Logo

मेनपावरमार्फत वैदेशिक रोजगारीमा जाने घटे

काठमाडौं– पछिल्लो समय मेनपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा जाने संख्या घटन थालेको छ । नेपाली श्रम बजारमा वार्षिक आउने ५ लाखभन्दा बढी श्रम योग्य जनशक्तिमध्ये आधाभन्दा बढीलाई मेनपावर एजेन्सीले रोजगारीमा सहजिकरण गदै आए पनि पछिल्लो समय व्यवसायमा कमी आउन थालेको हो । गत आवमा संस्थागत अर्थात् मेनपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटेको थियो ।

वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको पछिल्लो १० महिनाको तथ्यांकमा संस्थागत (मेनपावर) मार्फत वैदेशिक रोजगारीमा जानेको संख्या १२ हजार ४१ ले कमी आएको छ । गत आर्थिक वर्षको वैशाखसम्म मेनपावरमार्फत वैदेशिक रोजगारीमा गएका नेपालीको संख्या २ लाख ९४ हजार ५७७ रहेकोमा चालु आवमा सो संख्या २ लाख ८२ हजार ५३६ मा सीमित भएको छ ।

यसैगरी पुन: श्रम स्वीकृति बाहेक गत वर्ष व्यक्तिगत रूपमा २ लाख ९१ हजार ५५५ युवा विदेश गएकोमा चालु आवको वैशाखसम्म सो संख्या बढेर ३ लाख ९ हजार १५५ पुगेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङ मलेसियाले विदेशी कामदार लिन कडाई गर्नु, खाडी क्षेत्रमा युद्धको असर देखिएका कारण मेनपावरमार्फत वैदेशिक रोजगारीमा जानेको संख्या घटेको बताँउछन् ।

उनले कोभिडपछि मलेसिया तथा खाडीमा धेरै नेपालीको माग भए पनि अहिले पुन आर्थिक मन्दी सुरु भएपछि माग आउन नसकेको बताउँछन् । कोभिडपछि रोजगारदाताले धेरै नेपाली माग गरेका कारण अहिले खाडी तथा मलेसियाका रोजगारदाताले माग गर्न नसकेको व्यवसायीको भनाइ छ । कोभिडपछि विश्वभर श्रमिक अभाव हुँदा सबैले आवश्यकताअनुसार माग पूरा गरेको असर अहिले देखिएको व्यवसायीको भनाइ छ ।

त्यसमा पनि मलेसियाले जुन महिनाबाट अनिश्चित समयका लागि विदेशी कामदार नलिने घोषणा गरेको कारण आगामी दिनमा संस्थागत रूपमा वैदेशिक रोजगारीमा जानेको संख्या अझ घटने संकेत देखिएको छ । साधारण अवस्थामा मेनपावरमार्फत नेपालबाट प्रत्येक वर्ष ४ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा जाने गरेका थिए । नेपालमा प्रत्येक वर्ष करिब ५ लाख श्रमयोग्य जनशक्ति श्रम बजारमा प्रवेश गर्ने सरकारी अनुमान छ ।

यसरी प्रवेश गर्ने श्रमशक्तिलाई रोजगार प्रदान गर्न नेपालको श्रम बजार सक्षम छैन । न्यून आर्थिक वृद्धि, भौगोलिक जटिलता, सीमित उब्जाउ योग्य भूमि, सीपविहीन जनशक्ति र कमजोर संरचनात्मक आर्थिक प्रणालीका कारण देशमा रोजगार उपलब्ध हुन नसकेर वैदेशिक रोजगारीमा जानु युवाको बाध्यता बनेको छ । यसरी श्रम बजारमा आउने युवालाई स्वदेशको रोजगारीको विकल्पमा मेनपावरले सहजीकरण गर्दै आएको छ ।

वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा कामदार पठाउन गरिएको देशको संख्या ११० पुगेको भए पनि नयाँ विकल्पको खोजी गर्न नसक्दा वैदेशिक रोजगारी पनि न्यून आम्दानी हुने खाडी तथा मलेसियामा मात्र केन्द्रित हुन पुगेको छ । कतार, मलेसिया, साउदी अरब, युएइ, कुवेत, वहराइन, ओमान, दक्षिण कोरियालगायतका देशमा नेपाली युवा प्रमुख श्रम गन्तव्यका रूपमा मात्र रहेका छन ।

त्यसमध्ये कोरिया आम्दानीका हिसाबले राम्रो मानिन्छ । विगतमा कोभिडका कारण धेरै मेनपावरले एक जना पनि श्रमिक विदेश पठाउन सकेका थिएन । अघिल्लो आर्थिक वर्ष खाडी तथा मलेसियाको विकल्पमा नयाँ श्रम गन्तव्यको खोजी गर्न नसक्दा २५१ मेनपावरको कारोबार नै शून्य भएको थियो ।

कोरोना संक्रमणका कारण खुम्चिएको श्रम गन्तव्यको विस्तार गर्न नसक्दा विदेश जाने मात्र नभई मेनपावरमा कार्यरत हजारौं कर्मचारीसमेतले रोजगारी गुमाएका थिए । कोरोना संकटका कारण वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरिरहेका ८ सय ५४ मेनवापर कम्पनीमध्ये २ सय ५१ मेनपावरले एक जना पनि श्रमिक विदेश पठाउन सकेनन् भने धेरै जसो बन्द भएका थिए ।

प्रतिक्रिया दिनुहोस्