एशियन पेन्ट्सद्वारा क्यालिडोस्कोप पुरस्कार वितरण

काठमाडौं- एशियन पेन्ट्सले बुधबार एक भव्य समारोहबीच १२औं क्यालिडोस्कोप– नेपाल वास्तुकला तथा आन्तरिक डिजाईन प्रतियोगिता २०८१/८२ को पुरस्कार वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यो प्रतियोगिता नयाँ पुस्ताका प्रतिभाशाली डिजाइनरहरूको उत्साहवर्द्धन र उनीहरूलाई व्यावसायिक अभ्यासतर्फ अग्रसर गराउने उद्देश्यका साथ आयोजना गरिएको हो ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री माननीय तेजु लाल चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने किर्तिपुर नगरपालिकाका नगरप्रमुख कृष्ण मान डंगोल विशिष्ट अतिथिका रूपमा सहभागी थिए । सो अवसरमा देशभरका प्रतिष्ठित आर्किटेक्चरल कलेजका वरिष्ठ प्राध्यापकहरू, पूर्व विजेता, प्रतियोगितामा सहभागी विद्यार्थीहरू तथा ख्यातिप्राप्त आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूको समेत उपस्थिति थियो ।
क्यालिडोस्कोप प्रतियोगिताको मूल उद्देश्य शैक्षिक संस्था र उद्योगबीच सहकार्य गर्दै विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सृजनशीलता, र पेशागत तयारीमा सशक्त बनाउनु हो । यस प्रतियोगिताले विद्यार्थीहरूलाई वास्तविक परियोजनाहरूमा काम गर्ने अवसर प्रदान गर्दै तिनीहरूको क्षमता उजागर गर्न मद्दत पुर्याउँछ ।
यस वर्षको प्रत्यक्ष परियोजना किर्तिपुर नगरपालिकाको सहकार्यमा विकास गरिएको १२,८८० वर्ग मिटर क्षेत्रफलमा फैलिएको अन्तर्राष्ट्रिय फुटसल स्टेडियमको अवधारणात्मक डिजाइन रहेको थियो । उक्त परियोजनामा सहभागीहरूले नवीनतम डिजाइन सिद्धान्तहरू प्रयोग गरी स्थायित्व, कार्यक्षमता र स्थानीय सन्दर्भको सम्मान गर्ने चुनौती सामना गरे ।
एशियन पेन्ट्सले शैक्षिक र व्यावसायिक क्षेत्रबीचको सहकार्यलाई प्रोत्साहित गर्दै युवाहरूलाई सिर्जनात्मक चुनौतीहरू मार्फत सशक्त बनाउन निरन्तर प्रयत्न गर्दै आएको छ । क्यालिडोस्कोपको १२औं संस्करणले पुन: एकपटक युवा प्रतिभालाई सम्मान गर्ने तथा उद्योगसँग जोड्ने एक सफल प्रयासको रूपमा चिनिएको छ ।