Logo

भाटभटेनी समूहद्वारा भैरहवामा गार्मेन्ट उद्योग शिलान्यास

काठमाडौं- भाटभटेनी समूहले भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको छ । समूहका अध्यक्ष मीनबहादुर गुरुङ, व्यवसायी उमेश श्रेष्ठसहितको टिमले भूमि पूजासहित बुधबार उद्योगको शिलान्यास गरेको हो ।

”यस नयाँ परियोजनाले भाटभटेनीको व्यापारिक विविधीकरणमा एक महत्त्वपूर्ण कदम चालेको छ भने नेपालको औद्योगिक वातावरण सुधारोन्मुख रहेको सकारात्मक सन्देश प्रवाह गरेको छ” भाटभटेनीका सीओओ पानु पौडेलले भने । यस उद्योगले करिब एक हजार दुई सय रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।

स्थानीय जनशक्तिको परिचालन गर्दै त्यस क्षेत्रको आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य लिइएको भाटभटेनीले जनाएको छ । अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने यस उद्योगमा आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहने गरी निर्माण गरिने भएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुरुप बन्ने कारखानाले विशेषत: भाटभटेनीका स्टोरहरुमार्फत् स्थानीय बजार तथा अन्तर्राष्ट्रिय बजारको लागि तयारी पोशाकको उत्पादन गर्ने लक्ष्य लिएको पौडेलले जानकारी गराए । ”यस परियोजनाले भाटभटेनीको स्थानीय उत्पादन, बजारीकरण र रोजगारीलाई बढाउने रणनीतिक योजनालाई विस्तार गर्न मात्र होइन, नेपालका औद्योगिक नीति र वातावरण सुधार हुँदै गएको सकारात्मक सन्देश दिने एउटा माध्यम बन्नेछ भन्ने विश्वास पनि लिएको छु” उनले भने ।

प्रतिक्रिया दिनुहोस्