मोदी खोलामा आर्क ब्रिज निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदी खोलामा ‘आर्क ब्रिज’ बन्ने भएको छ । राजमार्गको पर्वत खण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण गर्न लागिएको हो । पर्वतको मोदी गाउँपालिका–२ पातीचौर र वडा–६ डिमुवा जोड्ने गरी पुल निर्माण हुन लागेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जानकारी दिएको छ ।
आयोजनाका इन्जिनियर कल्पना मिश्रका अनुसार आर्क ब्रिज निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पुल विभागबाट स्वीकृत भइसकेको छ । अहिले पुल निर्माण हुने स्थानमा रहेका विद्युतका उपकरण हटाउने काम भइरहेको इन्जिनियर मिश्रले जानकारी दिइन् । ६२ मिटर लामो पुलको चौडाई ११ मिटर हुने छ । डबल स्पानको यो पुल निर्माणका सात करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ ।
पुल निर्माणका लागि २०७९ भदौ २८ गते लुम्बिनी/प्राकृतिक जेभी काठमाडौंसँग सम्झौता भएपनि डिजाइन स्वीकृत हुन समय लागेकाले निर्माणमा समेत ढिला भएको हो । यो निर्माण कम्पनीसँग पर्वत र बागलुङका गरी एकैपटक पाँचवटा पुल निर्माणका लागि सम्झौता भएको थियो । हालम्म पर्वत खण्डको तमादी खोलामा मात्र पुल निर्माण सम्पन्न भएको छ । दोस्रो सुन्दरे खोलामा निर्माण कार्य जारी छ । तेस्रो मोदी खोलामा र पाती खोलामा बन्ने दुई वटा पुलको डिजाइन अन्तिम चरणमा पुगेको इन्जिनियर मिश्रले जानकारी दिइन् ।
पुलको निर्माण अवधि आगामी भदौ २८ गतेसम्म रहेको छ । अवधि सकिएपनि पुन: म्याद थपिने उनको भनाइ छ । अहिले मोदी खोलामा ३४ वर्ष अघि बनेको पुरानो र जीर्ण पुलबाट सवारीसाधन सञ्चालन भइरहेका छन् । पुरानो पुललाई विस्थापित नगरी सोही पुलभन्दा तलपट्टी आर्क ब्रिज बनाउन थालिएको हो । मोदी खोला जलविद्युत आयोजनाका पोल तथा तारलाई विस्थापन गरेर पुल निर्माण कार्य थालनी गरिने भएको छ ।
अत्याधिक संख्यामा र उच्च भारवहन क्षमताका समेत सवारीसाधन यो राजमार्गमा सञ्चालन हुने भएकाले आर्क प्रविधिको पुल निर्माण गर्न लागिएको हो । यो पुल अन्य मोटरेबल पुल भन्दा बलियो, टिकाउ उच्च भारवहन क्षमताका साथै कम मात्रामा मर्मत गरे हुने खालको रहेको इन्जिनियर मिश्रको भनाइ छ । यो सडक हुँदै बागलुङ, म्याग्दी, मुस्ताङसँगै रुकुमका लागि सवारीसाधन आउजाउ गर्छन् । अब पाती खोलामा हाल भइरहेको पुलको दुवैतर्फ ५२/५२ मिटर लामा दुई वटा पुल निर्माण हुनेछन् ।
उक्त पुलको डिजाइन स्वीकृतिमा ढिलाई भएका कारण निर्माणको अघि बढ्न नसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख शम्भु आचार्यले बताए । मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–कुश्मा सडकको दुई वर्ष पहिला नै दुई लेनको सडक स्तरोन्नति भइसकेको छ । सडक दुई लेनको बनेपनि पुरानो संरचनामा बनेका सिंगल लेनका पुलले सवारीको चाप धान्न गाह्रो भएकाले नयाँ पुल थप गर्ने योजना अनुरुप पुल निर्माणको कार्य भइरहेको कार्यालयले जनाएको छ ।