एनसेल फाउन्डेसन–काठमाडौं महानगर सीप मेला साझेदारी

काठमाडौं- काठमाडौं महानगर र मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको ‘एनसेल फाउन्डेसन’बीच सीप मेला २०८२ सञ्चालनका लागि सम्झौता भएको छ । टुँडिखेलमा महानगर र एनसेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सीप विकासअन्तर्गत महानगरले आयोजना गरेको सबैभन्दा ठूलो सीप विकास कार्यक्रम हो । यसअन्तर्गत व्यावहारिक र रोजगारीमुखी सीपमा तालिम दिइने लक्ष्य लिइएको छ, जसले सहभागीको रोजगारी निश्चित गरेर जीविकोपार्जनमा सहयोग पुर्याउने विश्वास दुवै पक्षले लिएका छन् ।
सम्झौतामा महानगरबाट सीप मेला २०८२ कार्यान्वयन समिति संयोजक शैलेन्द्र झा, गतिशील अभियान नेपालका अध्यक्ष रामजीप्रसाद पौडेल तथा एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्का र कर्पोरेट एन्ड रेगुलेटरी अफेयर्स डाइरेक्टर डिल्लीराम श्रेष्ठले हस्ताक्षर गरे ।
‘एनसेल फाउन्डेसनमा हामी सीप अभिवृद्धि गरी रोजगारी सम्भावना बढाउने र दिगो जीविकोपार्जनको आधार निर्माण गर्ने प्रमुख उपाय हो भन्ने विश्वास गर्छौं । सीप मेलामा काठमाडौं महानगरसँगको सहकार्यबाट युवालाई सीप उपलब्ध गराएर परिवर्तनशील रोजगारी बजारमा सफल हुन सघाउने विश्वास लिएका छौं’, एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर विशाखालक्ष्मी खड्काले भनिन् ।
जेठ ७ देखि सुरु भएको सीप मेलामा हाल १० क्षेत्रमा आधारित ३७ पेसामा २४ सय २४ जनालाई सीप तालिम दिइसकिएको छ । आइसिटी क्षेत्रमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स, डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अप्टिक्स टेक्निसियन, कृत्रिम बौद्धिकता (एआई)लगायत गरी १२ पेसा छन् ।