पुल बन्ने भएपछि स्थानीय खुसी «

पुल बन्ने भएपछि स्थानीय खुसी

अर्घाखाँची-जिल्लाको सीतगंगा नगरपालिका–१४ पावरा र विक्रमसोता जोडने खोलामा पुल बन्ने भएपछि स्थानीयमा खुसी छाएको छ । वर्षौंदेखि पुल बनाइदिन्छौं भोट दिनुस् भन्ने चुनावी नारा लगाउँदै आएका जनप्रतिनिधिले अहिले पुल बनाउन लागेका छन् ।
विद्यालय खुल्ने समयमा खोला उर्लेर आएसँगै पुल बिना खोला तर्न सकिँदैन । विद्यालय पुग्न जम्मा १०-१५ मिनेटको बाटो । खोलामा पुल नहुँदा घण्टौंभन्दा बढी समय विद्यार्थीलाई लाग्दथ्यो । विद्यार्थीलाई मात्र होइन स्थानीयलाई पनि पावरा र विक्रमसोता आवातजावात गर्न निकै समस्या छ ।
दैनिक कक्षाकोठामा हाजिर भएर पढ्न त हिउँद नै पर्खनुपर्ने बाध्यता रहेको यहाँका विद्यार्थीहरू पुल बनेपछि राम्रोसँग विद्यालय जान पाउनेमा ढुक्क छन् । प्राथमिक तहको स्कुल नजिकै भए पनि माध्यमिक तहको अध्ययन गर्न सोही वाणगंगा खोला तरेर जानुपर्छ । बर्खामा खोला नबढ्दासम्म विद्यालय नियमित गए पनि खोला बाढेर ठूलो भए पछि विद्यालय जान निकै गाह्रो हुने पावरा मावि सिमलपानी पावरामा अध्ययन गर्ने चाहना परियारले बताइन् । विद्यालय जान पुल नभएकाले वर्षाको बेला आपतै पर्छ । उनले भनिन्, “खोला ठूलो छ, पानी परिरहँदा धमीलो पानीमा कति पानी हुन्छ थाहा पाउँन सकिँदैन, तर पुल बनेमा यहाँका विद्यार्थीको पढाइ नियमित हुने थियो ।”
स्थानीय अम्मर परियार भन्छन्, यहाँ एउटा झोलुंगे पुल पनि थिएन, अब पक्की पुल बन्ने भएसँगै यातायाताका साधन आवतजावतमा पनि सहज हुनेछ । स्थानीय देवेन्द्र सिंजापती भन्छन्, “चुनाव धेरै आए गए, यहाँ आमसभा हुँदा धेरैले पुल बनाइदिन्छौं भोट दिनुस् भने, तर यहाँ पुल बनाउँन कसैको ध्यान गएको थिएन, जनताको समस्या जहाँको तही छ, अब बन्छ कि भन्ने आशामा छौं ।” पावरामा ९१ र विक्रमसोतामा १३६ घरधुरीको बसोबास छ । पावरा र विक्रमसोताको वाणगंगा खोलामा पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहज हुनेछ, स्थानीय, प्रदेश र संघको सहकार्यमा अगाडि बढछौँ, यहाँको पुल निर्माण सम्पन्न गर्नका लागि सीतगंगा नगरपालिका सहकार्य गरेर अगाडि बढने नगरप्रमुख सूर्यप्रसाद अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्