पोखरामा अलपत्र यात्रुलाई प्रहरी सुरक्षामा गन्तव्य पठाइयो

पोखरा– यातायात व्यवसायीको बन्दका कारण पोखरामा अलपत्र परेका यात्रुलाई प्रहरी स्कर्टिङ गरेर गन्तव्यमा पठाइएको छ । सोमबार यातायात बन्द हुँदा पोखरामा अलपत्र यात्रु तथा पर्यटकलाई स्कर्टिङ गरी गन्तव्य पठाएको कास्की प्रहरीले जानकारी दिएको हो ।
प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेत र सशस्त्र प्रहरी निरीक्षक रमेश कँडेलको कमान्डमा खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगर–७ मा पर्यटक बसपार्कबाट पाँच सय ६४ अलपत्र यात्रुलाई विभिन्न स्थानमा पठाएको हो । काठमाडाैंका लागि १४ सवारीसाधन र पोखराबाट नारायणगढका लागि तीन वटा गरी १७ वटा सवारीलाई प्रहरी स्कर्टिङसहित गन्तव्यतर्फ पठाइएको छ ।
गण्डकी प्रदेश सरकारले इनड्राइभ, टुटल, पठाओलगायतका राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा यातायात व्यवसायीले आजदेखि देशभर यातायात सेवा ठप्प पारेका छन् । यातायात व्यवसायीले आफ्ना गाडी ग्यारेजमा थन्काएर राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति रद्द गर्नुपर्नेलगायत माग राख्दै सातै प्रदेशमा सार्वजनिक यातायातका सेवा ठप्प पारेपछि जनताले सास्ती भोग्नुपरेको छ ।
प्रदेश सरकारले उक्त नियमावली कुनै पनि हालतमा फिर्ता नगर्ने प्रस्ट पारेको छ । पोखरा क्षेत्रका पर्यटन उद्यमी, व्यवसायीले वार्ताबाटै निकासका लागि आग्रह गर्दै यातायात सेवा तत्काल सुचारु गर्न आह्वान गरेका छन् । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन आह्वान गरेको छ । तर, व्यवसायी वार्तामा गएनन् ।
मन्त्रालयका सचिव एवं वार्ता समिति संयोजक कमलकुमार अधिकारीले बन्द हड्तालका कार्यक्रम स्थगित गरी वार्तामा आउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई पुन: आह्वान गरिएको जानकारी दिए । काठमाडौंमा भने यातायात व्यवसायीसँग वार्ता गर्न मन्त्रालयले सचिव अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो । पोखरामा यातायात बन्दका बेला बढी भाडा असुल्ने इनड्राइभका केही चालकलाई प्रहरीले पक्राउ गरी कारबाही थालेको छ ।
पोखरामा राइड सेयरिङमा यात्रुसँग बढी भाडा असुल्ने चालकलाई पक्राउ गरी कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यात्रु गुनासाका आधारमा कास्की प्रहरीले पोखराका विभिन्न ठाउँबाट आठ वटा सवारीसहित नियन्त्रणमा लिएर कारबाही गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले बताए ।
वार्ताबाटै समस्या समाधान खोजी गर्न आग्रह
होटल संघ पोखराले गण्डकी प्रदेशमा जारी सार्वजनिक यातायात सेवामा गरिएको हड्तालका कारण पर्यटक र समग्र यात्रुले दु:ख खेप्नुपरेको भन्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्न सम्बन्धित पक्षसँग माग गरेको छ । संघ अध्यक्ष लक्ष्मण सुवेदीले जारी गरेको विज्ञप्तिमा सरकार र यातायात व्यवसायी वार्तामा बसेर समस्या समाधान गर्न र यातायात सेवा सुचारु गर्न आग्रह गरिएको हो ।
पर्यटन व्यवसायीले विगतदेखि नै बन्द एवं हड्तालको विपक्षमा आवाज उठाउँदै आएको र यातायात बन्दले पर्यटन क्षेत्र प्रभावित हुनेतर्फ ध्यान दिन आग्रह गरेका छन् । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको, पोखराले अहिले भ्रमण वर्ष २०२५ मनाउँदै गरेको र अन्नपूर्ण प्रथम हिमाल आरोहणको हीरक महोत्सवसमेत मनाइरहेको अवस्थामा यातायात बन्दले पर्यटन क्षेत्र मारमा पर्ने संघको ठहर छ ।