Logo

भदौमा दसौं संस्करणको फर्निचर एक्स्पो

काठमाडौं– आगामी भदौ १९ देखि राजधानीको भृकुटीमण्डपमा १०औं संस्करणको ‘नेपाल फर्निचर एन्ड फर्निसिङ एक्स्पो’ (फर्नेक्स नेपाल २०२५) आयोजना हुने भएको छ ।

‘आत्मनिर्भरतामा एक कदम अगाडि’ नारासहित नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले भदौ १९ देखि २३ सम्म एक्स्पो आयोजना गर्न लागेको हो । राजधानीमा एक्स्पोको लन्चिङ कार्यक्रम आयोजना गरी आयोजकले एक्स्पोमा पहिलो पटक फर्निचर तथा फर्निसिङको खुला बजारसमेत सञ्चालन गर्न लागिएको जानकारी दिइयो ।

इभेन्ट लन्चिङकै दिनदेखि एक्स्पोको स्टल बुकिङ खुला गरिनेछ । हरेक संस्करणको एक्स्पोमा आकर्षण बढ्दा फर्नेक्स नेपाल राम्रो ब्रान्डका रुपमा स्थापित भएको संघका अध्यक्ष मनीष अग्रवालले बताए । नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ छ ।

एक्स्पो संयोजक सम्यकमान सिंहका अनुसार पहिलो पटक एक्स्पोस्थलमा फर्निचरजन्य उत्पादनको प्रत्यक्ष किनबेच गराउन फर्निचर तथा फर्निसिङको खुला बजार पनि सञ्चालन हुनेछ । २० वटा स्टलमा सञ्चालन हुने फर्निचर बजारमा आकर्षक छुट तथा अफरमा अवलोकनकर्ताले फर्निचर तथा फर्निसिङका सामान खरिद गर्न सक्नेछन् ।

किस्ताबन्दीका साथै धेरैभन्दा धेरै छुटका सम्बन्धमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरिने पनि उनले जानकारी दिए । एक सय बढी स्टलले सहभागिता जनाउने फर्निचर तथा फिर्निसिङ क्षेत्रमा आबद्ध उद्योगी, व्यवसायीलाई समेटेर आयोजना हुन लागेको एक्स्पो व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्