विश्व खाद्य स्वच्छता दिवस
विषाक्त खाद्य पदार्थ उपभोगबाट विश्वमा चार लाख २० हजारको मृत्यु

काठमाडौं– विश्वमा हरेक वर्ष विषाक्त खाद्य पदार्थ उपभोगका कारण चार लाख २० हजार मानिसको मृत्यु हुने गरेको विवरण सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठनका तथ्यांकअनुसार विश्वमा प्रत्येक दसमध्ये एक जना मानिस विषाक्त खाद्य पदार्थ उपभोगका कारण बिरामी हुने र वार्षिक चार लाख २० हजारको मृत्यु हुने गरेको पाइएको हो ।
यस्तै, अस्वस्थकर एवं दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्म दुई सय बढी रोग लाग्ने संगठनको तथ्यांक छ । झाडापखालाबाट करिब ५५ करोड बिरामी हुने र दुई लाख ३० हजार मानिसको मृत्यु हुने गरेको छ । संगठनको अध्ययन, अनुसन्धानअनुसार तरकारी, फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपक्षीजन्य खाद्य पदार्थमा एन्टिबायोटिक अवशेष, खाद्यान्नमा ढुसीजन्य विषको समस्या रहेको औंल्याइएको छ ।
नेपालको हकमा छुट्टै अध्ययन नभएको हुँदा यकिनका साथ भन्न नसकिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । अध्ययनमा स्वास्थ्य क्षेत्र परेको हुँदा नेपालको हकमा विषाक्त खाद्य पदार्थ उपभोगका कारण विरामी भई मृत्यु हुनेको तथ्यांक नभएको उनले जानकारी दिए ।
प्रवक्ता महर्जनका अनुसार खाद्य सुरक्षा संवद्र्धनमा सबै पक्षको समन्वय र वैज्ञानिक आधारमा कार्यान्वयन अपरिहार्य छ । उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण खाद्य शृंखला सुरक्षित बनाउन वैज्ञानिक प्रमाण एवं प्रविधि प्रयोगमा जोड दिनुपर्ने उनको सुझाव छ । नेपालमा पनि विषादी, एन्टिबायोटिक र दूषित पदार्थ प्रयोगका कारण उपभोक्ता स्वास्थ्यमा गम्भीर असर परिरहेको उनले बताए ।
सप्ताहव्यापी मनाइँदै दिवस
‘खाद्य सुरक्षामा विज्ञानको सक्रियता’ नारासहित नेपालमा विश्व खाद्य स्वच्छता दिवस २०८२ सप्ताहव्यापी रूपमा मनाउन सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा जेठ १८ देखि २४ सम्म देशभर विविध चेतनामूलक कार्यक्रम सञ्चालन गरी यो दिवस मनाइँदै आएको हो । सन् २०१९ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ७ तारिखमा विश्व खाद्य स्वच्छता दिवस मनाउने गरिएको छ ।
दिवसले सुरक्षित र गुणस्तरीय खाद्यका लागि वैज्ञानिक पद्धति र सावधानी अपनाउनु आवश्यक छ भन्ने सन्देश दिन्छ । विभागले खाद्य सुरक्षामा वैज्ञानिक दृष्टिकोणको उपयोगलाई प्राथमिकता दिँदै कार्यक्रम अघि सारेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले उपभोक्तामाझ खाद्य स्वच्छतासम्बन्धी चेतना अझै न्यून रहेको भन्दै चेतना अभिवृद्धिका गर्न विश्व खाद्य स्वच्छता दिवस मनाउने गरिएको जानकारी दिए ।
सोमबार विभागले आयोजना गरेको पत्रकार सम्मेलन महानिर्देशक कर्णले खाद्य स्वच्छता कार्यक्रम केवल एक दिनका लागि सीमित नराखी वर्षभर चलाउने योजना रहेको बताए । ‘नेपालमा अझै खाद्यसम्बन्धी ज्ञान अभाव भएको हुँदा खाद्य सुरक्षाको अभियानमा पत्रकार तथा सरोकारवाला निकायबीच समन्वय आवश्यक छ । विभागले मातहतका ४३ कार्यालयलाई प्रभावकारी ढंगले परिचालन गरेको छ’, उनले भने । विभागका उप–महानिर्देशक सोमकान्त रिजालले बजार अनुगमनलाई नियमित रूपमा अघि बढाइरहेको जानकारी गराए ।
बजार अनुगमन सुधारात्मक, दण्डात्मक र सचेतनामूलक तीनवटै ढंगबाट गरिँदै आएको उनको भनाइ छ । चाडपर्वका बेला मात्रै नभई अन्य समय पनि निरन्तर निगरानी राखिएको उनले जानकारी दिए । रिजालले महानगर, जिल्ला प्रशासन र वाणिज्य विभागसँग समन्वय गर्दै अनुगमन गरिएको बताए । उनका अनुसार राजमार्गका होटल अनुगमनलाई विभागको वार्षिक कार्यक्रममा समावेश गरिएको छ । स्थानीय तहका प्रतिनिधिलाई पनि निरीक्षणसम्बन्धी तालिम दिइने भएको उनले बताए ।
विभागका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत स्कुलस्तरीय खेलकुद प्रतियोगिता मिनीफुटबल, ब्याडमिन्टन, टेबलटेनिस, चित्रकला र वक्तृत्वकला प्रतियोगिता, पत्रकार सम्मेलन तथा अन्तक्र्रिया, सडक नाटक, जनचेतनामूलक सामग्री वितरण, ह्याकाथन, खाद्य बजार अनुगमन, सिफारिस समिति बैठक, नीति संवाद र अन्तरक्रियात्मक गोष्ठी आयोजना गरिँदै छन् । यस्तै, प्रमुख सहरका होटल, रेस्टुराँ, फलफूल तथा तरकारी बजारमा खाद्य गुणस्तर परीक्षण तथा निगरानी पनि तीव्र पारिएको छ ।
खाद्य सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धिका लागि विभागले सबै तहका सरकारी निकाय, निजी क्षेत्र, उद्योग व्यवसाय, उपभोक्ता समूह, सञ्चारमाध्यम, अनुसन्धान संस्था तथा नागरिक समाजसँग सहकार्यका लागि आग्रह गरेको छ । संविधानले हरेक नेपालीका लागि खाद्यसम्बन्धी हक सुनिश्चित छ । सोहीअनुसार खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ जारी भएको छ ।