Logo

नेपाली पर्यटनः ब्रान्डिङका कुरा

नेपालमा पर्यटनको मुख्य सिजन सकिएको छ । त्यसैले नेपालमा पदयात्रा गर्न आउने विदेशी पर्यटकको संख्या पनि धेरै कम भइसकेको छ । यसै सन्दर्भमा सन् २०२४ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या, उनीहरूले नेपालमा रहँदा गरेको प्रतिव्यक्ति औसत खर्च र उनीहरूको औसत नेपाल बसाइ अवधिका सम्बन्धमा एक तथ्यांक प्रकाशित भएको छ । नेपालमा विगत ६ वर्षमा आएका विदेशी पर्यटकको वार्षिक संख्या यहाँ उल्लेख गरिएको छ । सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१, सन् २०२० मा २ लाख ३० हजार ८५, सन् २०२१ मा १ लाख ३० हजार ५० हजार ९ सय ६३, सन् २०२२ मा ६ लाख १४ हजार ८ सय ६९, सन् २०२३ मा १० लाख १४ हजार ८ सय ८२ र २०२४ मा ११ लाख ४७ हजार ५ सय ६७ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए । यसरी ६ वर्षको समयावधिमा लगभग ४४ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेको देखिन्छ ।

त्यस्तै गरेर विगत ६ वर्षमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको औसत बसाइ अवधि पनि यहाँ उल्लेख गरिएको छ । सन् २०१९ मा १२.०७ दिन, २०२० मा १५.०१ दिन, २०२१ मा १५.०५ दिन, २०२२ मा १३.०१ दिन, २०२३ मा १३.०२ दिन र २०२४ मा १३.०३ दिन । यसरी नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको विगत ६ वर्षको औसत बसाइ अवधिचाहिँ लगभग १४ दिन रहेको मान्न सकिन्छ, जुन तथ्यांकलाई राम्रै मान्नु पर्छ ।

तर, नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले नेपाल बसाइ अवधिमा उनीहरूले गर्ने खर्च (प्रतिव्यक्ति दैनिक औसत खर्च गराइ) चाहिँ त्यति चित्त बुझाउन सकिने खालको नरहेको देखिन्छ । यहाँ विगत ६ वर्षको अवधिमा नेपाल गर्न आएका विदेशी पर्यटकले औसतमा गरेको दैनिक खर्च प्रस्तुत गरिएको छ । सन् २०१९ मा प्रतिव्यक्ति दैनिक खर्च ४८ अमेरिकी डलर थियो । २०२० मा चाहिँ सो खर्चमा १७ अमेरिकी डलरले बढोत्तरी भएर ६५ अमेरिकी डलर पुग्यो । सन् २०२१ मा चाहिँ नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले गर्ने दैनिक औसत खर्च गराइ १७ अमेरकी डलर घटेर पुनः दैनिक ४८ अमेरिकी डलरमा झर्‍यो । सन् २०२२ मा साढे ७ अमेरिकी डलर घटेर दैनिक ४०.०५ अमेरकी डलर पुग्यो । २०२३ मा ०.५० ले बढेर दैनिक औसत खर्च गराई ४१ अमेरिकी डलर पुग्यो । सन् २०२४ मा चाहिँ नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले दैनिक औसत खर्च गराइ पुनः ०.२ ले घटेर ४०.०८ अमेरिकी डलरमा झर्‍यो ।

त्यसो त विश्वमा पर्यटन उद्योग मात्रै यस्तो उद्योग हो, जुन क्षेत्रमा स–सानादेखि ठूलठूला स्केलमा निजी क्षेत्रले आफ्नो लगानीमा उद्योग–व्यवसाय चलाएको हुन्छ । भनाइको अर्थ सरकारले कार्ययोजना बनाएर ठूलठूला पूर्वाधारमा लगानी गरेजस्तो पर्यटन उद्योगमा लगानी गरिरहनु पर्दैन । यसो भनिरहँदाखेरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विमानस्थलहरूचाहिँ अपवादका रूपमा पर्छन् । यस्तै साना होटल, कटेज, होमस्टे, लज, गेस्ट हाउस, रेस्टुरेन्ट, बार, पब, सैलुन, मसाज सेन्टर, दोहोरी साँझ, ज्याकुजी, होस्टल, गजल रेस्टुरेन्टलगायत विविध क्षेत्र रहेका छन्, जुन क्षेत्रमा व्यवसायीहरू आफैंले स–सानो स्केलमा लगानी गरिरहेका हुन्छन् ।

हाम्रो देशमा पर्यटनमा विविधीकरण गर्न सकिने सम्भावना अत्यधिक रहेको भए पनि हामीले त्यहीअनुसार विश्वका पर्यटकबीच प्रचारप्रसार र ‘ब्रान्डिङ’ गर्नचाहिँ नसकेको हो कि भन्ने देखिन्छ । यो पक्षचाहिँ हाम्रो धेरै ठूलो कमजोरी हो कि ? हुन पनि हामीले विश्वका पर्यटकमाझ देशको पर्यटकीय स्थल एवम् पर्यटकीय विविधीकरणका बारेमा सक्दो प्रचारप्रसार र ‘ब्रान्डिङ’ गर्न सके नेपाली पर्यटनको भविष्य सदैव उज्ज्वल रहने देखिन्छ । यसो भनिरहँदा विगतमा हामीले नेपालको पर्यटकीय स्थल एवम् पर्यटकीय विविधीकरणका बारेमा प्रचारप्रसार एवम् ‘ब्रान्डिङ’का लागि प्रयास नै नगरेको चाहिँ कदापि होइन ।

नेपालको पर्यटन र पर्यटकीय स्थल एवम् पर्यटकीय विविधीकरणका सम्भावनाका बारेमा प्रचारप्रसार र ‘ब्रान्डिङ’ गर्न भनी सन् १९९८ मा पहिलो पटक ‘नेपाल भ्रमण वर्ष–९८’ मनाएका थियौँ । उक्त वर्ष ५ लाख विदेशी पर्यटक नेपाल भित्वयाउने महत्ववाकांक्षी लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइएको थियो । नेपाल भ्रमण वर्ष–९८ को मुख्य नाराचाहिँ ‘नेचुरल्ली नेपाल वान्स नट एनफ’ रहेको थियो । उक्त वर्ष ४ लाख ६३ हजार ६ सय ८४ विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए । सन् १९९९ मा चाहिँ ४ लाख ९१ हजार ५ सय ४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

विगत १० वर्ष (सन् २०१४-१५ देखि सन् २०२२-२३) मा नेपाली पर्यटनबाट भएको वार्षिक आम्दानी हेर्दाखेरि लगभग २ खर्ब विदेशी मुद्रा आर्जन भएको देखिन्छ । नेपाल सरकार पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको पर्यटन विभागद्वारा हरेक वर्ष प्रकाशित हुने वार्षिक प्रतिवेदनअनुसार सन् २०१४–१५ मा ९९.५ अर्ब, २०१५–१६ मा १०६.४ अर्ब, २०१६–१७ मा १०६.२ अर्ब, २०१७–१८ मा १०४.४ अर्ब, २०१८–१९ मा ११२.९ अर्ब, २०१९–२० मा ११६.३ अर्ब, २०२०–२१ मा ११७.९ अर्ब, २०२१–२२ मा ११७.९ अर्ब, २०२२–२३ मा १३०.७ अर्ब र २०२३–२४ मा १३३.६ अर्ब आम्दानी भएको देखिन्छ । यसरी विगत १० वर्षको तथ्यांक हेर्दा, सन् २०२४ मा नेपालमा राम्रै संख्यामा विदेशी पर्यटकको आगमन भएको थियो भने सन् २०२५ को चार महिनामा नेपाल आएका पर्यटकको संख्या पनि राम्रै रहेको छ ।

नेपालको समग्र अर्थतन्त्रमा पर्यटन क्षेत्रको कुल योगदान एकै किसिमको देखिँदैन । कुनै बेला नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा समग्र पर्यटन क्षेत्रको योगदान ११.५ प्रतिशतसम्म रहेको विज्ञहरूको भनाइ छ । कुनै–कुनै आर्थिक वर्षमा त पर्यटन क्षेत्रबाट ०.७१ प्रतिशत मात्रै कुल गार्हस्थ्य उत्पादनमा योगदान रहेको देखिन्छ । सन् २०२१ मा ‘ग्लोबल इकोनोमी डटकम’ले विश्वभरिको पर्यटन क्षेत्रमा हुने आयसम्बन्धी गरेको एक अध्ययनअनुसार नेपालको पर्यटन क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादनको योगदान ०.७१ प्रतिशत मात्रै रहेको तथ्यांकमा उल्लेख थियो । खासमा नेपालको समग्र अर्थतन्त्रमा पर्यटन क्षेत्रको कुल योगदान हरेक वर्ष एकै किसिमको रहने गरेको छैन । कुनै आर्थिक वर्षमा पर्यटन क्षेत्रको कुल योगदान १.०७ प्रतिशतमात्र रहेको पनि देखिन्छ । समग्रमा नेपालको कुल गार्हस्थ्य उत्पादन अर्थात् जिडिपीमा समग्र पर्यटन क्षेत्रबाट सरदर साढे दुईदेखि तीन प्रतिशत योगदान रहेको अनुमान गर्छन् पर्यटनविद्हरू ।

आर्थिक वर्ष २०८०-८१ मा आएको समाचारमा जनाइएअनुसार, राष्ट्रिय तथ्यांक कार्यालय, नेपाल पर्यटन बोर्ड, राष्ट्र बैंक र विश्व पर्यटन संगठनले संयुक्त रूपमा गरेको ‘टुरिज्म सेटेलाइट एकाउन्ट’ को सुरुवाती अध्ययनको प्रतिवेदनअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको समग्र योगदान ३.७७ प्रतिशत पुगेको रिपोर्ट आएको थियो । त्यस्तै राष्ट्रिय तथ्यांक कार्यालय, नेपाल पर्यटन बोर्ड, राष्ट्र बैंक र विश्व पर्यटन संगठनले संयुक्त रूपमा गरेको टुरिज्म सेटेलाइट एकाउन्टको अध्ययनअनुसार नेपाली पर्यटन क्षेत्रबाट ११.५ प्रतिशत रोजगारी सिर्जना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्