अब पाँच सय भारुको प्रतिबन्ध हटाऔं

काठमाडौं– नेपाल आउने पर्यटकले गर्ने खर्च बढ्न नसकेका बेला सरकारले स्थल (सडक) मार्गबाट आउने पर्यटकलाई पनि ५ हजार अमेरिकी डलरसम्म ल्याउन सक्ने सुविधा दिएको छ ।
पछिल्ला केही वर्षदेखि नेपाल आउने एकजना पर्यटकले प्रतिदिन औषतमा ४५ अमेरिकी डलर खर्च गरेको देखिएको छ । यो ज्यादै न्यून रकम हो । यो स्थलमार्गबाट नेपाल आउने भारतीय पर्यटकलाई लक्षित गरेर ल्याएको कार्यक्रम हो । अहिलेसम्म हवाईमार्गबाट आउने पर्यटकका लागि ५ हजार अमेरिकी डलर लिएर आउने सुविधा उपलब्ध छ । स्थलमार्गबाट भने २५ हजारमात्र लिएर आउन पाइन्छ । यही सरकारी नीतिका कारण खर्च गर्ने पर्यटक नआएको आरोप लागेका बेला आगामी बजेटमा नयाँ व्यवस्था गरिएको हो ।
बजेटमा भनिएको छ, ‘हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन पाउने र सो भन्दा बढी भन्सार विन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्थालाई सहजीकरण गरिनेछ ।’
पर्यटन सम्बद्ध व्यवसायीहरुले बजेटमा आएको ५ हजार डलरको नीति राम्रो भएको बताएका छन् । उनीहरुले अब एक सय दरका भारतीय रुपैयाँभन्दा माथिका नोट ल्याउन नपाइने प्रचलनलाई परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । अहिले सरकारले नेपालमा एक सय दरको मात्र भारतीय नोट चल्ने अनुमति दिएको छ । यो व्यवस्थाले भारतीय पर्यटकलाई थोरै परिमाणको रकम ल्याउन पनि धेरै संख्यामा नोट बोक्नुपर्ने झन्झट छ । त्यसैले ठूला दरका नोट पनि सञ्चालनमा ल्याउनुपर्ने माग पर्यटन व्यवसायीहरुको छ ।
सीमा नाकामा भारतीय पर्यटकहरु विवाह गन्तव्य र क्यासिनो तथा घुमफिरमा आउने गरेका छन् । तर, साना नोट बोक्नुपर्ने नीतिगत उल्झनका कारण भने सहज नभएको होटल संघ नेपाल सिद्धार्थ होटल च्याप्टरका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी)ले बताए । उनले भने, ‘सरकारले बजेटमार्फत स्थलमार्गबाट आउने पर्यटकको लागि पनि हवाईमार्गबाट आउने पर्यटकसरह समान डलर सुविधा दिएको छ । यो सकारात्मक छ । तर, भारतीय पर्यटकको हकमा सय भारुको नोटमात्र नेपालमा प्रचलनमा रहेकाले धरै नोट बोक्नुपर्ने भन्झट छ ।’ यसले गर्दा सरकारले ल्याएको नीतिले सहजीकरण गर्ने भए पनि भारतीय पर्यटकले गर्ने खर्चमा भने सुधार नआउने उनको भनाइ छ । ‘गोजीमा भएको नोटबाट खर्च गर्न जति सहज हुन्छ, डिजिटल माध्यमबाट खर्च गर्न हुँदैन । यसले गर्दा ठूला भारतीय नोट नै प्रचलनमा ल्याउनुपर्छ । पछिल्लो समय डिजिटलको प्रचलन बढेको भए पनि पर्यटकको लागि त्यो सहज छैन,’ श्रेष्ठले भने ।
यसअघि स्थलमार्ग हुँदै आउने भारतीय पर्यटकले २५ हजार भारतीय रुपैयाँमात्र ल्याउन पाउने व्यवस्था थियो । नेपालमा भारतीय ठूला नोटको बन्देज हटाएर भारतमा प्रचलनमा रहेको नोट सरह चल्न दिएको खण्डमा मात्र सरकारले लिएको आर्थिक विकासको लक्ष्यमा टेवा पुग्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । उनले भने, ‘भारतीय पर्यटकको लागि ठूला नोट (पाँच सय) नेपालमा प्रचलनमा ल्याउनुपर्छ । तबमात्र भारतीय पर्यटकले धेरै खर्च गर्ने र विवाह गन्तव्यको रुपमा नेपाल विकास हुनेछ ।’
पछिल्लो समय अनुकूल मौसमका कारण विवाह गन्तव्यको लागि भारतीय नागरिकको रोजाइमा नेपाल परेको छ । साथै मेला, सभा–सम्मेलन तथा माइस टुरिजमको रुपमा भारतीय पर्यटकको रोजाइमा नेपाल पर्छ । भारतमा डेस्टिनेसन वेडिङको अभ्यास बढिरहेका कारण सरकारले डलर सुविधा दिएसँगै नेपालमा आएर विवाह तथा अन्य शुभकार्य गर्नको लागि सहज हुनेछ । यसका लागि ठूलो दरका भारतीय नोटको बन्देज हटाउनुपर्ने सरोकारवाला व्यवसायी बताउँछन् ।