उठिल्या–एैरेनी सिँचाई आयोजनाको प्रगति ८० प्रतिशत

जुम्ला– जुम्लामा निर्माणधिन उठिल्या–एैरेनी बहुवर्षिय सिँचाई आयोजना निर्माणको भौतिक प्रगति ८० प्रतिशत भएको छ । निर्माण सुरु भएको दुई वर्षको अवधिमा आयोजनाको भौतिक प्रगति ८० प्रतिशत भएको छ । जुम्लाकै सबैभन्दा ठूलो सिँचाई आयोजनाका रुपमा रहेको उठिल्या–एैरेनी बहुवर्षिय सिँचाई आयोजना खानेपानी, सिँचाई तथा उर्जा विकास कार्यालय जुम्लाले निर्माण गरिरहेको छ ।
बाँझिदै गएका खेतीयोग्य जमिनमा सिँचाई विस्तार गरी उत्पादन बढाउने उद्देश्यले कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालयको ५ करोड भन्दा बढीको लागतमा उठिल्या–एैरेनी आयोजना निर्माण भइरहेको खानेपानी, सिँचाई तथा उर्जा विकास कार्यालय जुम्लाका प्रमुख अकलबहादुर महतले बताए ।
उनका अनुसार चन्दननाथ नगरपालिका–९ देखि तातोपानी गाउँपालिका–५ को एैरेनीसम्म ४.५ किलोमिटर लामो सिँचाई कूलोमध्ये पहिलो प्याकेजमा २ किमी सिँचाई कूलो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कूल ९ करोड २४ लाख ११ हजार बराबरको स्टमेट स्वीकृत भएकोमा पहिलो प्याकेज निर्माण कार्यका लागि रुद्रावति निर्माण सेवा धनगडीसँग पाँच करोड १२ लाख २२ हजारमा ठेक्का सम्झौता भएको छ ।
२०८० जेठ १४ गतेबाट निर्माण सुरु भएको बृहत्त सिँचाई आयोजना आगामी २०८३ जेठ २८ गते सम्पन्न गर्ने सम्झौता भएको छ । कार्यालय प्रमुख महत भन्छन्, ‘हामीसँगै अझै एक वर्ष बाँकी छ । आयोजनाको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगती ६० प्रतिशत भएको छ । अहिले रोपाईँ सुरु भएका काम रोकिएको छ । दसंै तिहार लगत्तै काम सुरु भई निर्धारित समयमै सम्पन्न हुन्छ ।’
कूल ५ करोड १२ लाखमध्ये हालसम्म ३ करोड २६ लाख खर्च भइसकेको छ । पहिलो प्याकेजअन्तरर्गत २ किलोमिटर नहर निर्माण, हेडवक्स निर्माण र पानी प्रवेशद्वारको गेट निर्माण भइसकेको छ । चन्दननाथ–९ देखि तातोपानी–५ सम्म ४.५ किमी लामो नहरमध्ये पहिलो प्याकेजमा उठिल्यादेखि श्रीनगरसम्म २ किमी नहर निर्माण भएको छ ।
स्टेमनुसार आयोजनाको गुणस्तरदेखि निर्माण सामग्रीको गुणस्तरका विषयमा नियमित अनुगमन तथा निरीक्षणलगायतका काम भइरहेको कार्यालय प्रमुख महतले उल्लेख गरे । रोपाई सुरु भएपछि नहरको तल्लो भागमा सरिया बिछयाएको र कंक्रिट हाल्न नपाउँदै किसानले पानी छोडेपछि काम रोकिएको कार्यालयले जनाएको छ । पहिलो प्याकेजको काम सकिए लगत्तै दोस्रो प्याकेज निर्माण स्वीकृतिको प्रक्रिया अघि बढाइने छ ।
बहुवर्षिय आयोजना भएकाले बजेटको समस्या नहुने अपेक्षा गरिएको छ । यद्दपि बजेट स्वीकृति गराउन कार्यालय प्रमुखहरुले प्रदेश मन्त्रालयमा सधैं धाउनुपर्ने अवस्था छ । उठिल्या–एैरेनी बहुवर्षिय सिँचाई आयोजना निर्माणपछि चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाको ९० हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा विस्तार हुने भएको छ ।
सिँचाई अभावले बाँझिएका खेतीमा आयोजना निर्माणपछि सिँचाई सुविधा पुग्ने र उब्जनी बढ्ने आशामा किसान छन् । स्थानीय लक्ष्मी कार्की भन्छन्, ‘परम्परागत कुलोमा थोरै पानी आउने र वर्षामा भत्किने समस्याले सिँचाईमा समस्या थियो । अहिले ठूलो सिँचाई आयोजना बन्न थालेपछि विगतको जस्तो समस्या नहुने आशामा छौं । सिँचाई अभावले बाँझिएका जमिनमा अब खेती गरिने छ ।’