चुरे क्षेत्रका सुखड खडा काठ व्यवस्थापन आवश्यक

सरकारले चुरे क्षेत्रमा रहेको सुखड तथा ढलेका काठ व्यवस्थापन गर्न नीति बनाउन नसकेको भन्दै नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले आपत्ति जनाएको छ । सरकारलाई चुरे क्षेत्रमा अर्बौं मूल्य बराबरको काठ सडेर गइरहेको भन्दै पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले सुनुवाइ नगरेको भन्दै महासंघले आपत्ति जनाएको हो ।
महासंघका अनुसार स्वदेशी काठले नेपाली बजारको मागअनुसार आपूर्ति व्यवस्थापन गर्न अपुग भएकाले विदेशी काठ आयात भइरहेको छ । सरकारले स्वदेशी काठ व्यवस्थापनमा गरेको अटेरीका कारण स्वदेशकै जंगलमा अर्बौं मूल्यका काठ सडाएर विदेशी काठ आयात भइरहेको भन्दै महासंघले आपत्ति जनाएको हो । महासंघका अध्यक्ष श्यामसुन्दर ढकालले सरकारले समयमा नै वन क्षेत्रको काठ व्यवस्थापन गर्न नसक्दा काठ सडेर गइरहेको र अर्बांै मूल्यका काठ बर्सेनि आयात भइरहेको भन्दै समयमा नै काठ व्यवस्थापन गर्न माग गरेका छन् । “चुरे क्षेत्रमा बर्षौंदेखि लाखौं क्यूफिट काठ ढलेर सड्ने अवस्थामा पुगेको छ, खोइ व्यवस्थापनमा सरकारको चासो ?,” उनले भने, “काठ सडाएर फाल्दैमा प्राकृतिक संरक्षणमाा असर पुग्ने त होइन, सरकारले समयमा नै काठ व्यवस्थापन गर्ने हो भने काठ आयात प्रतिस्थापन सम्भव पनि छ ।” चुरे क्षेत्रमा सुखड खडा काठ संकलन तथा व्यवस्थापनका लागि पटकपटक सरकारलाई ज्ञापनपत्र बुझाउँदा पनि सुनुवाइ हुन नसकेको उनको गुनासो छ ।
वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले मुद्दाका कारण अधिकांश काठ वन क्षेत्रमा नै अलपत्र परेको स्वीकार गरेका छन् । “जंगलमा नै काठ सडेर गइरहेको भन्ने कुरा सत्य हो, व्यवस्थापन गर्न नचाहेको होइन,” उनले भने, “तर अदालतमा मुद्दा परेका कारण पनि व्यवस्थापनमा चुनौती भएको हो ।”