Logo

भैरहवा नाकाबाट ५० हजार पर्यटक भित्रिए

भैरहवा– भैरहवा नाकाबाट मे महिनासम्म ५० हजार ६ सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो नाका हुँदै सन् २०२४ को सोही अवधिमा ४४ हजार ७०० विदेशी पर्यटक भित्रिएका थिए । गत वर्षभन्दा यस वर्ष विदेशी पर्यटक आवागमन वृद्धि भएको र पाँच महिनामा पाँ हजार ८६९ बढी पर्यटक आएको अध्यागमन कार्यालय भैरहवाका सूचना अधिकारी एवं कार्यालयका निमित्त प्रमुख पुकार श्रेष्ठले बताए ।

चालु वर्षको पाँच महिनामा यो नाका हुँदै ४९ हजार ९०० पर्यटक बाहिरिएका छन् । यो नाकाबाट सन् २०१८ मा सर्वाधिक पर्यटक भित्रिएका थिए । सो वर्ष एक लाख ६६ हजार २३५ पर्यटक आएका थिए । जुन हालसम्मकै सर्वाधिक हो । त्यसपछि भने स्थलमार्ग हुँदै पर्यटक आवागमन निरन्तर ओरालो लागेको थियो ।

कोरोना महामारी सुरु भएको वर्ष २०१८ मा एक लाख ६१ हजार ६०० विदेशी पर्यटक यो नाका हुँदै आएका थिए । त्यस्तै, २०२० मा ४३ हजार ३६७, सन् २०२१ मा ८१२, सन् २०२२ मा २० हजार २२० र अघिल्लो वर्ष ८१ हजार ५५१ पर्यटक आएका थिए । कोरोना महामारीका कारण बिग्रिएको पर्यटक आगमन गत वर्षदेखि वृद्धि हुँदै गएको छ । यो नाका हुँदै भारतीय पर्यटकहरू पनि अत्यधिक आउने गरेका छन् ।

भारतीय पर्यटक आवागमनको अभिलेख अध्यागमन कार्यालयमा हुँदैन भने ट्राफिक कार्यालयमा पनि छैन । सन् २०२५ को पाँच महिनामा सर्वाधिक श्रीलंकाबाट १३ हजार सात सय पर्यटक आए भने थाईल्याण्डबाट ११ हजार ८००, म्यानमारबाट ९ हजार १४७, भियतनामबाट ३ हजार ६६१, दक्षिण कोरियाबाट एक हजार ९६९ लगायत १०० बढी देशका नागरिक यो नाका हुँदै नेपाल भित्रिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

यो नाका हुँदै चिनियाँ पर्यटकको आवागमन सन् २०२१ बाटै शून्य छ । सन् २०१८ मा पाँच हजार, सन् २०१९ मा ६ हजार १०० र २०२० मा ८१३ चिनियाँ पर्यटक बेलहिया नाका हुँदै नेपाल आएका थिए । यो नाका हुँदै आउने पर्यटकहरूको मुख्य गन्तव्य लुम्बिनी रहेको छ । त्यसपछिको रोजाइ पाल्पा, पोखरा, मुक्तिनाथ, काठमाडौं, सौराहा रहेको छ । लुम्बिनी आउने पर्यटकमध्ये केही कपिलवस्तु र रामग्रामसमेत पुग्ने गरेका छन् ।

यो नाका हुँदै नेपाल प्रवेश गर्नेहरूमध्ये अधिकांश बुद्ध धर्म मान्ने मुलुकका रहेका छन् । स्थलनाका हुँदै लुम्बिनी पुग्ने पर्यटकहरू मुस्किलले एक रात त्यहाँ बस्ने गरे पनि धेरै सोही दिन नै फर्कने गरेका छन् । यसले गर्दा जति बढी पर्यटक आए पनि लुम्बिनी भैरहवा क्षेत्रका पर्यटन व्यवसायीले फाइदा लिन नसकेको लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्