Logo

घट्टेखोला–देउराली–धम्पुस–खानीगाउँ सडक स्तरोन्नति सुरु

पोखरा– कास्कीको माछापुच्छ्रे–७ (धम्पुस) मा घट्टेखोला, देउराली, खानीगाउँसम्मको १३ किलोमिटर सडक स्तरोन्नतिको कार्य सुरु भएको छ । उक्त सडक स्तरोन्नतिअन्र्तगत साइड क्लियर र ढुंगा निकाल्ने कार्य जारी रहेको माछापुच्छ्रे–७ का वडाध्यक्ष बैकुण्ठप्रसाद भण्डारीले बताए ।

खानीगाउँ नजिकैको भीरबाट दुई वटा स्काभेटरसहित स्तरोन्नति थालिएको उनले बताए । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको ग्रामिण सम्पर्क सुधार परियोजना (आरसीआइपी) को ३० करोड १८ लाख ९४ हजार लागतमा सडक स्तरोन्नति गरी पक्की सडक बनाउन सुरु भएको हो । ६ मिटरको सडक बन्ने भएको छ भने ३.७५ सेन्टिमिटरको पिच हुने भएको हो ।

धम्पुसको विकासको मेरुदण्डको रुपमा रहेको उक्त सडकखण्ड निर्माणले धम्पुसबासीसहित माछापुच्छे्र–८ का स्थानीय लाभान्वित हुने अध्यक्ष भण्डारीले विश्वास व्यक्त गरे । माछापुच्छ्रे–८ को अर्को पर्यटकीय ल्वाङ गाउँको सीमानासम्म अहिले सडक पुग्ने र ल्वाङबाट दुई किमी सडक निर्माण भइरहेकाले ल्वाङ, खोराकोमुख हुँदै गाउँपालिका केन्द्र र पोखरा बजार पुग्न सहज हुने उनले बताए ।

आरसीआइपी परियोजना पोखराका प्रमुख लक्ष्मी भण्डारीले आगामी दुई वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने गरी गत फागुनमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको बताए । उनले भने, ‘यस सडक बनाउनका लागि धेरै क्षेत्रबाट पहल भयो । यसै क्षेत्रका प्रदेशसभा सदस्य गण्डकीका तत्कालीन अर्थमन्त्री रामजीप्रसाद बरालको समयमा यसले मूर्तरुप लिएको हो । गाउँपालिका, यस क्षेत्रका सांसदहरु र धम्पुसबासीको निरन्तरको मेहिनत सफल भएको छ । सडक निर्माणसँगै धम्पुसको मुहार फेरिने छ, यो हाम्रो विकासको लाइफ लाइन हो ।’

निर्माण कम्पनीका नरेन्द्र बाँस्तोलाले एक महिनादेखि सडक निर्माण खानीगाउँ क्षेत्रबाट सुरु भएको बताए । ठेक्का सम्झौताको दुई वर्षभित्र बाटो निर्माण गरिने उनले बताए । खानीगाउँ र घट्टेखोला दुवैतर्फबाट बाटो निर्माण गर्न तोकिएको म्याद भित्रमा पूरा हुने बाँस्तोलाले विश्वास व्यक्त गरे । काममा कुनै अवरोध नभएको खण्डमा निर्धारित मितिमा उक्त सडक निर्माण गर्ने बताउँदै उनले ३ किलोमिटरको सर्वे सकिएको उल्लेख गरे । वर्षाको समयमा पनि काम निरन्तर गर्ने उनले बताए । घट्टेखोला–धम्पुस–खानीगाउँ सडकको वि.स.२०६१ मा ट्रयाक खुलेको हो ।

पर्यटकीय गाउँमा दुई दशकपछि पक्की सडक निर्माण कार्य सुरु भएसँगै स्थानीयसमेत उत्साहित भएका छन् । धम्पुस पर्यटकीय गाउँका साथै विश्व प्रख्यात मर्दी हिमाल र अन्नपूर्ण आधार शिविरको प्रवेशद्वारसमेत हो । धम्पुसबाट दर्जर्नौ हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । यहाँको गुरुङ संस्कृति र प्राकृतिक सुन्दरतामा रमाउन पर्यटक धम्पुस पुग्ने गरेका छन् ।

पर्यटक आगमन बढेसँगै यहाँ सुविधासम्पन्न होटल तथा लजहरु खुलिसकेका छन् । स्वच्छ र चिसो एवं हरियाली वातावरण भएकाले सो क्षेत्रको सडक निर्माणले धम्पुस क्षेत्रको विकासमा कोषेढुंगा सावित हुने स्थानीय मेखबहादुर विश्वकर्माले बताए । उक्त सडक निर्माण कार्य सुरु भएसँगै स्थानीयमा आशा पलाएको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्