किसानलाई अनुदानमा प्रांगारिक मल वितरण

जुम्ला– जुम्लाका किसानलाई अनुदानमा जैविक प्रांगारिक मल वितरण गरिने भएको छ । लुकिछिपी हुने रासायनिक विषादी मलको प्रयोगलाई रोक्न तथा रैथाने उत्पादनलाई जोड दिन कृषि विकास कार्यालय जुम्लाले जैविक प्रांगारिक मल वितरण गर्ने भएको हो । जुम्लालाई २०६४ सालमा १४ औं जिल्ला परिषद्बाट अर्गानिक जिल्ला घोषणा गरिएको छ ।
त्यसयता जुम्लामा कुनै पनि बहानामा वा लुकिछिपी रासायनिक विषादी ब्युटाक्लोर प्रयोग गर्न प्रतिवन्ध छ । यद्यपि लुकिछिपी प्रयोग हुने गरेको पाइएको छ । अन्नबालीमा हुने विषादीको प्रयोगलाई रोक्न तथा अर्गानिक जिल्लाको पहिचान कायम राख्न किसानलाई अनुदानमा जैविक प्रांगारिक मल वितरण गर्न थालिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए ।
उनका अनुसार सबै कागजात पूरा गरी प्रक्रियामा आएका किसान, कृषि फर्म, कृषक समूह, तथा कृषि सहकारीकालाई ५० प्रतिशत अनुदानमा जैविक मल वितरण गरिने छ । अनुदानमा मल लिनका लागि प्रक्रियामा आउन सात दिने सूचना जारी गरिएको छ । निर्धारित समय भित्र दर्ता हुन आएका किसानलाई मल दिइने छ ।
कृषि विकास कार्यालय जुम्लाको चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा किसानलाई जैविक प्रांगारिक मल वितरण गर्न थालिएको प्रमुख अधिकारीले बताए । लुकिछिपी विषादी प्रयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउन प्रयास गरिरहेका छौं । उनले भने,‘अर्गानिक जिल्ला घोषणा भइसकेको जिल्लामा विषादी प्रयोग हुनु दुखद पक्ष हो । हाम्रो उत्पादनलाई पूर्ण रूपमा अर्गानिक र स्वादिष्ट बनाउन मलजल बिउविजनदेखि नै ध्यान दिनु जरुरी छ ।’
जुम्लामा ३९६ बोरा जैविक मल आइपुगेको छ । प्रति किसानलाई ५० किलोदेखि पाँच क्विन्टलसम्म मल दिने योजना छ । यद्यपि, किसानको माग र आवश्यकता मध्यनजर गरेर वितरण गरिने छ । प्रतिबोरा दुई हजार ५ सय रुपैयाँ मूल्य परे पनि किसानले एक हजार दुई सय ५० रुपैयाँमै पाउने छन् । बाँकी ५० प्रतिशत रकम कार्यालयले व्यहोर्ने भएको छ । जैविक प्रांगारिक मल वितरण कार्यक्रमका लागि चालु आवमा ६ लाख ८० हजार रुपैयाँ विनियोजन भएको छ ।
धानमा ब्युटाक्लोर रोक्ने अभियान
जुम्लाको तातोपानी गाउँपालिकाले अन्नबालीमा रासायनिक विषादी ब्युटाक्लोर प्रयोगलाई रोक्ने अभियान थालेको छ । अन्नबाली तथा फलफूलमा लुकिछिपी हुने विषादी प्रयोगलाई रोक्न अभियान थालिएको हो । जुम्लामा अन्य बालीभन्दा धानबालीमा ब्युटाक्लोर विषादी सबैभन्दा बढी प्रयोग हुने गरेको छ । जेठ लागेसँगै जुम्लामा मार्सीधान रोपाई सुरु भएको छ ।
धान रोपिसकेपछि गोडमेल गर्दा सहज र उत्पादन बढी हुने आशामा किसानले लुकिछिपी विषादी प्रयोग गर्ने गरेका छन् । जसका कारण क्षणिक उत्पादन बढी भए पनि माटोको उर्वरा शक्ति घट्नुका साथै महिलाको स्वास्थ्यमा असर परेको देखिएको छ । धानको पराल खाँदा पशुचौपाय समेत विरामी परेका छन् ।
अर्गानिक घोषित जिल्लामा किसानले लुकिछिपी विषादी प्रयोग गरिरहेको र त्यसले माटो,महिला र पशुचौपायको स्वास्थ्यमा पार्ने प्रतिकुल असरलाई ध्यानमा राखेर लुकिछिपी हुने रासायनिक विषादी प्रयोगमा रोक लगाइएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले बताए । सूचना जारी गर्दै तातोपानीमा आठै वटै वडा भित्र पर्ने लाछु ज्यूलो, लिताकोट, राँका, जर्मी, डागीबाडा, रावतबाडा, गौतमबाडा, गिडिखोला, एैरेनी लाम्रा र श्रीनगरलगायतका स्थानका ज्यूलोमा धानखेती भइरहेको छ ।
मार्सी फल्ने ज्यूलोमा पूर्ण रूपमा ब्यूटाक्लोर प्रयोगमा रोक लगाइएको छ । झारनाशक विषादीले जलचरदेखि मानिस र पशुपन्क्षीलाई समेत असर गर्ने भए पनि किसानले यसको प्रयोगलाई निरुत्साहित गर्न कडाइ गरेको अध्यक्ष चौलागाँईको भनाइ छ । तातोपानी गाउँपालिकाले धानबालीमा प्रयोग हुने विषादी रोकथाम र नियन्त्रणका लागि कार्यपालिकाबाट निर्णय भइसकेको छ ।
अध्यक्ष चौलागाँईले भने,‘पालिका आठ वटै वडामा विषादी नियन्त्रणका लागि जनशक्ति खटाएका छौं । लुकिछिपी विषादी प्रयोग गर्ने किसानलाई कारबाहीको दायरामा ल्याइने छ । गोप्य सूचना दिनेलाई पालिकाले पुरस्कारको समेत व्यवस्था गरेको छ ।’ धानमा आउने झार मार्न प्रयोग गरिने व्युटाक्लोर नामक झारनासक रासायनिक विषादीको प्रयोगले माटोको उर्वरा शक्ति घट्ने र उत्पादकत्वमा गिरावट आउने, मानव स्वास्थ्य र पशुचौपायको स्वास्थ्यमा समेत असर गरेको देखिएको छ ।