शान्तिकोषलाई जापानबाट १२ लाख सहयोग

जटिल रोगले थलिएका, आर्थिक रूपमा विपन्न म्याग्देलीको उपचारमा सहयोग गर्न स्थापना हुन लागेको अक्षयकोषमा जापानबाट १२ लाख रुपैयाँ सहयोग जुटेको छ ।
म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोडको अक्षयकोषका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको पहलमा उक्त सहयोग जुटेको हो । गत बिहीबार नागोया र शनिबार टोकीयामा मोनाको आयोजनामा भएको कार्यक्रममा उक्त सहयोग जुटेको कोषका सचिव लोकेश पुनमगरले जानकारी दिए ।
कोषका अध्यक्ष राजेश शाक्यको उपस्थितिमा टोकियोमा भएको कार्यक्रममा नौ लाख ८६ हजार २६१ र नागोयाको कार्यक्रममा चार लाख ६० हजार रुपैयाँ सहयोग संकलन भएको हो । मोनाका एसिया संयोजक ददिवल खड्काले व्यक्तिगत रूपमा दुई लाख १० हजार येन, वरिष्ठ उपाध्यक्ष दिपक केसीले एक लाख ११ हजार १११ ऐन र मोना जापानका सल्लाहकार गणेश श्रेष्ठले ५२ हजार ऐन सहयोग गरेका छन् ।
हाइपो प्लास्टिक एनिमिया रोगबाट थलिएकी बेनपा–४ की ओमकुमारी पुन (शान्ति)को स्मृतिमा स्थापित कोषले जटिल रोगबाट बिरामी भएका म्याग्दीका गरिब तथा विपन्नको उपचारमा सहयोग गर्ने उद्देश्यले एक करोड पचास लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने अभियान सञ्चालन गरेको छ । वि.सं २०७१ मा स्थापना भएको कोषले हालसम्म ५४ जनालाई ८० लाखभन्दा बढी उपचारका लागि सहयोग गरेको छ भने अक्षयकोषमा ६० लाख रुपैयाँभन्दा बढी सहयोगको घोषणा भएको छ ।
अक्षयकोष स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले यसअघि कतार र बहराइनमा समेत कार्यक्रम गरिएको थियो । मृगौला, मुटु, क्यान्सर, रक्तक्यान्सरलगायत जटिल रोगबाट प्रभावित भएका बिरामीलाई कोषले उपचारका लागि सहयोग गर्दै आएको छ ।