लुम्बिनीमा श्रीलंकन र थाइ पर्यटक बढे

भैरहवा– लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकमध्ये श्रीलंका र थाइल्याण्डका पर्यटक बढेका छन् । अन्य देशका पर्यटकका तुलनामा यी दुवै देशबाट प्रत्येक वर्ष लुम्बिनी आउने पर्यटकको संख्या बढ्दो क्रममा रहेको हो । श्रीलंका र थाइल्याण्ड दुवै बुद्ध धर्म मान्ने देश हुन् । चालु वर्षको जनवरीदेखि मेसम्म ५ महिनामा १२ हजार ८ सय ४१ जना श्रीलंकन पर्यटक लुम्बिनी आएका छन् भने सोही अवधिमा १२ हजार ६८ थाइ पर्यटक लुम्बिनी भित्रिएका छन् ।
वार्षिक रूपमा लुम्बिनी भ्रमणमा आउने सबैभन्दा बढी पर्यटक श्रीलंकन रहेका छन् । दोस्रो स्थानमा थाइल्याण्डका नागरिकहरू रहेका छन् । यी दुवै देशका नागरिकहरू प्राय स्थलमार्गको बेलहिया नाका हुँदै लुम्बिनी भ्रमणमा आउने गर्छन् । गत वर्ष सन् २०२४ मा २३ हजार ५ सय ६९ श्रीलंकन पर्यटक लुम्बिनी आएका थिए । सोही वर्ष थाइल्याण्डबाट २१ हजार ४ सय १६ जना लुम्बिनी आएका थिए ।
त्यसैगरी सन् २०२३ मा १६ हजार १ सय ७२ जना श्रीलंकन पर्यटक लुम्बिनी आउँदा १५ हजार ७ सय २१ जना थाइल्याण्डबाट आएका थिए । सन् २०२५ को जनवरीमा १ सय ९८, फेब्रुअरीमा ३ हजार ६ सय ८४, मार्चमा ८ हजार १ सय ६६, अप्रिलमा ६ सय ५५ र मे मा १ सय ३८ जना श्रीलंकन पर्यटक लुम्बिनी आएका थिए । त्यसैगरी थाइल्याण्डबाट जनवरीमा २ हजार ७ सय २०, फेब्रुअरीमा ४ हजार ६ सय २०, मार्चमा ४ हजार २ सय २, अप्रिलमा २ सय २३ र मे मा ३ सय ३ जना पर्यटक लुम्बिनी आएका छन् ।
श्रीलंकन र थाइ नागरिकहरू आफ्नो जीवनमा एक पटक लुम्बिनी जानै पर्ने मान्यता राख्छन् । त्यसैले पनि ती दुई देशबाट लुम्बिनी भ्रमणमा आउनेको संख्या अन्य देशका तुलनामा बढ्दै गएको लुम्बिनी विकास कोषका सूचना अधिकारी डा.हरिध्वज राईले जानकारी दिए । ती दुवै देशका नागरिकहरूको आस्थाको केन्द्रका रुपमा लुम्बिनी रहेको छ । अघिल्लो महिना १६५ जना थाइ नागरिक एक विशेष पूजाका लागी बैंककबाट थाइ एयर एसियाको जहाज चार्टर्ड गरी आएका थिए ।
ती दुवै देशबाट अर्थात् थाइल्याण्डको बैंकक र श्रीलंकाको कोलम्बोबाट साप्ताहिक रूपमा भए पनि सिधा उडान भैरहवा गर्न सके ती देशबाट पर्यटक अझ बढ्ने पर्यटन व्यवसायीहरूको भनाइ छ । थाइ एअर एसियाले साताको २ उडान बैंकक–भैरहवा सुरु गरे पनि अहिले बन्द छ । लुम्बिनीमा श्रीलंका र थाइ सरकारद्वारा निर्मित बिहार रहेको छ । थाइ सरकारद्धारा निर्मित राजकीय थाइ बिहार लुम्बिनीमा रहेका बिहारहरूमध्ये निकै आकर्षक मानिन्छन् । लुम्बिनी आउने जो कोही त्यहाँ पुग्ने गर्छन् ।