Logo

गफाडी नायक र मौन सगरमाथा

देशको वर्तमान सन्दर्भलाई नियालेर हेर्दा, हामी आर्थिक रूपमा मात्र छियाछिया परिसकेका होइन रहेछौँ, हाम्रो राजनीतिक र सामाजिक धरातल पनि निकै तलसम्म धस्सिएर गइसकेको, साथै चालै नपाउने गरी हाम्रो नैतिकता र मानवीय धर्मसमेत हराउँदै गइरहेको छ्याङ्गिदै हामीलाई वास्तवमा को हौँ भन्ने प्रश्न गरिरहेको अनुभूति दिलाइरहेको छ । हामी वास्तवमा चार जात छत्तीस वर्णको फूलबारीमा फुलेका सुमन हौँ कि दुई ढुंगाबीचको तरुलजस्तै सुन्दर सुमन हौँ, अनुत्तरित प्रश्नमा अल्झिइरहेको छ । हामीले हाम्रो अतुल्य धूलो माटो, हावापानी, प्राकृतिक, सांस्कृतिक, भौगोलिक र ऐतिहासिक जातीय गौरवलाई बिर्सेर पराईहरूका नाच्ने बाँदरझैँ सायद उनीहरूकै अराजक सङ्गीतमय धुनमा मूल्यहीन नाच देखाएर आफ्नो स्वार्थ सिद्धि र महत्ववहीन सत्ताको रक्षामा आतुरतापूर्वक स्वयंलाई स्थापित गर्ने खेल खेल्दै देश र जनतालाई चट्ट बिर्संदै ‘तँभन्दा म के कम’को बालक्रीडा प्रदर्शन गरिराखेका छौँ ।

वर्गहीन समाजलाई अस्पष्ट नयाँ समाजमा बदल्ने नाममा नयाँ अभिजात्य वर्गको सिर्जना गर्दै तिनै वर्गका मानिसद्वारा मुलुकको विधि–विधान परिभाषित हुन्छ । एकातिर स्वतन्त्रता र मौलिक हकका गीत रच्न लाएर दुर्गम गामवासीहरूलाई चाँदीको चमकमा परदेश धपाउँदै राज्य सञ्चालकहरूको जमात खडा गरिन्छ । उद्योग उजाडिन्छन्, खेत बाँझै रहन्छन् र थरीथरीका सौदागरहरूको आडमा आम जनता र समाजप्रतिको जिम्मेवारीलाई बिर्सेर नेपथ्यबाट टुक्रै टुक्रा रहेका राज्यहरूको एकीकरण गर्दै हाम्रा लागि नेपाल बनाइदिने महान् राजा राष्ट्रपितालाई देखाएर जथाभावी राज्य बोल्ने सञ्चालकमध्येका निर्देशकको अहंकारले भरिएको विषादपूर्ण उद्घोषले हामी नेपालीहरूको ठाडो शिर निहुराउने प्रयास गरिन्छ । यस्ता कुराको विरोधमा बोल्न नपाइने कुन प्रजातान्त्रिक व्यवहार हो ? प्रहरीका बलमा देश हाँक्छौँ भन्ने नायकहरूको लाज क्षमता हराइसकेको छ ।

८०–८५ वर्षका वृद्ध बा–आमाहरू लट्ठी टेकेर, सरकारको विरोधमा चर्का नारा लगाइरहेको दुनियाँले देखेका छन् । युवा समूहहरू पनि देशभित्रको भ्रष्ट्यौल देखेर जिल्ला–जिल्लामा उद्वेलित छन् । कतिलाई जेल कोच्ने ? जेल भरिन्छन् । आगो झन्–झन् भर्भराउँदै जाला, तर राज्य–सञ्चालकहरूमा व्याप्त अनैतिकता र उल्टै जनताले उठाएका मुद्दाप्रतिको असहिष्णुतापूर्ण व्यवहारले राज्यमा कुनै पनि घडी अकल्पनीय तुफान नआउला भन्न सकिँदैन । वार्षिक बजेट बनाएर, खर्च नपुग देखाउँदै ऋणमा भर पर्नुपर्ने अवस्थाको औचित्य पुष्टि गर्नु र अर्कातिर संसद्भित्रका झन्डावालहरूको तथा एकचोटि भए पनि सत्तामा पदासीन रहेर सेवा–निवृत्त भएकाहरूको सेवासुविधा वृद्धि गर्ने प्रवृत्तिका कारण देशैभरिका कैयौँ अत्यावश्यक योजना–परियोजनाहरूको काम थालिएर पनि अलपत्र अवस्थामा रहनुपर्ने वर्तमान स्थितिप्रति सरकार सञ्चालकहरू मौन रहनु विरोधाभासपूर्ण (पाराडोक्सो) कल सत्य होइन र ? सत्तासीनहरूको सुविधाको एक अंश काटेर भए पनि ती अलपत्र परेका निर्माणाधीन पुल, बाटा र दूरदराजमा दयनीय अवस्थामा रहेका विद्यालय र अन्य भौतिक कमी पूरा गर्नु श्रेयष्कर नहोला र ? सांसद कोषको रकम कहाँ, कसरी खर्च भएको छ, त्यसलाई करदातासमक्ष पारदर्शी बनाइनु उपयुक्त नहोला र ?

राज्यका महान् व्यक्तिहरू जस्तैः साहित्यकार, संगीतज्ञ, संस्कृतिकर्मी, समाजसेवी, राजनीतिज्ञ, वैज्ञानिक, नवप्रवर्तक, शिक्षाविद् अथवा त्यस्तै महापुरुषहरूको सम्झनामा पूर्ण कदको सालिक बनाएर उनीहरूको जन्मस्थलमा स्थापित गरिनु राज्य सञ्चालकहरूलाई अनुपयुक्त लाग्ला र ? वर्षा सुरु भइसक्यो, मनसुनी विपदहरूको जोखिम पनि बढ्दै जाने निश्चित छ । त्यसको सामना गर्न बजेट त छुट्ट्याइएकै छ । तर, कसलाई कुन मनसुनी प्रकोपको उच्च जोखिममा पर्ने ठाउँमा चेतावनी जारी गरिएको छ ? फेरि पनि हाम्रो भिजिबिलिटीमा परेन भन्ने अवस्थाको पुनरावृत्ति नहोस् भन्ने जनचाहना छ । प्रधानमन्त्रीले एकैचोटि एउटै कक्षमा बसेर मधेस प्रदेशका ६४ वटा सडक योजनाहरूको शिलान्यास गर्नुभएको समाचारले जनमनमा देशको विकासको गति तीव्र पारिएको अनुभूति नदिई एउटा व्यंग्य सृजना भएको अनुभूति दिन्छ । होइन र ? बजेटले प्रतिविम्बित गरेका कार्यक्रमहरू निश्चित रूपमा स्वागतयोग्य छन् ।

तर, तिनको कार्यान्वयनतर्फ सरकारको झुकाव र इमानदारी कति हुन्छ भन्ने कुरा नै मुख्य कुरा हो । अहिलेसम्मका दृष्टान्तहरूले देशका नागरिकको मनमा सरकारप्रति विश्वास उत्पन्न हुन सकेको छैन । त्यो पनि सत्य हो । राज्यको ढुकुटीमा सञ्चित हुने धन आम मानिसहरूकै श्रम, उत्पादन र उद्यमबाट विभिन्न थरीका करका रूपमा सञ्चय भएको धन हो । त्यसको सदुपयोग हुनु नै समृद्ध नेपालीका लागि हाम्रो सपना पूरा हुने एकमात्र माध्यम हो । त्यो धनमा राष्ट्रसेवकहरूको गिद्धे आँखा जानु हामी नेपालीको दुर्भाग्य हो । यस्तो दुर्भाग्यको सृजनकर्ता देशको वैरी हो । त्यस्ता वैरीलाई राज्य सञ्चालकहरूले काखामा राखेर संरक्षण दिनु आफ्नै आमाप्रतिको घात हो । आफ्नो सही जिम्मेवारी र नैतिक आचरणको धज्जी उडाउँदै सह–सञ्चालकहरूलाई समेत आफ्नै खेमाभित्र तानेर राष्ट्रसेवकहरूउपर नै लाञ्छना लगाएर कसैलाई उम्काउन खोज्नु मरुभूमिको उँटले बालुवामा टाउको लुकाएर मलाई अब कसैले देख्दैनन् भनेजस्तै हो ।

जनप्रिय सांसद डा. सुनिल शर्माले भनेझैँ केही राजनीतिक दल त हाम्रो राज्य व्यवस्थाभित्र प्राइभेट लिमिटेड कम्पनीजस्ता भइसके । आफ्नो मातृभूमिप्रति उनीहरूको कुनै सोच छैन । सोच छ त केवल आफ्नो निहित स्वार्थको, सम्पत्तिको, सुख–सयल र विलासितापूर्ण जीवनको । ‘जनता जाए भाडमेँ’ को सोचले नेतृत्वको ‘चंगाचेट’ गर्छ नै । यो अवश्यंभावी हो । इतिहासमा कहिल्यै परनिर्भर नभएको हाम्रो सानो सुन्दर मुलुक अहिले परनिर्भरतामा बाँचिरहेको छ भन्नु अत्युक्ति नहोला । एक दिन पनि भारतीय वा चिनियाँ मालवाहक ट्रक नेपाली सरहदभित्र पसेनन् भने हाम्रो दिन अँध्यारो बन्न जाने तथ्य अकाट्य छ । यो हो हाम्रो विद्यमान अर्थतन्त्र । आगामी दिनहरूमा, सन् १९२३ को जर्मनीजस्तै नेपालमा पनि नोटसँग रासन जोख्ने दिन नआउला भन्न सकिन्न । वैदेशिक ऋण र आयातको भार थेग्न हामीले पनि पैसा छाप्नुपर्ने हो कि ? नयाँ मुद्रास्फीति खेप्नुपर्ने हो कि ?

अहिले हामीसँग भएका पैसाको असाधारण रूपमा मूल्य घट्दै जाने हो कि ? हाइपर इन्फ्लेसनको सामना गर्नुपर्ने हो कि ? कमाइतर्फ मात्र केन्द्रित भएर काम गर्ने हो भने उत्पादन शून्य बन्दै जाने अवस्था देशले भोग्नु नपर्ला कसरी भन्नु ? सबैलाई कमाउने चटारो छ, उत्पादन गर्ने र त्यसको वितरण प्रणालीलाई सुदृढ बनाउँदै जाने प्रकारको दर्शन कहीँ देखिँदैन । आकाशलाई बादलले ढाक्यो भने पानी पर्नुपर्ने विषय निर्धारित हुन्छ । त्यसै कारण राज्य सञ्चालकहरूले देशैभरि कहीँ पनि जनमनमा नैराश्यताका मेघहरूलाई एकत्रित हुन दिन हुँदैन । सर्वनाशको बर्सात हुन नदिऊँ । नेपाल आमालाई जोडले रोइकराइ गर्न नदिऊँ । नेपाल छ र त हामी छौँ, बुद्धको भूमिमा जन्मिएर कंस र रावणको चरित्रोद्घाटन नगरौँ । भगवान् शिवको महाशक्तिशाली अस्त्र पिनाक (शिवको धनुष) पनि त तोडिँदो रहेछ ! जनताको देवरूप नदेख्ने मानिस कहिल्यै पनि राजनीतिको सगरमाथामा पुग्न सक्दैन ।

सगरमाथाको उपर्युक्त सन्दर्भले काठमाडौँमा २७ मे, २०२५ का दिन सगरमाथा आरोहीहरूको विश्व सम्मेलन सम्पन्न भयो । संसारका विभिन्न देशबाट आएका सबैभन्दा कान्छो र जेठो, भिन्दै प्रकारले उभिने, हिँड्ने र दुवै खुट्टा गुमाएका साहसी आरोहीहरू एउटै छानामुनि एकत्रित भएको सम्भवतः यो प्रथम पटक थियो । एभरेस्ट एलायन्स नेपालका अध्यक्ष उद्यमीद्वय सुदर्शन नेपाल र सहयोगी सल्लाहकार अच्युत गुरागाईं र अन्य नौ जनाको सक्रियता तथा प्रयासमा र नेपाल सरकार तथा पर्यटन सम्बद्ध भ्रातृ संगठन एवं नेपाल पर्यटन बोर्ड राष्ट्रिय खेलकुद परिषद्, सेनजेन माउन्टेनियरिङ एन्ड आउटडोर स्पोर्ट्स, पर्वतारोहण सञ्चालक संघ तथा नेपाल हस्तकला संघको सामूहिक मनोबलबाट यो सम्मेलन अत्यन्तै उत्साहपूर्ण माहौलमा सम्पन्न भएको हो । सन् १९२१ देखि २०२५ सम्मका सम्पूर्ण आरोहीको विस्तृत विवरण तथा तस्बिरसहितको एउटा कफी टेबल संग्रह पनि सो अवसरमा विमोचन भएको थियो । केही सफल आरोहीको व्यक्तिगत अनुभवका साथै उनीहरूको सर्वाधिकार रहेको केही श्रव्यदृश्यले सहभागीहरूलाई द्रवित तुल्याएको उल्लेख्य छ । विशेष गरी सन् १९५३ को सगरमाथा आरोहण गर्ने दलका जीवित सदस्य कान्छा शेर्पाका नातिको उपस्थिति र प्रस्तुतिका साथै नेपालका दुवै खुट्टा नभएका हरि बुढामगरको प्रस्तुति, दक्षिण एसियाका ८ हजार फिट अग्ला चौधवटा चुचुरा चढ्ने मिंग्मा शेर्पाको प्रस्तुति, फुर्वा तेन्जी शेर्पा, एड्रियाना वाउन्ली (बेलायत), दाबुति शेर्पा, सांगे शेर्पा, शेरोज कासिफ (पाकिस्तान), निशा अधिकारी (नेपाली अभिनेत्री) अनुजा वैद्य (भारत) र काओ जुन (चीन) का अनुभव र उद्गारहरू अत्यन्तै हृदयस्पर्शी थिए ।

मध्याह्नपछिको सत्रमा केही सांस्कृतिक प्रस्तुतिका साथै पहिलेको सगरमाथा र आजको सगरमाथाको वातावरणीय तथा पर्यावरणीय अवस्था र जलवायु परिवर्तनका कारण सगरमाथाका हिमनदीहरू कसरी सुक्दै गइरहेका छन्, कसरी खुम्बु क्षेत्रको पर्यावरण नाशिँदै गइरहेको छ, पर्वतप्रेमी विश्व जनसंख्याको ध्यान त्यसतर्फ कसरी केन्द्रित हुँदै गइरहेको छ जस्ता महत्ववपूर्ण विषयहरूबारे श्रव्यदृश्य, छलफल र नेपाल सरकारले सगरमाथालाई राज्यको आयस्रोतका रूपमा मात्र नलिएर त्यसको बचावका लागि अविलम्ब नीतिगत रूपमा गम्भीर भएर प्रतिरोधात्मक कार्यको थालनी गरिनुपर्ने सन्दर्भ सम्मेलनमा बारम्बार उठेको थियो । त्यसबारे भर्खरैका युवा वैज्ञानिक जो हाल इसिमोडमा कार्यरत छन्, तेन्जिङ चोग्याल शेर्पाले अत्यन्तै मन छुने विवरण प्रस्तुत गरेका थिए । सहभागी विदेशी पर्वतारोहीहरूले नेपाल सरकारलाई सुझावस्वरूप केही महत्ववपूर्ण बुँदाहरू छलफलमा ल्याएका थिए, जसलाई त्यहाँ उपस्थित झन्डै चार सय आरोहीले एउटै स्वरमा समर्थन गरेको उल्लेख्य छ ।

सुझावमा नेपाल सरकारलाई सगरमाथा आरोहणको रोयल्टी अत्यधिक भएको गुनासो थियो । सन् २०२५ का लागि नेपाल सरकारले वसन्त ऋतुमा सगरमाथा चढ्ने विदेशीहरूबाट जनही युएस १५ हजार डलर र नेपालीबाट ७५ हजार रुपैयाँ असुल्ने गरेको छ । त्यसरी नै शरद् ऋतुमा विदेशीबाट युएस डलर ७ हजार ५ सय र नेपालीबाट ३७ हजार ५ सय रुपैयाँ तथा जाडो वा वर्षायाममा विदेशीबाट युएस डलर ३ हजार ७ सय ५० र नेपालीबाट १८ हजार २ सय ५० रुपैयाँ रोयल्टी उठाउने गरेको छ । दोस्रो सुझाव, सगरमाथा चढ्ने परमिटको सीमा हुनुपर्छ । एकैचोटि ४ सय जनालाई परमिट दिइनु हँुदैन । तेस्रो सुझाव, सगरमाथा क्षेत्र, उचाइमा र भुइँमा धेरै नै फोहोर एकत्रित्त भएको अर्को गुनासो थियो । त्यसलाई आगामी आरोहणको मौसमअगावै व्यवस्थापन गर्न आवश्यक रहेको औँल्याइएको थियो ।

विदेशबाट आएर सगरमाथा आरोहणमा जाने सम्पूर्ण साहसीहरू नेपालका अनन्य मित्र हुन् । तिनको नेपाल आगमन हुँदा र ती प्रस्थान गर्दा नेपाल सरकारको पर्यटन विभागले तिनलाई विमानस्थलमा विशेष कार्यक्रमको आयोजना गरी आतिथ्यता प्रदान गरिनु उपयुक्त हुने पंक्तिकारलाई लागेको छ । हामीले त नेपाल भ्रमण दशक घोषणा गरेर उल्लेख्य केही गर्न सकेका छैनौँ, तर मित्रराष्ट्र चीनका नागरिकले यसको प्रचार–प्रसार गर्नुका साथै सम्भावित पर्यटकलाई नेपाल जान प्रोत्साहित गर्ने गरेको समेत सम्मेलनमा आएका चिनियाँ आरोही दलका सहभागीहरूले भनेका कुराले हाम्रो रुखो गफाडी नायक र मौन सगरमाथा तथा कान्छा शेर्पाको विरासत (लिगासी) अबेरसम्म मनमा घुमिरह्यो ।

प्रतिक्रिया दिनुहोस्