Logo

विकासशील मुलुक बन्दाको प्रभाव

विगतमा हाम्रो भन्दा पनि आर्थिक हैसियत कमजोर भएका मुलुकहरू अहिले सम्पन्नताको शिखरमा छन् । छिमेकी मुलुक भारत र चीनको आर्थिक हैसियत विगतमा हाम्रो जस्तै थियो । केही दशकको अन्तरालमा यी दुवै मुलुकको हैसियत धेरै माथि पुगेको छ । चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बनेको छ भने भारत चीनको पछि–पछि छ । हामी भने कछुवा गतिमा हिँडिरहेका छौँ । चालु आर्थिक वर्षमा हाम्रो अर्थतन्त्रको आकार बल्ल ६७ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

चीन र भारतका लागि यो एउटा मझौला आकारको परियोजनाको बजेट हो । अर्थतन्त्रको आकार खासै बढ्न नसके पनि हाम्रो हैसियत भने बढ्दै गएको छ । मुलुक अब विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैन । विकासशील मुलुकका लागि निर्धारण गरिएका तीनवटै मापदण्डलाई यो वर्ष नेपालले पार गरेको छ । पछिल्लो पटक प्रतिव्यक्ति कुल राष्ट्रिय आय सूचकांकको मापदण्ड पूरा भएको हो । विकासशील मुलुकमा स्तरोन्नति हुनका लागि संयुक्त राष्ट्रसंघले प्रतिव्यक्ति आयको सीमा १ हजार ३ सय ६ अमेरिकी डलर निर्धारण गरेको छ ।

यो वर्ष नेपालको प्रतिव्यक्ति आय १ हजार ४ सय ४ अमेरिकी डलर पुगेको छ । यसअघि निर्धारण गरिएका दुई सूचकांक मानव सम्पत्ति र आर्थिक तथा वातावरणीय जोखिमको मापदण्ड नेपालले पूरा गरेको थियो । यी दुवैमा तोकिएको सीमाभन्दा राम्रो अवस्था हाम्रो छ । राष्ट्र संघले मानव सम्पत्ति सूचकांकमा ६६ अंक निर्धारण गरेको छ । हाम्रो अंक ७७.५८ छ । यस्तै आर्थिक तथा वातावरणीय जोखिम सूचकांकमा ३२ भन्दा न्यून अंक प्राप्त गरेको हुनुपर्छ ।

नेपालको अंक २८.९६ छ । स्तरोन्नतिका लागि निर्धारित तीनवटै मापदण्डमा योग्य भएकाले सन् २०२६ देखि हामी विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै छौँ । आर्थिक एवं मानव विकासका मामलामा देश माथि जानु पक्कै पनि राम्रो पक्ष हो । दक्षिणको छिमेकी भारत आर्थिक रूपमा हामीभन्दा निकै बढी छ । अर्थतन्त्रको आकार झन्डै ४ ट्रिलियन अमेरिकी डलर पुग्न थालेको छ । तर, मानव विकासका कतिपय पक्षमा हामीभन्दा निकै कम उपलब्धि हासिल गरेको छ ।

भनिन्छ, चीनमा पनि गरिबी छ । तर, त्यो गरिबी उसले देखाउँदैन । स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, आवास, खाद्य सुरक्षाजस्ता विभिन्न पक्षमा हामी भारतभन्दा माथि पुगेका छौँ । तर, आर्थिक विकासमा निकै पछि छौँ । यो क्षेत्रमा संसारमा हामीभन्दा तल स्थान भएका मुलुक धेरै छन् । मुलुक विकासशीलमा स्तरोन्नति हुनु मुलुकका लागि फाइदा र बेफाइदा दुवै छन् । अविकसित र गरिब मुलुकको बासिन्दा भनेर चिनाउनुभन्दा विकासशील मुलुकको नागरिक भन्नु निश्चय नै फरक हुन्छ ।

अर्कातिर मुलुक विकासशीलमा स्तरोन्नति भएपछि संसारका कतिपय मुलुक र दातृ निकाय एवं संस्थाहरूले अहिले दिएका सुविधाहरू खोसिनेछन् । नेपालले प्राप्त गर्ने वैदेशिक ऋण र अनुदानमा पनि यसले प्रभाव पार्नेछ । अनुदान थप घट्ने र ऋणको ब्याजदर बढ्ने सम्भावना हुनेछ । अर्कातिर वैदेशिक व्यापारमा अहिले दिएका अधिकांश सुविधा कटौती हुनेछन् । अहिले अविकसित मुलुकको हैसियतमा नेपाली वस्तुहरूलाई अमेरिका, जापानलगायत अधिकांश मुलुकले विभिन्न किसिमका सुविधा दिँदै आएका छन् ।

कतिपय मुलुकले निर्यातमा भन्सार लिने गरेका छैनन् । कतिपय मुलुकले निश्चित वस्तुहरूमा भन्साररहित सुविधा प्रदान गरेका छन् । केही मुलुकले निर्यात हुने वस्तुको कोटा तोकेर त्यसमा भन्सारलगायतका अन्य सुविधा दिएका छन् । यी सबै सुविधा गरिब मुलुकका नाममा दिइएको हो । मुलुक विकासशीलका रूपमा परिणत भएपछि गरिब मुलुकका नाममा दिइएका सबै सुविधा खारेज हुनेछन् ।

यो वर्ष हाम्रो निर्यातले इतिहास रचेको छ । अहिलेसम्म २ खर्ब हाराहारी मात्र निर्यात गरेकोमा यो वर्ष साढे २ खर्बमाथि पुग्ने अनुमान छ । तर, अर्को वर्ष हामी विकासशील राष्ट्रमा स्तरोन्नति भए पनि निर्यात व्यापार के हुने भन्नेमा प्रश्नचिह्न छ । नेपालको सबैभन्दा धेरै व्यापार हुने भारतसँग हाम्रो छुट्टै सम्झौता भएकाले मुलुक विकासशील बने पनि उसले दिँदै आएको सुविधा खारेज नहुनेमा आशावादी हुन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्