नवप्रवर्तन उद्यममा कानुनी जटिलतामाथि संशय

वीरगन्ज– देशको अर्थतन्त्रमा सम्भावना देखिएको नवप्रवर्तन उद्यममा कानुनी जटिलता देखा पर्ने संशय सरोकारवालाहरूले व्यक्त गरेका छन् । नेपालमा केही वर्षदेखि चर्चामा रहेको स्टार्टअप नवउद्यमशीलताको विकासका अवधारणाहरूको विषयमा वीरगन्जमा भएको छलफलमा यस्तो संशय व्यक्त गरिएको हो ।
नेपालमा उपत्यका बाहिर पहिलो पटक निजी कलेजले स्थापना गरेको आधुनिक व्यावसायिक इनक्युबेसन वा उद्यम इनक्युबेसनको अवधारणा र यसको महत्त्वको विषयमा भएको छलफलमा यसको दिगोपनामा आउन सक्ने चुनौती र कानुनी जटिलतालाई नै प्रमुख कारकको रूपमा लिइएको छ ।
वीरगन्ज पब्लिक कलेजमा स्थापना गरिएको बुद्ध इनक्युबेसन (नयाँ व्यवसाय,स्टार्टअप वा आविष्कारहरूलाई सुरुवाती चरणमा आवश्यक स्रोत, सल्लाह, तालिम, प्राविधिक सहयोग आदि दिई विकास र विस्तारमा सहयोग गर्ने) केन्द्रमा हेल्भिटास नेपालको ‘इन इलम’ का प्रतिनिधि, वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी, युवा उद्यमी र सञ्चारकर्मीहरूसँग गरिएको छलफलमा सहभागीहरूले व्यवसायमा देखिएको शिथिलता र राज्यको उदासीनता नवउद्यमीको चुनौतीको रूपमा रहेको औंल्याए ।
मधेश विश्व विद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्यले राज्य र निजी क्षेत्रहरूले गर्नु पर्ने काम एउटा कलेजले सुरुवात गरेको बताउँदै यसलाई थप विस्तार र व्यापक बनाउनका लागि सबै सरोकारवालाहरूको सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिए ।
वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष आशिष लाठले वीरगन्ज पब्लिक कलेजमा स्थापना गरिएको इनक्युवेशन नयाँ उद्यम गर्न चाहने युवाहरूका लागि उपयोगी माध्यम र मञ्चको रूपमा रहे पनि राज्यले लिने नीति र कानुनबाट नै यसको भविष्य निर्धारण हुने बताए । अहिले ठूला लगानीका उद्योग व्यवसायहरू डुबिरहेको अवस्थामा नयाँ अवधारण र आधुनिक प्रविधिसहितको नवउद्यमको सम्भावनाहरू भए पनि राज्य यसप्रति गम्भीर भएन भने उपलब्धि हासिल गर्न नसकिने लाठले बताए ।
हेल्भिटास नेपालका कन्ट्री डाइरेक्टर मनिष प्रधानले हेल्भिटासले नेपालमा विभिन्न पक्षहरूसँग गरिरहेको सहकार्य नेपालको सामाजिक न्याय, वातावरणीय न्याय आर्थिक न्यायसँग सम्बन्धित रहेकोले यसले सकारात्मक परिणाम दिन सक्ने बताए । उनले नयाँ प्रविधिको विकास र अवधारणाले व्यावसायिक क्षेत्रमा ठूलो परिवर्तन आएको अवस्थामा नेपालमा पनि नेपाली अर्थतन्त्र सुहाउँदो व्यावसायको विकास, प्रवर्द्धन र विस्तार आवश्यक रहेको बताए ।
हेल्भिटासका टिम लिडर सन्दीप पौडेलले हेल्भिटासको मुख्य काम र उद्देश्य नवप्रवर्तनात्मक उद्यमशीलताकै विकास गर्ने रहेको बताउँदै यसको दीगोपनका चुनौतीहरूमा जोड दिए । उनले कानुनी जटिलताको पाटोहरूमा सरकारसँग समन्वय, सहकार्य गर्नुपर्ने धारणा राखे ।
उनले भने,‘व्यापार गर्ने योजना कसरी सिकाउने भन्ने प्रश्न थियो । त्यहीँबाट इन्कुबेसन सेन्टरको अवधारणाको विकास भयो । बीपीसीले सुरु गरेको इनक्युबेसनको महत्त्व र दिगोपनाको सम्भावना रहेकोले यसमा अरू सरोकारवाला निकायलाई पनि आवद्ध गराउन सकिन्छ ।’
बीपीसी कलेजका कोअर्डिनेटर डाक्टर बासुदेवलाल कर्णले रोजगारी खोज्नेभन्दा पनि रोजगारी दिने खालको जनशक्ति उत्पादन गर्ने थलोको रूपमा इनक्युबेसनको स्थापना गरिएको र यसको स्थापना पश्चात झण्डै एक दर्जन युवाहरू उद्यमशीलतामा आएको बताए । नवप्रवर्तन र उद्यमशीलताको खोज अनुसन्धान, विकास र विस्तारका लागि राज्य, निजी क्षेत्र र कलेजहरूबीच सहकार्यको निरन्तरता आवश्यक रहेको बीपीसीका सहायक क्याम्पस प्रमुख डा.अरविन्द श्रेष्ठले बताए ।