सहकारी राम्रो काम, दिनानुदिन हुँदैछ बदनाम «

सहकारी राम्रो काम, दिनानुदिन हुँदैछ बदनाम

‘गाउँगाउँमा सहकारी घरघरमा भकारी’ भन्ने नाराका साथ सहकारी विस्तारको योजना बनाए पनि सोचेजति उपलब्धिमूलक हुन भने सकेको छैन ।

सहकारी क्षेत्रमा देखिएको चर्को ब्याजदर, मनपरी ढंगले ब्याज उठाउने परिपाटी, कमजोर नियमन र समय–समयमा अनुगमन, दोषीलाई कारबाहीजस्ता कदम चाल्ने प्रभावकारी संयन्त्र नभएका कारण संस्थाले प्रवाह गरेको ऋणीदेखि लिएर सञ्चालकसम्म सजिलै उम्कने अवस्था हुँदा सहकारीको वास्तविक उद्देश्य पूरा हुन सकेको देखिँदैन ।

साधारण अर्थमा सहकारी भन्नाले सहकार्य, सहअस्तित्व, समानकार्य वा सँगसँगै गरिने काम बुझिन्छ । सँगसँगै मिलेर समान उद्देश्यका साथ काम गर्दै मानिसहरूले आफ्नो आर्थिक हैसियत माथि उठाउन गरिएको सामूहिक प्रयासलाई नै सहकारी भनिन्छ । सहकारी भन्नेबित्तिकै समान आर्थिक स्तर, इच्छा, रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सीमाभित्र बसोबास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरूले आपसी हितका निम्ति आर्थिक कारोबार गर्न स्थापित गरिएको संस्था भन्ने बुझिन्छ । एउटै साझा उद्देश्य लिएर एउटै भौगोलिक क्षेत्रभित्रका व्यक्तिहरूले आ–आफ्नो आर्थिक उन्नतिका लागि दुई वा दुईभन्दा बढी व्यक्तिहरू मिली आ–आफ्नो आयको केही अंश नियमित रूपमा जम्मा गरी आयमूलक कार्य सञ्चालन गर्न ऋण प्रदान गरेर समूह वा संस्थालाई निरन्तरता प्रदान गर्नु नै सहकारी हो । प्राचीन कालमा सहकारीको सुरुवात पूर्वीय दर्शनबाट भएको देखिन्छ । ऐँचोपैँचो, अर्मपर्म, मर्दाको मलामी ज्यूँदाको जन्ती जस्ता कुरा सहकारीकै रूपमा विकसित भएका शब्दहरू हुन् । आधुनिक सहकारीको सुरुवात भने सन् १८४४ मा बेलायतबाट भएको हो ।

सहकारीको उद्देश्य
सदस्यहरूलाई विभिन्न आयमूलक, सीपमूलक एवम् उत्पादनशील व्यवसाय सञ्चालन गर्ने रोजगारीका समान अवसरहरू प्रदान गरी उनीहरूको आर्थिक विकास गर्नु सहकारीको आर्थिक उद्देश्य हो । सहकारी संस्थाले आफ्ना सदयहरूको आर्थिक विकासका लागि विभिन्न आर्थिक योजना तथा कार्यक्रमहरू सञ्चालन गरी त्यसमा उनीहरूलाई सहभागी गराउने गर्छन् । कुनै पनि सदस्यलाई जातजाति, धर्म, लिङ्ग, वर्ण वर्ग, स्तर आदिका दृष्टिले भेदभाव नगरी समान रूपले आर्थिक कारोबार गर्ने, जस्तो (बचत गर्ने, ऋण लिने, नाफा प्राप्त गर्ने), व्यवसाय सञ्चालन गर्न क्रियाकलाप स्वतन्त्र रूपले सञ्चालन गर्न आर्थिक स्वतन्त्रता प्रदान गर्नु पनि सहकारीको प्रमुख आर्थिक उद्देश्य मानिन्छ । समाजमा व्याप्त गरिबी, बेरोजगारी, आर्थिक शोषण र अन्याय–अत्याचारको अन्त्य गर्न समाजमा पिछडिएका वर्ग वा व्यक्तिहरूलाई आपसमा मिलेर बस्न, कुनै व्यवसाय गर्न र सहयोग गर्न प्रेरित गर्दै मानिसहरूमा सहयोग, एकता, इमानदारी, स्वावलम्बन, सामाजिक दायित्वको भावनाजस्ता मानवीय गुणहरूको विकास गर्ने सहकारीको उद्देश्य हो भन्न सकिन्छ । सहकारीले आफ्ना सदस्यहरूलाई सामूहिक रूपले कुनै पनि व्यवसाय गर्न मार्गदर्शन गर्ने हुनाले यसबाट समाजमा सामाजिक न्याय र समानताको वातावरण कायम हुन गई सामाजिक विकासको गतिलाई टेवा पु-याउने सहकारीको उद्देश्य हो ।

सहकारीको विशेषता
विशेषतः सहकारी विशेषताहरू चर्चा गर्ने हो भने थुप्रै छन् । तर, यहाँ मुख्य–मुख्य विशेषताहरूका बारेमा संक्षेपमा उल्लेख गरेको छु । सहकारी एउटा समूह वा एउटा समुदायले आपसमा मिलेर गर्ने व्यवसाय हो । सहकारीका सेयर सदस्य नै सहकारीका ग्राहक हुन्छन् । सहकारीमा पुँजीको हैन, सदस्यको महत्व हुन्छ । सहकारीले वित्तीय विकासका साथै सामाजिक विकास र वातावरण संरक्षणको दायित्व पनि निर्वाह गरेको हुन्छ । संस्थाका संस्थापक, सञ्चालक तथा कर्मचारीहरू स्थानीय व्यक्ति नै हुन्छन् । संस्थाले विनियमका साथै विभिन्न नीति–नियमहरू तयार गरी त्यसैका आधारमा संस्थाका कार्यहरू सञ्चालन गरिएका हुन्छन् । संस्थामा भएको रकमको निश्चित प्रतिशत संस्थामा तरलता राखी बाँकी रकम आफ्ना सदस्यहरूलाई नै ऋण लगानी गरिएको हुन्छ । संस्थापक र सञ्चालकहरूको लगानी नाम मात्रको (अन्यन्त थोरै) नभई स्वाभाविक हुन्छ । प्रजातान्त्रिक प्रणालीबाट चलेको तथा सहकारी भावना र सिद्धान्तबमोजिम अगाडि बढेको हुनपर्छ । संस्था सस्तो लोकप्रियतावाट नभई बलियो सामाजिक आधार भएको हुनुपर्छ । संस्थामा पर्याप्त सेयर पुँजी तथा अन्य कोष भएको हुनुपर्छ । नियमानुसार सदस्यता प्राप्त व्यक्तिबाट मात्र बचत संकलन गर्ने र सदस्य भएको केही समयपछि सदस्यभित्र मात्र ऋण लगानी गर्नुपर्ने हुन्छ ।

विश्वास गुमाउँदो छ सहकारी क्षेत्र
सहकारी स्थापना र विस्तारलाई थप प्रोत्साहन गर्नका लागि सहकारी क्षेत्रलाई अर्थतन्त्रको तीन खम्बाअन्तर्गत एक मानिँदै आएको छ । ग्रामीण भेगहरूमा आर्थिक गतिविधि बढाउनका लागि सरकारले ‘गाउँगाउँमा सहकारी घरघरमा भकारी’ भन्ने नाराका साथ सहकारी विस्तारको योजना बनाए पनि सोचेजति उपलब्धिमूलक हुन भने सकेको छैन ।
नेपालमा रहेका करिब ३४ हजार सहकारी संस्थामध्ये, औंलामा गन्न सकिने सहकारी संस्था राम्रै सञ्चालन भइरहेका छन् भने धेरैजसो सहकारी पारिवारिक रूपमा सञ्चालन भएका र लगानीमा मनोमालिन्य भएका कारण धराशायी भएका र हुने अवस्थामा देखिएका छन् । बैंक तथा वित्तीय संस्थाको पहुँच नपुग्ने वर्ग एवम् समुदायमा बचत गर्ने एवम् उद्यमशीलतातर्फ लाग्ने बानीको विकास गर्नका लागि उपयोग हुनुपर्ने सहकारी अहिले सञ्चालक समितिको चयनमा देखिएको मनोमानी मिलीजुली बाँडी खाने प्रवृत्ति हावी हुनु, कर्मचारीको नियुक्तिमा पारिवारिक र मिलीजुली खानुपर्छ भन्ने प्रवृत्तिको बोलवाला, अनि संस्थाको आम्दानी खर्चमा पारदर्शिता नहुनुले सहकारी भनेको आमजनमानसलाई झुक्याएर खाने संस्थाका रूपमा बदनाम भइरहेका छन् ।
वास्तवमा सहकारीका सञ्चालक आफैँ हुने र आफैंले नियमित रूपमा सहकारीमा रकम जम्मा गर्ने अनि तिनै बचतकर्ताहरू नै संस्थाको सेयर सदस्यसमेत हुने हुँदा उनीहरूले आवश्यकताअनुसार निश्चित ब्याजदरमा सहकारीबाट कर्जा लिन पाउँछन् । यसरी कर्जा लिँदा वा दिँदा नियमानुसार हुने र कर्जाको सही उपयोग हुने हो भने सहकारी समृद्धिको कारक हुन र सहकारी साँच्चै जीवनोपयोगी र मानिसको आर्थिक तथा सामाजिक उन्नतिको सहयोगी सिद्ध हुन सक्थ्यो, तर केही खराब नियत भएका सहकारी सञ्चालक तथा ऋणीहरूका कारण सिंगो सहकारी क्षेत्र नै बदनाम भएको अवस्था छ ।
दिनानुदिन समाचार बन्ने गरेका सहकारी क्षेत्रमा भएका ठगीका घटनाहरू एवम् सहकारी सञ्चालकहरूको मनोमालिन्यका कारण सहकारीहरू धराशायी भएको मात्र होइन, सञ्चालकहरू बचतकर्ताको पैसा लिएर भागेका घटनाहरूले सहकारीप्रति सुरु–सुरुमा देखिएको विश्वास दिन–प्रतिदिन घट्दो छ । सही लगानीको क्षेत्रको पहिचान नगरी बेपर्वाहपूर्वक लगानी गर्दा लगानी डुबेर होस् वा मनोमानी ढङ्गबाट आफ्ना र आफू नजिकका मान्छेहरूलाई बिनाधितो या कमसल धितोमा प्रवाह गरेका कर्जाहरूको समयमा साँवा ब्याज संस्थामा जम्मा नहुनाले पनि सञ्चालकहरू भाग्न बाध्य हुन्छन् । सहकारी क्षेत्रमा देखिएको चर्को ब्याजदर, मनपरी ढंगले ब्याज उठाउने परिपाटी, त्यसमाथि सहकारी क्षेत्रमा देखिएको कमजोर नियमन, समय–समयमा अनुगमन, दोषीलाई कारबाहीजस्ता कदम चाल्ने प्रभावकारी संयन्त्र नभएका कारण संस्थाले प्रवाह गरेको ऋणीदेखि लिएर सञ्चालकसम्म सजिलै उम्कने अवस्था हुँदा सहकारीको वास्तविक उद्देश्य पूरा हुन सकेको देखिँदैन ।
(लेखक अधिवक्ता हुन् ।)

प्रतिक्रिया दिनुहोस्