Logo

पर्यटकले खर्च गर्ने गन्तव्य बनाऊ

कोभिड महामारीपछि मुलुकमा भित्रिने पर्यटकको संख्यामा बिस्तारै सुधार आए पनि उनीहरूले गर्ने दैनिक खर्च र बसाइ अवधि बढ्न सकेको छैन । यसले राज्यको आय बढ्न सहयोग गरेको छैन । पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा पर्यटक संख्या बढेको तर उनीहरूले गर्ने खर्च र बसाइ अवधि घटेको देखिन्छ । सन् २०२० को तुलनामा २०२४ मा पर्यटकले दैनिक गर्ने खर्च औसतमा झन्डै ३७ प्रतिशतले घट्न पुगेको छ । आर्थिक सर्वेक्षण, २०८१–८२ का अनुसार सन् २०२० मा नेपाल आउने पर्यटकले प्रतिदिन औसतमा ६५ अमेरिकी डलर खर्च गर्थे ।

यसको पाँच वर्षपछि सन् २०२४ मा दैनिक औसतमा ४०.८ अमेरिकी डलर मात्र खर्च गरेको देखिएको छ । यही पाँच वर्षको अन्तरालमा पर्यटकको बसाइ अवधि खर्चजस्तै नघटे पनि समय बढ्न सकेको छैन । सन् २०२० मा औसतमा पर्यटक बसाइ अवधि १५.१ दिन थियो । सन् २०२४ मा आउँदा १३.३ दिनमा झरेको छ । सन् २०२० मा पर्यटक २ लाख ५० हजार आएका थिए । पछिल्लो वर्ष सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक नेपाल आएका थिए ।

नेपाल आउने पर्यटकको खर्च र बसाइ अवधिमा लामो समयदेखि सुधार नआए पनि सरकारले महत्त्वाकांक्षी लक्ष्य तोक्न छोडेको छैन । पर्यटक आगमनको लक्ष्य बढाएजस्तै उनीहरूले गर्ने खर्चको लक्ष्य पनि बढाएर राखिएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको सोह्रौँ योजना (२०८१/८२–८५/८६ मा वार्षिक पर्यटक आगमन संख्या २५ लाख पुर्‍याउने भनेको छ । यस्तै, पर्यटकको औसत बसाइ अवधि १५ दिन, प्रतिदिन औसत गर्ने खर्च ८५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको छ । यस्तै कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ७ प्रतिशत पुर्‍याउने लक्ष्य छ ।

संसारका धेरै मुलुकले पर्यटक संख्या बढाउने मात्र होइन, उनीहरूलाई धेरै दिन देशभित्रै राख्न विभिन्न आकर्षक गन्तव्य निर्माण गरिरहेका छन् । यसका लागि खर्बौं डलर लगानी गरेका छन् । पर्यटकीय गन्तव्य निर्माण गर्न प्रत्येक वर्ष लगानी गर्नु पर्दैन । एकपटक बनाएको पूर्वाधारले सदियौँसम्म आय दिइरहन्छ । पूर्वाधारहरूको बेला–बेलामा मर्मत–सम्भार मात्र गरे पुग्छ । उत्तरी छिमेकी चीनले ग्रेटवाल एकपटक बनाएको हो । भारतमा ताजमहल पनि एकपटकको लगानीमा बनेको हो । तर, यी पूर्वाधारहरूबाट सदियौँसम्म आय आर्जन भइरहेको छ ।

यी उदाहरण मात्र हुन्, युरोप, एसिया, अमेरिकालगायतका सबै मुलुकमा पर्यटकलाई आकर्षित गर्ने गरी गन्तव्यहरू बनाइएका छन् । पछिल्लो समयमा पर्यटकलाई आकर्षित गर्न दुबईले निर्माण गरेका पूर्वाधार विश्वलाई नै अचम्म पार्ने खालका छन् । तर हामी पर्यटकका लागि आकर्षण गर्ने यस्ता पूर्वाधारहरू बनाउन असफल छौँ । हाम्रा हिमालका काखमा विभिन्न किसिमका पूर्वाधार बनाउन सके पर्यटक राख्ने स्थान हुने थिएन । स्विट्जरल्यान्डमा अहिले करोडौँको संख्यामा पर्यटक पुग्ने गरेका छन् ।

तर, त्यहाँ बनाइएका पूर्वाधारलाई छोडेर हेर्ने हो भने प्राकृतिक रूपमा स्विट्जरल्यान्ड नेपालभन्दा कम आकर्षक छ । खासमा हामीले आफूलाई चिन्न सकेकै छैनौँ । हामीसँग के छ ? थाहा पाउन सकेका छैनौँ । अर्थात् थाहा भएर पनि प्रयोग गर्न सकेका छैनौँ । हिमाल, पहाड र तराई तीनै किसिमको भूभाग भएको हाम्रो जस्तो मुलुक संसारमा धेरै कम छन् । त्यसमा पनि उत्तरी क्षेत्र लगभग सबै हिमालले छोपिएको छ । विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथा हामीसँगै छ ।

दोस्रो अग्लो हिमाल पाएको जापानले त्यसबाट जति आम्दानी गर्न सकेको छ त्यसको तुलनामा सगरमाथाबाट हुने आम्दानी नगन्य छ । अर्कातिर हिमालसँगै साहसिक पदयात्राका लागि पनि हाम्रो भूगोल आकर्षक छ । हिमालको छेउहरूबाट पदयात्राका रुट विकास गर्न सके र ठाउँ–ठाउँमा स्तरीय होटलहरू बनाउन सके पदयात्रामा कति आउलान् ? अनुमान गर्न सकिँदैन । पशुपति, लुम्बिनीजस्ता धार्मिक तथा काठमाडौँ उपत्यकामा रहेका मठमन्दिर हेर्न पनि पर्यटक ल्याउन सकिएको छैन ।

पर्यटकलाई आकर्षण गर्ने यस्ता तमाम काम गर्न नसकेकै कारण यहाँ आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकिएको हो । त्यसै त नेपालमा आउने पर्यटक कम खर्च गर्ने खालका छन् । त्यसमा समय लम्ब्याउन नसकेपछि उनीहरूले गर्ने खर्च पनि धेरै नहुनु स्वाभाविक हो । आगामी दिनमा बसाइ अवधि र खर्च दुवै बढाउनुको विकल्प छैन । पर्यटन क्षेत्रमा अहिले नै धेरै लगानी भएको छ । पर्यटकको बसाइ अवधि बढाउन नयाँ गन्तव्य निर्माण गर्नुपर्ने र यसका लागि थप लगानी गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्