जेठ २० सम्म सात लाख युवा बिदेसिए

काठमाडौं– चालु आर्थिक वर्षको जेठ २० सम्म वैदेशिक रोजगारीमा ७ लाख २९ हजार ६५१ श्रमिकले श्रम स्वीकृति लिएका छन् । चालु आवको सो अवधिसम्मको तथ्यांकका आधारमा दैनिक औसत दुई हजार २८१ युवाले रोजगार खोज्दै विदेश जान श्रम स्वीकृति लिएका देखिएको हो ।
यसैलाई आधार मान्ने हो पनि पनि चालु आवमा विदेश जानेको संख्या ८ लाख नाघ्ने देखिन्छ । वैदेशिक रोजगार विभागका निर्देशक टिकाराम ढकालले जेठ २० सम्म नयाँ श्रम स्वीकृति लिने युवाको संख्या एक लाख १६ हजार ८१७, मेनपावर पावर कम्पनीमार्फत ३ लाख ११ हजार ४८८, पुन: श्रम स्वीकृति ३ लाख ३१७ र जीटूजीमार्फत एक हजार २९ युवालाई श्रम स्वीकृति प्रदान गरिएको जानकारी दिए ।
गत आवको साउनदेखि जेठसम्म वैदेशिक रोजगारीमा जान ६ लाख ९८ हजार ४३१ युवाले श्रम स्वीकृति लिएका थिए । गत वर्ष मासिक औसत ६३ हजार ४९३ र दैनिक औसत दुई हजार ११६ युवाले श्रम स्वीकृति लिएको देखिन्छ । कोभिड संक्रमणका बेला दुई वर्ष नेपालको आन्तरिक रोजगारीमा संकुचन आए पनि विगत तीन वर्षयता वैदेशिक रोजगारीमा जानेको संख्याले रेकर्ड नै कायमा गर्दै आएको छ ।
चालु वर्षको मंसिरमा सबैभन्दा बढी युवाले रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिएको पाइएको छ । गत वर्षको वैशाखको तुलनामा यो वर्षको सोही अवधिमा ५५ हजार बढी युवाले श्रम स्वीकृति लिएको देखिन्छ । गत आवको सोही अवधिको तुलनामा श्रम स्वीकृति संख्या बढेका कारण चालु आवमा पनि विदेश जानेको संख्या उच्च हुने संकेत देखिएको छ । यद्यपि चालु आर्थिक वर्षको साउन, भदौ र असोजसम्म निराशाजनक रहेको थियो ।
चालु वर्षको साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३ र असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९५०, मंसिरमा ८१ हजार १०, पुसमा ६७ हजार २५७, माघमा ७१ हजार ४४१, फागुनमा ६८ हजार ९६३, चैतमा ७३ हजार, वैशाखमा ७८ हजार ५१ र जेठमा ७२ हजार ८६१ युवाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
मलेसिया जाने नेपाली श्रमिकको संख्या घटेसँगै यो वर्षको सुरुमा वैदेशिक रोजगारीमा जानेको संख्यामा धक्का लागेको थियो । आव २०७८/७९ बाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आवको सुरुको महिनाबाट घट्न थालेको भए पनि मंसिरको तथ्यांकले वैदेशिक रोजगारीको अवस्थामा सुधार आउने देखिएको छ ।
कोरोना कालको लकडाउन यता आन्तरिक रोजगारीमा संकुचन आए पनि विगत तीन वर्षयता वैदेशिक रोजगारमा जानेको संख्याले रेकर्ड नै कायम गर्दै आएको छ । गत आर्थिक वर्षमा ७ लाख ४१ हजार युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । आव २०७८/७९ मा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ६ लाख ३० हजार ९० थियो ।
वैदेशिक रोजगारीको इतिहासमा चालु आर्थिक वर्षको मंसिरमा सबैभन्दा बढी ८३ हजार श्रमिकले वैदेशिक रोजगारीमा जान सरकारबाट श्रम स्वीकृति लिएका छन् । यो संख्या वैदेशिक रोजगारको तथ्यांक राख्न सुरु गरेयता २९ वर्षकै उच्च रहेको छ । वैदेशिक रोजगार विभाग ताहचल कार्यलयले यो वर्षको साउन, भदौ, असोज र कात्तिकको तुलनामा मंसिरबाट विदेश जान श्रम स्वीकृति लिनेको संख्या बढेको जनाएको छ ।