Logo

सहकारीमार्फत उद्यमशिलताः गोष्ठी र भाषणमै सिमित

सहकारीमार्फत उद्यमशिलता प्रवद्र्धनको विषय होटल तथा पार्टी प्यालेसभित्रका कार्यक्रमको भाषण तथा गोष्ठीमै सिमित हुन थालेको छ । सहकारीलाई उत्पादन र व्यवसायीकरणमा परिचालन गर्न नसकेका संघहरु उद्यमशिलता प्रवद्र्धन गर्ने भन्दै गोष्ठी तथा छलफलमा केन्द्रीत हुन थालेका हुन् ।
सहकारीहरुको छाता निकाय राष्ट्रिय सहकारी महासंघले सहकारीमार्फत उद्यमशिलता प्रवद्र्धन गर्ने भन्दै मंगलबार र बुधबार राजधानीमा राष्ट्रिय गोष्ठी आयोजना गरिरहेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट आर्थिक सहयोग लिएर आयोजना गरिएको यो गोष्ठीमा विभिन्न जिल्लाका दुई सय जनाको सहभागिता छ ।
महासंघले उद्यमशिलता प्रवद्र्धनका लागि भन्दै गरेको यो पहिलो गोष्ठी भने होइन । तीन वर्षयता यहि कार्यक्रम महासंघले नै निरन्तर रुपमा गर्दै आइरहेको छ । तर, यसको उपलब्धीका विषयमा भने महासंघ वा सहयोगी निकाय मन्त्रालयले समेत अनभिज्ञ छ । विगतका कार्यक्रमको समिक्षा समेत नगरी एकै प्रकृतिको कार्यक्रम निरन्तर अघि बढाइरहेको छ ।
महासंघले २०७४ सालमा पुस २१ र २२ गते तथा २०७५ सालमा पुस २६ र २७ गते उद्यमशिलता प्रवद्र्धन राष्ट्रिय गोष्ठी गरेको थियो । दुवै गोष्ठीमा उद्यमशिलता विषयका कार्यपत्र प्रस्तुती तथा छलफल गर्ने र अन्तिममा काठमाडौं घोषणापत्र समेत जारी गरियो । यसबाहेक सहकारीलाई उत्पादनमुलक काममा आकर्षित र प्रोत्साहन गर्न कुनै ठोस कार्यक्रम आउन नसकेको गोष्ठीमा तीन वर्षदेखि निरन्तर सहभागी भएरहेका एक सहभागीले टिप्पणी गरे ।
“वर्षेपिच्छे एउटै मोडेलमा एउटै कार्यक्रम गर्नु कर्मकाण्डी पारा हो” एक सहभागीले भने, “काठमाडौंका होटल र पार्टी प्यालेसमा छलफल गरेर मात्र उद्यमशिलता प्रवद्र्धन हुँदैन ।” सहकारीमार्फत उद्यम गर्न र त्यसको बजारीकरणका लागि धेरै समस्या रहेको र त्यसलाई समाधान नगरेसम्म यो विषय भाषणमा मात्र सिमिति हुने उनले दावी गरे ।
उद्यमशिलता प्रवद्र्धन गोष्ठीमा नाममा प्रत्येक वर्ष लाखौं रकम खर्च भएपनि यसको उपलब्धी शुन्य रहेको सहभागीहरु नै आलोचना गर्छन् । यस पटक आयोजित कार्यक्रममा अघिल्ला वर्षहरुमा भन्दा केहि फरक सहकारी मार्फत उत्पादित उपजको प्रदर्शनी राखिए पनि पाच वटा संस्थाका केहि सिमित उत्पादन मात्र राखिएको थियो ।
सरकारी तथ्यांक अनुसार नेपालमा ३५ हजार भन्दा सहकारी संघसंस्था स्थापना भएपनि अधिकांश बचत तथा ऋण कारोबारमा मात्र केन्द्रीत छन् ।
सहकारीमार्फत उत्पादन बढाउन सरकारले सहकारीले गर्ने उत्पादन तथा प्रसोधनका काममा अनुदान दिएपनि त्यसको प्रभाव खासै देखिएको छैन । केही सहकारी संस्थाले सुरु गरेको स–सानो लगानीका उद्योग तथा व्यावसायिक कृषि फार्मका उत्पादन आफ्ना सदस्य र स्थानीस्तरमा मात्र सिमित रहेको छ । केहि जिल्लामा जिल्लास्तरिय संघले उत्पादन तथा बजारीकरणमा काम गरेपनि जिल्लास्तरमा मात्र सिमित रहेको छ । राष्ट्रियस्तरमा प्रभाव देखिने वा अन्तर्राष्ट्रिय निर्यात गर्नेगरी सहकारीहरुले उत्पादन तथा बजारीकरणको काम गर्न सकेका छैनन् ।
विषयगत सहकारीका केन्द्रीय संघहरु स्थापना भएपछि यिनीहरु व्यवसायी काममा सक्रिय नहुँदा सहकारीमार्फत मार्केटिङ तथा बजारीकरणको च्यानल विकास हुन सकेको छैन ।
सहकारीको च्यानलमा ६५ लाख सर्वसाधारणहरु आवद्ध छन् । तर सहकारीको यो नेटवर्क व्यवस्थित हुन नसक्दा राष्ट्रिय अर्थतन्त्रमा सहकारीको भूमिका प्रभावकारी देखिन सकेको छैन । सरकारले सहकारीलाई अर्थतन्त्रको एक खम्बाको रुपमा स्वीकार गरेपछि कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान ५ प्रतिशत भन्दा कम रहेको अनुमान छ ।
मंगलबार आयोजित कार्यक्रममा पनि सहकारी मन्त्री पद्मा अर्यालले सहकारी अभियान भाषणमा मात्र सिमित भएको स्वीकार गरिन् । “हामीले गायत्री मन्त्र जपेको जस्तो धेरै जपेका छौं, राष्ट्रिय अर्थतन्त्र निर्माणको एउटा खम्बा सहकारी” उनले भनिन्, “अब यसलाई सार्थकतामा लैजानुपर्छ ।” उनले कानुनी बाधा हटाउने विषयमा सरकार तयार रहेको समेत प्रतिवद्धता व्यक्त गरिन् ।
महासंघका अध्यक्ष मिनराज कँडेल सहकारीले स–सानो उत्पादनमुलक व्यवसाय गरेपनि ठूलो स्केलमा काम गर्न नसकेको स्वीकार गरे । “अहिलेसम्म देशभरका तीन सय वटा सहकारीहरु स–सानो उत्पादनमुलक व्यवसाय गरिरहेका छन्” गोष्ठी उद्घाटन सत्रमा उनले भने, “ठूलो स्केलमा काम गर्न नसक्दा देशको कुल ग्राहस्थ उत्पादनमा सहकारीको भूमिका कमजोर छ ।” उनले केन्द्रीय र जिल्लास्तरिय संघहरू व्यावसायिकरण हुन नसकेको भन्दै उनीहरुलाई उद्यमशिलतामा क्रियाशिल गराउन गोष्ठी उपलब्धीपूर्ण हुने दावी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्