Logo

सांकेतिक विरोधस्वरूप चिया रोप्दै इलाम नगरपालिका

स्थानीय तहलाई धम्क्याउँदै चिया विकास निगम

इलाम– नेपालको एतिहासिक चिया बगान मासिँदै गएको भन्दै स्थानीय सरकारले चासो देखाएको छ । हरियाली चिया बगान मासिँदै गएर उराठ नांगा डाँडा बन्न लागेको भन्दै इलाम नगरपालिकाले चासो देखाएको हो । उचित समय गोडमेल नगरेपछि चिया बोट मर्न थालेका छन् । हरियो झाडीमा रहेको चिया बगान मासिने खतरा बढेपछि इलाम नगरपालिकाले नयाँ चिया रोप्न सुरु गरेको छ ।

२०५७ मा सरकारले संघाई समूहलाई ५० वर्षका लागि चिया बगान लिजमा दिएको थियो । संघाई समूहले चियाबारीलाई उचित स्याहार गर्न सकिरहेको छैन । पछिल्लो समय चिया बगान मासिँदै गएको र यसलाई जगेर्ना गर्न आफूहरू लागिपरेको इलामका मेयर केदार थापाले बताए । उनले संघाई समूहले इलाम चिया बगान जगेर्नाभन्दा उजाड बनाउन थालेपछि यसलाई बचाउने पहल थालिएको उनको भनाइ छ ।

विश्व वातावरण दिवस अवसरमा गत वर्षसमेत इलामले चिया रोपेको थियो । पछि संंघाई समूहले चिया नरोप्न दबाब दिएको मेयर थापाको दाबी छ । संघाई समूहले इलामका चार र झापाका तीन गरी सात वटा चिया बगानमा लिजमा लिएको छ । ६५ प्रतिशत स्वामित्व संघाईको रहने र बाँकी रहेको ३५ प्रतिशत सरकारको हुने गरी चिया बगान लिजमा दिइए पनि पछिल्लो समय यो चिया बगान संघाईकै मनपरीमा सञ्चालनमा छ ।

नेपाल चिया विकास निगम नै संघाईको ६५ प्रतिशत स्वामित्वमा छ । यसमा सरकार निरीह छ । चिया बगान गोडमेल, खाली भएको जमिनमा नयाँ चिया रोप्ने र हरियाली कायम राख्ने गरीको सम्झौता भए पनि हाल संघाई समूहले यो चिया बगानलाई उजाडजस्तै बनाएको छ । पछिल्लो समय संघाईले नेपाल चिया विकास निगमको लेटरप्याड प्रयोग गर्दै स्थानीय तहलाई धम्क्याएर पत्र पठाएको छ ।

जेठ २० मा चलानी नम्बर दुई सय २१ नम्बरको पत्र काट्दै निगमको लेटरप्याडबाट ध्यानाकर्षण तथा असहमति रहेको बेहोराको पत्र पठाएको हो । इलामलाई पठाएको पत्रमा सरकार र चिया विकास निगमबीचको सम्झौतामा चिया रोप्ने सहमति भएको र सोहीअनुसार आफूहरूले चिया रोपेको उल्लेख छ । केही वर्षदेखि चिया मासिँदै गएका ठाउँमा चिया रोपण भएको छैन ।

इलाम नगरपालिकाबाट अनावश्यक र सम्झौताविरुद्धको हस्तक्षेप भएको हुँदा सो कार्यप्रति निगमको असहमतिका साथै गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ । पत्रमा भनिएको छ, ‘निगमको बगानमा उपयुक्त चियाका बिरुवा रोप्ने काम निगमकै तर्फबाट हुने भएकाले नगरपालिकाबाट जथाभाबी चियाका बिरुवा लगाउने कार्य नगर्न/नगराउन अनुरोध छ ।’

इलामको मात्र नभएर देशकै ऐतिहासिक चिया बगानलाई संरक्षण गर्नुपर्ने सरोकारवालाले बताउँदै आएका छन् । नेपालमा पहिलो पटक १९२० मा चिया रोपिएको इतिहास छ । तत्कालीन बडाहाकिम गजराजसिंह थापाले चीनबाट ल्याएको चियाको नयाँ बिरुवा ल्याएर रोपेपछि इलाम चिया बगान सुरु भएको हो । इलामसहितको चिया बगानमा संघाईले हमला गर्न थालेको भन्दै स्थानीय सहसमेत आक्रोशित भएका छन् ।

तत्कालीन सरकारले लिजमा दिएको बगान फिर्ता लिएर सम्बन्धित स्थानीय तहकै स्वामित्वमा लिने काम थालिनुपर्ने माग उठन् थालेको छ । संघाईले स्थानीय तहलाई तिर्नु पर्ने कर समेत नतिरेको स्थानीय तहका जनप्रतिनिधिको गुनासो छ । स्थानीय तहलाई बुझाउनुपर्ने राजश्व लामो समयदेखि नतिरेको र ताकेता गर्दा पनि वास्ता नगरेको बताइएको छ ।

इलाम चिया बगान मरुभूमि बनाउन लागेको र तराई क्षेत्रमा पर्ने माई नगरपालिकाको सोक्तिम र चिलिम्कोट चिया बगानमा समेत रबरका रुख लगाएको बताइएको छ । जिल्लास्थित सरोकारवालाले लिजमा दिइएको बगान फिर्ता लिएर स्थानीय तहकै मातहतमा ल्याउन पहल गर्नुपर्ने जनप्रतिनिधिलाई सुझाए पनि सैले वास्ता नगरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्