खप्तडमा होमस्टे सुरु गरिने

खप्तड प्रवेशद्वारको पूर्वीचौकी गाउँपालिका–२ बगलेगमा होमस्टे सञ्चालन गर्नका लागि स्थानीय, स्थानीय तह र होटल वयवसायी संघ लागिपरेका छन् । सर्वदलीय बैठक बसी १० वटा होमस्टे सञ्चालन गर्ने निर्णय गरेको छ । होमस्टे सञ्चालनका लागि गाउँपालिकाले ३ र वडा २ ले ३ लाख रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष योगेन्द्र ठकुल्लाले बताए ।
खप्तडमा पर्यटन विकासका गतिविधि बढाउनका लागि प्रवेशद्वार बग्लेकमा होमस्टे सञ्चालन गर्दा आन्तरिक तथा बाह्य पर्यटकलाई खप्तडको मनोरम दृश्य अवलोकन गर्न सहज हुने पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घ बोगटीले बताए ।
तत्कालै ठूलाठूला होटल सञ्चालन गर्न नसके पनि होमस्टेमार्फत पर्यटकलाई सुविधा दिनसक्ने होटल व्यवसायी संघ डोटीका अध्यक्ष दीपकबहादुर खड्काले बताए । “लाखौं पर्यटक भित्र्याउनु पर्नेमा राजनीति खिचातानीले गर्दा विकास हुनुभन्दा विनास भइरहेको छ । आएको अर्बाैं बजेट पार्टीका नेता तथा कार्यकर्ता पाल्नमै ठिक्क भएको छ । खप्तडमा बनेका भवनहरू करोडौं रकमभन्दा कमका छैनन् तर त्यसमा २५ प्रतिशत बजेट पनि सदुपयोग भएको छैन । दुरुपयोग मात्रै भएको छ ।” होटल ब्यवसायी संघका अध्यक्ष खड्काले भने, “जसरी खप्तडको विकासको लक्ष्य राखेको थियो त्यसरी १० प्रतिशत पनि काम नहुँदा अब सरकारी पक्षको आशा मारेर नै हामीहरूले नै होमस्टे बनाउने योजना बनाएका हौं ।”
“भौतिक पूर्वाधारको असुविधाका कारणले पनि पर्यटकलाई सास्ती हुने गरेको थियो,” कोषाध्यक्ष सिद्धराज जोशीले सिलगढीबाट कतिपय पर्यटक भू–स्वर्गमा जाँदा खान बस्नको सुविधा नभएकाले फर्किने भन्ने खबर सुन्दा दुःखित हुने गरेको बताए । पर्यटकलाई भित्र्याउने योजना बनाएको लामो समय भइसकेको थियो । यो पटक भने सुरु गरेका छौं, जोशीले भने, “अब नेपाली तथा विदेशी पर्यटकलाई असुविधा नहुने विश्वास छ ।”
खप्तड घुम्न जाने पर्यटकका लागि नजिकका गाउँमा स्तरीय होमस्टे सञ्चालन गर्न सकेमा केही हदसम्म सुविधा हुन सक्थ्यो भन्ने पर्यटकको सुझावलाई ध्यान दिँदै सुरु गरेको उद्योग वाणिज्य संघका सदस्य गणेश साउदले बताए । उनले भने, “खप्तडमा भएका करोडौंका भवनभित्र सुत्नलाई खटिया हुदैन । खानेपानी तथा चर्पीको व्यवस्था हुँदैन । यसरी खप्तडमा भएको भ्रष्टाचार मौलाउनाले पर्यटक पनि खप्तडबाट टाढिँदै आएका थिए । त्यसैले पर्यटकलाई भित्र्याउन निरन्तरता दिन हामीले सबै सरोकारवालासँग छलफल गर्दै आएका छौं ।” साउदले भने, “पर्यटकलाई भित्र्याउन उद्योग वाणिज्य संघ सधैं लागिपरेको र आगामी दिनमा पनि सक्दो सहयोग गर्नेमा प्रतिबद्ध छौं, ।”
–भूमिराज जोशी