राजमार्गका ८६३ ठाउँ पहिरो जान सक्ने पहिचान

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो वर्षको मनसुन अवधिमा पहिरो जान सक्ने राष्ट्रिय राजमार्गका सम्भावित ८६३ स्थान पहिचान गरेको छ ।
देशभरका चार वटा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयमार्फत संकलन गरिएको विवरणअनुसार कोशी प्रदेशमा पर्ने सडकका ७४ स्थानमा पहिरो गई सडक अवरुद्ध हुन सक्नेछ । त्यस्तै, बागमती र मधेश प्रदेश पर्ने सडकमा ३५३ ठाउँमा पहिरो जान सक्नेछ भने गण्डकी र लुम्बिनी प्रदेशमा पर्ने सडकमा ५९ स्थानमा सडक पहिरो जान सक्ने सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका सडकमा भने सबैभन्दा धेरै ३७७ स्थानमा पहिरो जान सक्ने देखिएको सडक विभागका महानिर्देशक विजय जैसीले जानकारी दिए । यसरी जान सक्ने पहिरोबाट २ हजार ३०५ किलोमिटर सडक मर्मत र पुनर्निर्माण गर्नुपर्ने अनुमान छ । ‘यो विवरण वर्षात्को पूर्वतयारीस्वरुप विभागले अघिल्ला वर्षहरुमा पहिरो गएको स्थान पहिचान र अन्य प्राविधिक अध्ययनमा आधारित भएर गरेको हो,’ महानिर्देशक जैसीले भने ।
विभागले अघिल्लो वर्ष गएको बाढीले अझै पुनस्र्थापना हुन नसकेको विपी राजमार्गलाई उच्च जोखिमयुक्त सडकको रुपमा पहिचान गरेको छ । यो राजमार्गको १८ स्थानमा पहिरो जान सक्ने गरी पहिचान गरिएको छ । त्यस्तै, अरनिको राजमार्गमा पर्ने कोठे, जुरे, महाभिर, डाक्लाङ, झ्याले, कोदारी र लिपिङलगायत १२ ठाउँमा पहिरोको जोखिम छ । अर्कोतर्फ थानकोट चित्लाङ सडकको नौखडे, चन्द्रागिरि भञ्ज्याङ लगायतका स्थानमा पहिरोको जोखिम देखिएको छ । कान्ति राजमार्गको पनि ठिंगन, चपली ललितपुर, टारकुर्चे, नयाँगाउँ, तीनपाने लगायत ७ ठाउँमा पहिरोको जोखिम पहिचान गरिएको छ ।
स्थानअनुसार सरदरभन्दा ६५ प्रतिशतसम्म बढी वर्षा हुने अनुमान
जल मौसम तथा मौसम विज्ञान विभागले १८ जेठदेखि नेपालमा मनसुन सक्रिय भइसकेको जानकारी दिएको छ । सामान्यतयाः नेपालमा जेठ १८ देखि असोज १४ गतेसम्म मनसुन सक्रिया हुने आँकलन गरिन्छ । यो वर्ष देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने विभागका महानिर्देशक कमलराज जोशीले बताए । ‘स्थानअनुसार सरदरभन्दा न्यूनतम ३५ देखि अधिकतम ६५ प्रतिशत बढी वर्षा हुने आँकलन छ,’ उनले भने । यो वर्ष सरदरभन्दा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बढी वर्षा हुने अनुमान छ । बागमती र कोशी प्रदेशको पनि हिमाली क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुनेछ । यी क्षेत्रमा बढी पानी पर्दा तराईमा डुबानको समस्यामा वृद्धि हुने आँकलन गरिएको छ ।
राजमार्ग अवरुद्ध भए तत्काल खुलाउन २७७ मेसिन तैनाथ
सडक विभागले बर्खामा बाढी, पहिरो, डुबान लगायतका समस्याले राजमार्ग अवरुद्ध भए अवरोध हटाई यातायात सुचारु गर्न २७७ मेसिन सञ्चालनमा ल्याउने तयारी गरेको छ । ती मेसिनमध्ये १५४ वटालाई सम्भावित पहिरो वा बाढी जाने ठाउँमा खटाइसकिएको छ भने १२३ वटालाई तयारी अवस्थामा राखिएको सडक विभागका महानिर्देशक जैसीले जानकारी दिए । विभागले मनसुनको बेला चुस्तदुरुस्त राख्नुपर्ने सडक ७ हजार ५९१ दशमलव ५४ किलोमिटर छ । खटाइएको एउटा मेसिनको भागमा ४९.२९ किलोमिटर लम्बाइको सडक पर्छ ।
सडक विभागसँग भएका मेसिनहरुमा ७१ वटा ह्विल लोडर, ६३ वटा ब्याकहो लोडर, ४६ वटा एस्काभेटर, ६ वटा ट्रयाक डोजर, ४५ वटा टिपर ट्रक, १५ वटा ट्रान्सपोर्टर र ३१ वटा अन्य मेसिन रहेका छन् । ती मेसिनलाई आवश्यकता र औचित्यका आधारमा उपयुक्त स्थानमा खटाइएको विभागले जनाएको छ ।
क्षति पुगेका १४ अर्बको सडक र पुल पुनर्स्थापनाको काम अझै सुरु भएन
पूर्वतयारी र खरिद व्यवस्थापनको काम समयमा नहुँदा अघिल्ला वर्षहरुमा क्षति भएका सडक तथा पुल पुनस्र्थापना र मर्मत गर्ने काम थालनीमा विलम्ब भएको छ । विशेषगरी अघिल्लो वर्ष असोज १० देखि १३ गतेसम्म देशका विभिन्न स्थानमा परेको अविरल वर्षाले सडक सञ्जाल नै अवरुद्ध बनाएको थियो । त्यसरी अवरुद्ध भएको सडक सञ्जाल वैकल्पिक व्यवस्था गरेर सञ्चालनमा ल्याएको भए पनि स्थायी संरचना निर्माणमा ढिलाइ भएको हो । सडक विभागले अहिलेसम्म बढी क्षति पुगेका १४ अर्ब १५ करोड रुपैयाँबराबरको स्रोत सुनिश्चितता प्राप्त गरेको ठेक्का व्यवस्थापनको काममै अड्किएको छ ।
अरनिको राजमार्गको विभिन्न खण्डको ४ प्याकेजमा ३ अर्ब रुपैयाँको खरिद प्रक्रिया अहिले बोलपत्र मूल्यांकनको चरणमा पुगेको छ । ठेक्का लागेर काम सुरु हुन थप समय लाग्नेछ । त्यस बेलासम्म यो वर्षको मनसुनले थप क्षति पुर्याउने सम्भावना छ । अघिल्लो वर्ष अधिक क्षति पुगेको विपी राजमार्गमा पनि ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चितता प्राप्त गरी ४ प्याकेजमा ठेक्का व्यवस्थापनको काम भइरहेको छ । तीन प्याकेजको मूल्यांकन चरणमा पुगेको छ भने एउटाको लागत अनुमान स्वीकृतिको चरणमा रहेको सडक विभागले जनाएको छ ।
त्यसैगरी खुर्कोट मिल्ती सडक र मेची राजमार्गमा क्रमशः ४० करोड र ६० करोडको बोलपत्र मूल्यांकनकै चरणमा रहेको छ । यसबाहेक इलाम माइपोखरी सन्दकपुर सडक, किर्नेटार जफे सडक र भकुण्डेबेसी तिमाल सिन्दुरेटार सडकमा पनि क्रमशः ५०, ४५ र ४५ करोडको बोलपत्र मूल्यांकनको चरणमा रहेको छ । कुल २५ करोडको थानकोट चित्लाङ सडक मर्मतको लागि ठेक्का सम्झौताको लागि निर्माण व्यवसायीलाई पत्राचार गरिएको र चाँडै मर्मतको काम थाल्ने महानिर्देशक जैसीले बताए । विभागले दुई जेठमा निर्माण व्यवसायीलाई पत्र पठाएको हो ।
बागमती नदीमा जोखिम घटाउन गेग्रान हटाउन सुरु
सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्षात्को मौसममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै बागमती नदीमा गेग्रान हटाउन सुरु गरिएकोे बताएका छन् । पूर्वाधार विकास समितिमा मंगलबार उनले सम्भावित जोखिम रहेका ठाउँहरुमा अहिले काम भइरहेको जानकारी दिए ।
वर्षात्को पूर्वसन्ध्यामा मन्त्रालय अन्तर्गत देशभर रहेका स्थानीय सडक, पुल र बेली ब्रिज लगायत पूर्वाधारमा हुन सक्ने क्षति न्यूनीकरण गर्न विगतमा भएका घटनाबाट पाठ सिक्दै मन्त्रालयले पूर्व तयारी गरिरहेको मन्त्री सिंहले जानकारी दिए । उपत्यकामा नदीको सतह घटाउन अधिकार सम्पन्न बागमती बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदीमा काम सुरु गरिसकेको उनले बताए । बागमती सभ्यताका आयोजना निर्देशक नारायणप्रसाद भण्डारीका अनुसार नख्खु क्षेत्र, बालकुमारीदेखि मनोहरा दोभानसम्मको क्षेत्रमा गेग्रान हटाउने काम भइसकेको छ । अहिले बल्खु क्षेत्र, सुन्दरीजलभन्दा तल गोकर्ण क्षेत्र र गुहेश्वरी क्षेत्रमा नदीबाट गेग्रान हटाउने काम भइरहेको छ ।
१० वर्षमा साढे ८ हजार विपद्जन्य घटना
विगत १० वर्षमा नेपालमा ८ हजार ४ सय १८ वटा विपद्जन्य घटना भएका छन् । यी घटनाबाट २ हजार ३ सय १७ जनाको निधन भएको छ । त्यस्तै, ४ सय १९ जना बेपत्ता भएका छन् भने २ हजार ६ सय ४९ जना घाइते भएका छन् ।
गत वर्षको मनसुनमा ७७ वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएको थियो । २०८१ असोज १० देखि १३ गतेसम्मको अवधिमा २ सय ५० जनाको मृत्यु भएको थियो भने ४५ अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो । गत वर्षमात्रै २ हजार १ सय ३८ वटा विपद्जन्य घटनाबाट ४ सय ९५ जनाको ज्यान गएको थियो । ६६ जना बेपत्ता भएका थिए ।
क्षति न्यूनीकरण गर्न सरकारले नेपाली सेनाबाहेक १७ हजार ७ सय जनशक्ति परिचालन गर्ने भएको छ । मंगलबार सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गरी मनसुनजन्य विपद् न्यूनीकरण, विपद्पछि हुने राहत र उद्धारका लागि नेपाल प्रहरीबाट १० हजार ८५ र सशस्त्र प्रहरी बलबाट ७ हजार ६ सय १५ जनशक्ति तयारी अवस्थामा राखेको प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बास्तोलाले बताए । नेपाली सेनाले पनि सोहीअनुसार जनशक्ति तयार पारेको उनले जानकारी दिए । मनसुन प्रतिकार्य कमाण्ड पोस्टको कार्यजिम्मेवारी विगतमा स्पष्ट नरहेकोमा यो वर्ष संघमा मात्र नभई प्रदेश, जिल्ला र स्थानीय तहमा रहनेछ ।