Logo

‘मोही’को ब्रान्डिङ गरेर बजार खोजिँदै

धनकुटा– धनकुटा नगरपालिका–१ मा डेरी व्यवसाय गर्दै आएका राजु घिमिरेले परम्परागत मोहीलाई ब्रान्डिङ गर्दै स्थानीय बजारमा बजार खोजीमा लागेका छन् । २०७५ देखि यो पेसामा सक्रिय घिमिरेले २०८० बाट नैनी, पनिर र छुर्पीजस्ता वस्तुको बजार मागमा आएको कमीपछि डेरी व्यवसायमै टिकिरहन फरक तरिकाले व्यापार थालेका हुन् ।

अहिले परम्परागत मोहीलाई ब्रान्डिङ गरेर बजारमा बिक्री सुरु गरेको उनले बताए । ब्रान्डिङ मोही धनकुटाका विभिन्न बजारमा बिक्री भइरहेको उनको भनाइ छ । दुर्गा मोही ब्रान्ड नाममा उत्पादन भइरहेको मोही हाल धनकुटा क्षेत्रमा लोकप्रिय बन्दै गएको छ । डेरी उद्योगबाट उत्पादित नैनी, पनिर र छुर्पी बिक्री हुन समस्या भएपछि मोही उत्पादन सुरु गरेको घिमिरे बताउँछन् ।

अहिले भने व्यापार ठीक रहेको र बजारमा मोहीको माग धान्नै मुस्किल पर्ने गरेको उनले सुनाए । ‘व्यापार छाड्ने अवस्था आएपछि बाध्य भएर मोही उत्पादन सुरु गरेको हुँ । उत्पादन सुरु गर्दा बिक्ला/नबिक्ला भन्ने लाग्थ्यो तर अहिले माग धान्नै सकिएको छैन । दैनिक तीन सय लिटर बढी मोही उत्पादन गरी बिक्री गर्दै आएको छु ।’ विहे, भोजभतेर, धार्मिक अनुष्ठानका कार्यक्रम हुँदा मागअनुसार योभन्दा बढी मोही उत्पादन गर्ने गरेको उनले बताए ।

ब्रान्डिङ मोही धनकुटाका हिले, पाख्रिवास, सिधुवा लगायतका क्षेत्रमा पुग्ने गरेको छ । मोही जिल्लाबाहिरबाट घुम्न आउनेको समेत रोजाइमा परेको धनकुटाको बसपार्कमा होटल व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी सुजित प्रधानले बताए । उनले भने, ‘बाहिरबाट आएका पाहुनाले स्थानीय उत्पादन खोज्ने गरेकाले पेयपदार्थको रुपमा मोही दिने गरेका छौं । स्वादिष्ट र गर्मीका लागि उपयुक्त हुने भएकाले मोही ग्राहकको रोजाइमा परेको छ ।’

एक लिटरको बोटलमा मोही प्याकिङ गरी लेबलिङ गरिँदै आएको घिमिरेले जानकारी दिए । ‘मोहीको गुणस्तर चेक गरी प्याकिङ गरिएको करिब एक सातासम्म प्रयोग गर्न मिल्ने खाद्य गुणस्तर तथा नापतौल विभागले अनुमति दिएको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्