बीएमडब्लू आईएक्स–टू बिक्री सुरु

काठमाडौं– बीएमडब्लू नेपालले आईएक्स–टू नेपालमा बिक्री सुरु गरेको छ । सोमबार नेपालका लागि बीएमडब्लूको आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटर्सले आईएक्स सिरिजअन्तर्गत तेस्रो मोडल आईएक्स–टूको मूल्य सार्वजनिक गर्दै बिक्री सुरु गरेको हो ।
कम्पनीले यो गाडीको मूल्य १ करोड ७९ लाख रुपैयाँ पर्ने जनाएको छ । सिंगल चार्जमा ४४९ किलोमिटर गुडाउन सकिने आईएक्स–टू लग्जरी इलेक्ट्रिक एसयूभी हो । कुप्पे डिजाइनमा उपलब्ध आईएक्स–टूमा ‘ईड्राइभ–२० सिस्टम’मा १५० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर सुविधा छ ।
आईएक्स–टूमा ६६.५ किलोवाट आवरको ब्याट्री प्याक, ११ किलोवाटको एसी चार्जर र १३० किलोवाटको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिने कम्पनीले बताएको छ । आईएक्स–टूको इन्टेरियरमा ड्युल कर्भ स्क्रिन लेआउट, हेडअप डिस्प्ले, १२ स्पिकरको हर्मन कार्डन म्युजिक सिस्टम, प्यानारोमिक ग्लासरुफ, हिटेड र मेमोरीसहितको पावर्ड फ्रन्ट सिट, वायरलेस चार्जर, अटोमेटिक एसी, रियर एसी भेन्टजस्ता विशेषता छन् ।
कम्पनीका अनुसार सुरक्षाका लागि आईएक्स–टुमा ७ वटा एयरब्याग, चार वटै चक्कामा डिस्क ब्रेक, इन्ट्रिग्रेटेड ब्रेकिङ सिस्टम, अटोहोल्ड, ड्राइभ अफ असिस्ट, डायनामिक ब्रेक कन्ट्रोल, मल्टी ड्राइभ फङ्सनलगायत सुविधा छन् । गाडीको लम्बाइ ४५५४ एमएम, चौडाइ १८४५ एमएम, उचाइ १५६० एमएम, ह्वीलबेस २६९२ एमएम छ । कम्पनीले यसमा १९ इन्चको डबल स्पोक अलोय ह्वील रहेको बताएको छ ।