भक्काको फस्टाउँदो ब्यापार «

भक्काको फस्टाउँदो ब्यापार

इलाम नगरपालिका–७ की कविता तामाङको दैनिकी आजकल भक्का बनाएर बेच्नमै बित्छ । बिहान सबेरैदेखि करिब ११ बजेसम्म आफू बसे ठाउँमा नै आएर स्थानीयले कविताले बनाएको भक्का खरिद गरेर खान्छन् । त्यसपछि दुई बजेदेखि बेलुका करिब ७ बजेसम्म पनि कविताले बनाएको भक्का खान सडकमा हिँडडुल गर्ने र इलाम बजार आसपासमा बसोबास गर्नेहरूको समेत भीड लाग्ने गरेको छ । जाडोको समयमा खाइने भक्का दिउँसो भने कम बिक्ने भएकाले बिहान बेलुका मात्र राख्ने गरेको उनले बताइन् ।
स्वादिलो भक्का काँचो चामल पिसेर पिठोबाट निर्माण गरिन्छ । पिरो र अमिलो अचारसँगै गुलियो स्वादमा पनि यसलाई खान सकिन्छ । भक्का मन पराउनेका लागि इलाम बजारमा कवितामात्र हैन लिली तामाङले भक्का बनाउने ठाउँमा पनि उत्तिकै भीड लाग्ने गर्दछ । प्रतिगोटा २० रुपयाँ पर्ने भक्का स्वास्थ्यका दृष्टिले पनि राम्रो मानिन्छ । चामलको पिठो पानीमा मात्र पकाइने भएकाले पनि यसलाई स्वास्थ्यका हिसाबले राम्रा मानिने गरिन्छ ।
झापालगायत पूर्वका आदिवासीको मौलिक परिकार रूपमा परिचित ‘भक्का’ को स्वाद सर्वसाधारणले रुचाएपछि यसको व्यापार फस्टाएको छ । राजवंशी समुदायले घरघरमा खाजाको रूपमा चामलको पिठोबाट बनाउने भक्का पछिल्लो समय तराईका जिल्ला हुँदै इलाम, पाँचथरलगायतका पहाडी जिल्लामा समेत बनाइने गरिन्छ । सडकका किनारामा बनाइने भक्काका लागि छुट्टै भाडा तिर्नु नपार्दा ब्यापारीको रकमसमेत बच्ने गरेको छ । बिहान बेलुका खाजाका रूपमा खाइने भक्काको ब्यापारबाट घरखर्च तथा नानी पढाउन समेत पुग्ने गरेको कविता तामाङको भनाइ छ ।
जाडो मौसममा मात्र बनाइने भक्काको मौसमी ब्यापार हुने गरेको छ । पहाडी जिल्लाका गाउँमा ऐले पनि भक्का बनाउने र खाने चलन छैन । तर सहर बजारका गल्ली तथा चोकमा भक्काको व्यापार फस्टाउने गरेको छ । जाडो मौसममा चोक तथा गल्लीमा बसेर भक्का बनाउँदा शरीरलाई न्यानोसमेत हुने र केही रकम पनि बच्ने भएपछि महिलाहरू भक्का बेचेर नै गुजारा चलाउने गरेका छन् । जिल्लाको इलाम बजारसहित, सूर्योदय नगरपालिकाको फिक्कल लगायतका बजारमा भक्काको ब्यापार हुन थालेको छ । भक्का बालबालिका, युवायुवती र वृद्धवृद्धा सबैले रुचाएर खाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्