कोरोना भाइरस नियन्त्रणका लागि चीनलाई ग्रुप ७७ र राष्ट्रसंघको सहयोग

बेइजिङ-चीनमा देखा परिरहेको प्राणघातक संक्रमण कोरोना भाइरस नियन्त्रणका लागि चीनलाई विश्वका विभिन्न ७७ देशको समूह ग्रुप ७७ ले सहयोग गर्ने जनाएको छ ।
संयुक्त राष्ट्रसंघका लागि गुएनाका राजदूत रुडल्फ माइकल तेन्पोले सोमबार सो जानकारी दिए । उनले गु्रप–७७ का सदस्य राष्ट्रहरूले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने बताए ।
त्यसैगरी संयुक्त राष्ट्रसंघले पनि चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आवश्वासन दिएको छ । यसअघि संयुक्त राज्य अमेरिकाले पनि चीनलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको थियो ।
संयुक्त राष्ट्रसंघले चीनले हाल कोरोना भाइरसको संक्रमण रोक्नका लागि गरेका प्रयासहरूको सराहना पनि गरेको छ । हालसम्म चीनले गरेका प्रयासको सराहना गर्दै चीनले आगामी दिनमा गर्नुपर्ने कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने उसले जनाएको छ ।
चीनले यस भाइरसको संक्रमण रोक्न हालसम्म ४० हजार सामुदायिक कार्यकर्तालाई अग्रपंक्तिमा परिचालन गरिएको जनाएको छ ।
चीनका विभिन्न प्रदेशमा रहेका ६ लाख ५० हजार समुदायमा उनीहरू परिचालित भएको नागरिक मामिला अधिकारीहरूले सोमबार जानकारी दिएका थिए ।
नागरिक मामिला मन्त्रालयका अधिकृत चेन येलिङका अनुसार हरेक समुदायका लागि औसतमा ६ जना सामुदायिक कार्यकर्ता परिचालित भएका छन् ।
पत्रकार सम्मेलनमा उनले हरेक सामुदायिक कार्यकर्ताले औसतमा ३ सय ५० स्थानीय बासिन्दालाई हेर्ने गरेको पनि जानकारी दिए ।
आर्थिक तथा सामाजिक क्षेत्रका लागि संयुक्त राष्ट्रसंघका उपमहासचिव लिउ जेनमिनले यस संक्रमण नियन्त्रणका लागि चीनले गरेका कार्यहरूका बारेमा संयुक्त राष्ट्रसंघका विभिन्न एजेन्सी तथा महŒवपूर्ण मञ्चहरूमा छलफल जारी रहेको जानकारी दिए ।
ती सबै मञ्चहरूमा उपस्थित भएका जी–७७ तथा संयुक्त राष्ट्रसंघीय एजेन्सीका प्रतिनिधि तथा प्रमुखहरूले चीनको सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेका पनि उनले जानकारी दिए ।
उनले जी ७७ का सबै राष्ट्रले चीनलाई आवश्यक पर्ने सहयोगका लागि तत्परता नै देखाएको जानकारी उनले दिए ।
उनीहरूले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यमा लाग्नुपर्ने मुख्य कार्यहरूको पहिचान गरेर चीनमै पुगेर र आ–आफ्नो देशबाट आवश्यक प्राविधि तथा आर्थिक सहयोग दिने बताएको उनको भनाइ थियो ।
हाल चीनले यो संक्रमणका विरुद्धमा निकै कडा मेहनत गरेर काम गरिरहेको बताइएको छ । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएपछि चीनको मुख्य भूमिमै १ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
भाइरसको सुरुवात भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा आइतबारसम्म मात्र यस भाइरसबाट दुई हजार ६ सय १८ जना संक्रमित भएका अधिकारीहरूले जनाएका छन् । यो संक्रमण उक्त प्रान्तबाहिर एवं अन्य देशमा समेत देखा परिरहेका समाचारहरू प्राप्त भइरहेका छन् ।
यस संक्रमणबाट सोमबार एकै दिनमा १ सय जना व्यक्तिको मृत्यु भएको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।