Logo

अन्त्यहीन भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार एकै दिन विशेष अदालतमा ६ वटा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गर्‍यो । एउटा, नेपाल बैंकका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भयो । अधिकारीसहित लक्की भन्ने खुस नसिब अन्सारी, अमृत भुसाल, अंकित भुसाल र बालकृष्ण भुसालविरुद्धको मुद्दा रूपन्देही सिद्धार्थनगर–१, बेलहियाको भुसाल हस्पिटालिटीअन्तर्गतको र्‍याडिसन प्रोजेक्टसम्बन्धी थियो । अर्को, साढे ४ करोडभन्दा बढी रकमबराबर सम्पत्तिको स्रोत नखुलेको भन्दै काठमाडौं महानगरका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरियो ।

अरु ससाना मुद्दाहरु थिए । आइतबार मात्र अख्तियारले नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको आरोपमा १८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । यो मुद्दामा टेलिकमका पूर्वदेखि वर्तमानसम्मका प्रबन्ध निर्देशकहरू तानिएका छन् । टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न बिनाप्रतिस्पर्धा ठेक्का सम्झौता लम्ब्याउने र नयाँ प्रतिस्पर्धा नगराएको आरोपमा भ्रष्टाचारको मुद्दा लगाइएको हो । आइतबार विशेष अदालतमा १८ जनालाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दामा ३३ करोड ४८ लाख १७ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

अख्तियारले टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्ने काममा मिलेमतो गरी भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ । अख्तियारका अनुसार २०६८ पुस ६ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एसिया इन्फो लिंकेज टेक्नोलोजिज चाइनाबीच कन्भर्जेन्ट रियलटाइम बिलिङ एन्ड कस्टुमर सपोर्ट बिलिङ प्रणाली जडान गर्ने सम्झौता भएको थियो । यो प्रणाली खरिद गर्नुको उद्देश्य नेपाल टेलिकमले प्रदान गरिरहेका जिएसएम मोबाइल, फाइबर, इन्टरनेट, लिज्ड लाइन, वायर लाइन, वायरलेस ब्रोडब्यान्डलगायतका दूरसञ्चार सेवाहरूको बिलिङ प्रणालीलाई एउटै प्लेटफर्ममा एकीकृत गर्ने, रियलटाइम बिलिङ गरी तुरुन्तै शुल्क गणना र अपडेट गर्ने उद्देश्य रहेको थियो ।

यसअघि विभिन्न प्लेटफर्मबाट विद्युतीय माध्यमबाट बिलिङ प्रणाली सञ्चालन भइरहेको थियो । यो सम्झौताको समय सकिएपछि २०७९ पुस २४ मा टेलिकम सञ्चालक समिति बैठकले एसिया इन्फो कम्पनीसँग चार वर्षका लागि मर्मत–सम्भार सम्झौता गर्ने निर्णय गर्‍यो । यसमा आवश्यक परे थप एक वर्ष लम्ब्याउन सकिने प्रस्ताव स्वीकृत गरिएको थियो । यसअनुसार २०८० पुसमा सवा ३ अर्ब रुपैयाँमा पाँच वर्षका लागि एसिया इन्फोलाई नै बिलिङ प्रणालीको ठेक्कामा निरन्तरता दिने निर्णय गरियो । खासमा टेलिकमले बिलिङ प्रणालीमा सुधार ल्याउन अति आवश्यक थियो ।

पुरानो बिलिङका कारण वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी चुहावट भएको विभिन्न अध्ययनले देखाएका थिए । बिलिङ प्रणालीका लागि नयाँ ठेक्कामा जानुपर्ने थियो । नयाँ ठेक्कामा जाँदा चुस्त प्रतिस्पर्धा गराएको भए टेलिकमलाई नै नाफा हुने थियो । तर, यहाँ मिलेमतो गरी पुरानो कम्पनीसँग नै बिनाप्रतिस्पर्धा सम्झौता गरी अनियमितताको खेल भएको अख्तियारको तर्क छ । जे होस्, यो प्रकरण अब न्यायालयमा पुगेको छ । यसमा के भएको हो, अब न्यायालयले नै निरुपण गर्नेछ । यस्तै, केही दिनअघि मात्र योगगुरु रामदेव संलग्न नेपालको पतञ्जली योगपीठले जग्गा खरिद–बिक्रीमा गरेको अनियमितताबारे अख्तियारले मुद्दा दायर गरेको थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालसमेत यो काण्डमा मुछिएका छन् । अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेका यी केही उदाहरण मात्र हुन्, मुलुकभित्र अनियमितताका धेरै काण्ड सार्वजनिक भइरहेका छन् । राजनीतिक दलका शीर्षस्थ नेताहरूमाथि नै भ्रष्टाचारको सबैभन्दा ठूला आरोप लागेका छन् । प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, समाजवादीका अध्यक्ष माधव नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, झलनाथ खनाललगायत शीर्ष नेताहरू कोही पनि आरोपबाट मुक्त छैनन् ।

यी सबै नेताले भ्रष्टाचार गरेका छन् वा छैनन्, त्यसै आरोप लगाइएको हो कि ? यो सबै कुनै बेला अनुसन्धान भए खुल्ला । अहिले कुनै न कुनै हिसाबबाट यी सबै नेता विवादित काण्डमा भने मुछिएका छन्, जोडिएका छन् । यसैले मुलुकभित्र सुशासन कायम हुन सकेको छैन । भ्रष्टाचार र अनियमितता छरपस्ट छन् । जुनसुकै दलको सरकार आए पनि नयाँ विवाद र काण्ड आउन कम भएका छैनन् । सुशासनबारे हेर्ने मुलुकभित्र र बाहिरका निकायहरूले सधैँ प्रश्न गरिरहेका छन् । तर पनि सरकारमा बस्नेहरूमा सिन्कोधरी सुधार आउन सकेको छैन । भ्रष्टाचार अन्तहीन बनेको छ ।

प्रतिक्रिया दिनुहोस्