बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति

मुस्ताङ- उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । कोरला सडक आयोजनाले सुरुआतीदेखि हालसम्म ४३ वटा योजनाका लागि सात अर्ब ९० करोड ७० लाख बजेट ठेक्का सम्झौता गरिकामा छ अर्ब ६४ करोड १८ लाख भइसकेको जनाएको छ । आयोजना सुरुआतदेखि चालु आर्थिक वर्षको हालसम्म ४३ वटा योजना कार्यान्वयनमा ल्याइसकेको आयोजना प्रमुख धुव्र झाले जानकारी दिए ।
उनका अनुसार आयोजनाले पर्वतको मालढुंगा-कोरलानाकासम्म २० वटा सडक र २३ वटा पुलपुलेसा निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । कोरला खण्डअन्तर्गत सडक र पुलपुलेसा दुवैमा करिब ८५ प्रतिशत र ८१ प्रतिशत वित्तीय प्रगति भइसकेको आयोजना कार्यालयले जनाएको छ । सडकतर्फ जोमसोम-कोरला एक सय १० किमी ग्राभेलमध्ये छ वटा खण्ड निर्माण कम्पनीले आयोजनालाई हस्तान्तरण भइसकेको प्रमुख झाले उल्लेख गरे । उनका अनुसार चराङ-छोसेर २५ किमी निर्माणको अन्तिम चरणमा पुगेको छ ।
यसैगरी म्याग्दीको बेनी-गलेश्वरअन्तर्गत तीन किमी कालोपत्र र बेनी-जोमसोम तेस्रो खण्डअन्तर्गत कैकु-खन्ती खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरी करिडोर सडक आयोजनालाई हस्तान्तरण भइसकेको आयोजना प्रमुख झाले जानकारी दिए । बेनी-जोमसोम खण्डअन्तर्गत गलेश्वर-तातोपानी, तातोपानी-घाँसा र खन्ती-जोमसोम गरी तीन वटा सडक कालोपत्रसहित स्तरोन्नतिको अन्तिम चरणमा पुगेका आयोजना कार्यालयले जनाएको छ ।
आयोजनाले बेनी–जोमसोमको ७४ किमीअन्तर्गत तेस्रो खण्डको मुस्ताङको कैकुबाट खन्तीसम्म सडक निर्माण सम्पन्न आयोजनालाई हस्तान्तरण गरिएकामा आयोजनाले सडक डिभिजन कार्यालय बागलुङलाई हस्तान्तरण गरिसकेको आयोजना प्रमुख झाले जानकारी दिए । ”बेनी-जोमसोम सडकको ७४ किमीमध्ये २० किमी निर्माण सम्पन्न भएको छ । बाँकी निर्माणाधीन अवस्थामा छ”, उनले भने ।
कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत रहेका २३ वटा पुलपुलेसामध्ये मुस्ताङको कैकु खोला, लार्जुङ खोला, सेतो खोला, घमी खोला र मार्फा खोलामा तीव्र गतिमा पुल निर्माण भइरहेका छन् । हाल निर्माणाधीन अवस्थामा रहेका सबै पुल सम्पन्न हुने अन्तिम चरणमा पुगेका आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जानकारी दिए ।
चालु आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको ९० करोड बजेटमध्ये ३१ करोड अन्य योजनामा रकमान्तर भएको थियो । आयोजनासँग रहेको ५९ करोड सतप्रतिशत खर्च भइसकेको जनाउँदै उनले करिब ३० करोड निर्माण कम्पनीलाई भुक्तानी दिन बाँकी रहेको बताए । अर्थ मन्त्रालयले चालु आवका लागि १४ करोड बजेट थपेको उल्लेख गर्दै सूचना अधिकारी चापागाईंले आयोजनालाई चालु वर्षको खर्चमा बजेट थप भएर आए पनि अपुग भएकाले अर्थ मन्त्रालयसँग पुन: बजेट थपको माग गरिएको बताए ।
”यो वर्षको बजेट भौतिक प्रगति सकिएका योजनालाई भुक्तानी दिन सकिएको छैन, अर्थ मन्त्रालयले यथाशीघ्र बजेट थप गरी आवश्यक सम्बोधन गर्नमा विश्वस्त छौँ । बजेट आएन भने आगामी आवका लागि दायित्वमा रहने भएकाले अपेक्षाकृत काम हुन नसक्ने हुनसक्छ”, उनले भने । कोरला सडक आयोजनाअन्तर्गत पर्वतको मालढुंगा-बेनी १३ किमीमा कालोपत्रसहित भौतिक प्रगति ६० प्रतिशत, गलेश्वर-तातोपानी खण्डमा ९९ प्रतिशत र खन्ती-जोमसोम सडकमा भौतिक प्रगति ९० प्रतिशत भएको आयोजना कार्यालयले जनाएको छ ।
आयोजना प्रमुख झाका अनुसार चालु आवको अन्त्यसम्ममा मालढुंगा-कागबेनीको एक सय पाँच किमीमध्ये ८५ किमी सडक सम्पन्न हुन लागेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा मानिएको बेनी-जोमसोम-कोरला खण्डअन्तर्गत आगामी आर्थिक वर्षभित्र ८० किमी निर्माण सम्पन्न गरी सडक डिभिजन कार्यालय बागलुङलाई हस्तान्तरण गरिसक्ने योजना रहेको उनले जानकारी दिए ।