूर्ण जनश्रमदानमा आधारित एक वडा एक आयोजनाको अवधारणा कार्यान्वयनमा ल्याइने भएको छ । महिला, दलित, आदिवासी जनजाति, द्वन्द्व पीडित विपन्न तथा सीमान्तकृत समुदायको सार्वजनिक प्रशासनमा पहुँच बढाउन नि:शुल्क लोकसेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षाहरु सञ्चालन भएको छ । आव २०८२/०८३ भित्रै पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिने भएको छ ।

गाउँपालिकालाई पर्यटकीय हब बनाउन पालिका क्षेत्रभित्र रहेका घोडागाउँ रेड स्वायल पार्क, खुंग्री त्रिपुरेश्वरी मन्दिर, शिवपञ्चायण मन्दिर र खुंग्री दरबार, तेवाङको लिस्ने लेक र मालारानीकोट राज्यपोखरी, गजुलको गजुलकोट दरबार, सुनिलपार्क, अरेशको ढुङ्गे साघु, कोइरालखर्कको भगाने गुफालगायतका पुरातात्विक, धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा प्राचीन महत्त्वका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरिने भएको छ ।

‘विकासको सुत्राधार: शिक्षा नै मूल आधार’ भन्ने नाराका साथ शिक्षा क्षेत्रको विकास, व्यवस्थापन र नियमनका लागि पालिकास्तरिय शिक्षा ऐन, नियमावली र नीति तर्जुमा गरिने भएको छ । एक वडा एक माध्यामिक विद्यालयको नीति कार्यान्वयन प्राथमिकताका साथ अगाडि बढाइने भएको छ । स्वास्थ्य सेवालाई डिजिटल तथा प्रविधिमैत्री बनाउँदै लगिने भएको छ । योग, ध्यान र आयुर्वेद उपचार पद्धतिको बारेमा विद्यालय तथा वडास्तरमा सचेनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ ।

मिझिङ आयुर्वेद औषधालयबाट हुने सेवा प्रवाहलाई सबै वडामा पुर्‍याउन विभिन्न खाले शिविरहरु सञ्चालन गरिने उल्लेख छ । आवश्यकताका आधारमा मोटरेबल पुल र झोलुङ्गे पुल निर्माणलाई निरन्तरता दिइनेछ । क्रमागत रुपमा सञ्चालन भइरहेका योजना सम्पन्न गर्न आवश्यक बजेट व्यस्था गरिनेछ । एक घर एक धारा कार्यक्रमलाई निरन्तरता नीति तथा कार्यक्रममा जनाइएको छ । विभिन्न व्यक्ति तथा निकायको नाममा दर्ता स्रेस्ता भई हाल मोटरबाटो रहेको जग्गाको लगत कट्टा प्रक्रियाको सुरुवात गरिने भएको छ ।

घर नक्सा अभिलेखीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम टोल तथा बस्तीस्तरमै सञ्चालन गरिनेछ । आगामी आर्थिक वर्षभित्र सुलिचौर, रुइनिवाङ र अन्य बजार क्षेत्रका सबै घरहरुको घरनक्सा अभिलेखीकरणको कार्य सम्पन्न गरी नक्सा पास प्रक्रियालाई अगाडि बढाइने भएको छ । वन पैदावारको बिक्रीवापत प्राप्त हुने नियमानुसारको राजस्व रकम गाउँपालिकाको कोषमा जम्मा गर्न सामुदायिक वन उपभोक्ता समूहहरुलाई प्रोत्साहन गरिने भएको छ ।

खाली तथा उपयुक्त स्थानमा वृक्षरोपण गर्ने कार्यलाई अभियानको रुपमा अघि बढाइने भएको छ । राजस्वका स्रोतको अध्ययन गरी सम्भाव्यताका आधारमा करको दायरा बढाइनेछ । राजस्व संकलनको कार्यलाई अभियानकै रुपमा सञ्चालन गरी सबै आर्थिक कारोबारलाई करको दायरामा ल्याइने उल्लेख छ । फुसको छाना विस्थापन कार्यक्रमलाई निरन्तरता दिँदै क्रमश: वडाहरुलाई फुसको छानामुक्त वडा घोषणा गर्दै पालिकालाई नै फुसको छानामुक्त घोषणा नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्