युनिलिभर नेपाल र हेटौंडा उप–महानगर ३ नम्बर वडाबीच सम्झौता

काठमाडौं– युनिलिभर नेपाल लिमिटेडले हेटौंडा उप–महानगर वडा–३ का वडाध्यक्ष ढलकबहादुर थापासँग स्थानीय पूर्वाधार विकासमा सहयोग पुर्याउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरेको घोषणा गरेको छ ।
युनिलिभर नेपालको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक प्रकोप न्यूनीकरण तथा उद्धारसँग सम्बन्धित कार्यको रुपमा डांगडुंगे खोलामा निर्मित पर्खालको विस्तार कार्यका लागि गरिएको हो । समझदारीपत्रमा युनिलिभर नेपालका फ्याक्ट्री म्यानेजर सञ्जय भट्टाचार्य र वडा–३ का वडाध्यक्ष ढलकबहादुर थापाले हस्ताक्षर गरे ।
सम्झौताअनुसार कम्पनीले डांगडुंगे खोलाको अधुरो पर्खाल निर्माण सम्पन्न गर्न कुल ६० लाख रुपैयाँ सहयोग गर्नेछ । परियोजना स्थानीय समुदायका सरोकारवालाको औपचारिक अनुरोधका आधारमा अघि बढाइएको युनिलिभरले जनाएको छ । कार्यक्रममा हेटौंडा उप–महानगरका मेयर मीनाकुमारी लामा, वडा–३ का सम्पूर्ण जनप्रतिनिधि, कम्पनीका कानुन प्रमुख गोविन्द शाहीलगायत उपस्थित थिए ।