Logo

सुदूरपश्चिम लगानी सम्मेलनको प्रि–समिट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी असोजमा आयोजना गरिने लगानी तथा विकास सम्मेलनको प्रि–समिट आयोजना गरेको छ । प्रि–समिटमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले लगानीमैत्री कानुन बनाउन प्रतिवद्ध रहेको बताए । उनले प्रदेश सरकारको नीति तथा कार्यक्रमले लगानीका लागि स्रोतजन्य प्रोत्साहन गर्ने आवश्यक कानुनी व्यवस्था गर्न, सार्वजनिक निजी साझेदारी लगानी प्रवर्द्धन गर्न र एकद्वार लगानी सेवा प्रदान गर्दै लगानी प्रवर्द्धनमा पाइला चलाइसकेको बताए ।

‘सम्मेलनका लागि प्राथमिक क्षेत्र पहिचान गरी कृषि, पर्यटन, पूर्वाधार, ऊर्जा, मावन पुँजी, सूचना तथा प्रविधि र सेवा क्षेत्रमा लगानीमैत्री गन्तव्य प्रदेश बनाउने प्रयास गरिरहेका छौं,’ मुख्यमन्त्री शाहले भने, ‘विकास होलडे, भूमि व्यवस्थापन, सिंगल विन्डो क्लिसेन्स र प्रोजेक्ट बैंकका विषय कार्यान्वयनका लागि अगाडि सारिएका छन् ।’ मुख्यमन्त्री शाहले विकास साझेदारहरु, दाता राष्ट्रहरु र निजी क्षेत्रका यस यात्राको सहयात्री बन्न आह्वान गरेका छन् । उनले लगानीमैत्री वातावरणलाई मुलधारमा ल्याउने प्रयास गरेको बताए ।

कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम पहिलेको तुलना धेरै विकास भइसकेको बताइन् । उनले सुदूरपश्चिममा लगानी भित्र्याउनका लागि सम्मेलनले ठूलो भूमिका निर्वाह गर्ने बताउँदै यहाँ खानी, ऊर्जा, पूर्वाधार विकास, पर्यटन र उद्योगमा लगानी गर्न योग्य क्षेत्र रहेको बताइन् । ‘सुदूरपश्चिमको सशक्तीकरण लगानी, नवप्रवर्तन र उन्नति’ मूल नाराका साथ प्रदेश सरकारले लगानी तथा विकास सम्मेलन असोज १ र २ गते आयोजना गरिने छ ।

सो सम्मेलनको पूर्वतयारीका लागि आयोजित प्रि–समिटमा एसियाली विकास बैंकका डा. जोन हम्मेलले एकीकृत पर्यटन तथा अर्थतन्त्र विषयक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो प्रतिवेदनलगायत विभिन्न प्रस्तुतीहरु गरिएका थिए । प्रि–समिट अघि बुधबार सहभागीले कञ्चनपुरमा निर्माणाधीन सुख्खा बन्दरगाह र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन गररेका थिए ।

कार्यक्रममा संघीय सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलयागत विकास साझेदार संस्थालगायत सरकारी निकाय र निजी क्षेत्रको सहभागिता थियो । लगानी बोर्डको भूमिका, सार्वजनिक निजी साझेदारी विषयमा लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्रस्तुती गरेको कार्यक्रममा लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी निर्देशक सुशील भट्ट मुख्य वक्ता थिए ।

उद्योग, खानी, खनिज, शिक्षा तथा स्वास्थ्य, पूर्वाधार तथा यातायात, कृषि तथा जडिबुटी, ऊर्जा, सञ्चार प्रविधि र पर्यटनलगायतका क्षेत्रका आयोजना सम्मेलनमा शोकेस गर्ने सम्मेलन आयोजक मुल समितिले जनाएको छ । समितिले पर्यटन क्षेत्रका १२, उद्योग तथा खानी क्षेत्रको १०, कृषि क्षेत्रका १८, वन क्षेत्रका २, भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका ५, ऊर्जा क्षेत्रका २, सूचना प्रविधि क्षेत्रका ३ र शिक्षा क्षेत्रका ३ गरी ५५ आयोजना सूचिकृत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्