Logo

सिम्ता गाउँपालिकाका दुई सडक कालोपत्र गरिँदै

सुर्खेत– सुर्खेतको सिम्ता गाउँपालिका अन्तर्गतका २ वटा सडक कालोपत्रेको काम थालिएको छ । सहिद इन्द्र विसी द्रुत मार्ग कालो पत्र गर्न थालिएको छ भने सहिद ऋषि चक्रपथ सडकको कालोपत्रे अघिको बेस हाल्ने काम जारी छ । सिम्ता गाउँपालिकाले यी दुई सडकलाई गौरवका योजनाका रुपमा अघि सारेको छ ।

इन्द्र विसी द्रुत मार्ग वडा–५ गोजी आली हुँदै वडा– ९ को दुनी दह भएर छिमेकी चिंगाड गाउँपालिकासम्म जोड्ने सडक हो । यो सडकको साढे २ किलिमिटर खण्ड यस वर्ष कालोपत्र हुने गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले जानकारी दिए । अध्यक्ष चन्दका अनुसार उक्त सडकको लम्बाई करिब २२ किलोमिटर रहेको छ । सडकको निर्माण कार्य २०५३/०५४ बाट सुरु भई हाल अरु क्षेत्रमा ग्राभेल रहेको अध्यक्ष चन्दले बताए । बाँकी क्षेत्रको आगामी वर्ष स्तरोन्नतीका साथै कालोपत्रे गर्ने योजना रहेको उनले जानकारी दिए ।

सडक कालोपत्रको जिम्मा अंकित एण्ड जेनिसा जलजला गेमी जेभीले जिम्मा लिएको छ । कालोपत्रको काम चलिरहेको र एक हप्ता भित्रमा सम्पन्न हुने कम्पनीका सञ्चालक गणेश गुरुङले जानकारी दिए । यस्तै वडा–१ मा पर्ने सहिद ऋषि चक्रपथ सडकका कालोपत्र अघिको कार्य बेस हाल्ने काम भइरहेको छ । निर्माणको जिम्मा लिएको केवी गुरुङ कन्ट्रक्सन कम्पनीले दुई दिनभित्र बेस हालेर सकिने र चार पाँच दिनपछि कालोपत्र सुरु गर्ने जनाएको छ ।

कम्पनीका प्रतिनिधि इन्जिनियर सनम तजले असार असार १० गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए । सिर्जना बजार हुँदै खनेटा जोड्ने चक्रपथको पनि यस वर्ष साढे २ किलोमिटर कालोपत्रे गर्ने योजना रहेको अध्यक्ष चन्दले जानकारी दिए । अध्यक्ष चन्दका अनुसार दुईवटै सडकको गाउँपालिका र स्थानीय पूर्वाधार विकास कार्यक्रमको साझेदारीमा कालोपत्र थालिएको हो । सहिद इन्द्र विसी द्रुत मार्गको ४ करोड १५ लाखमा र ४ करोड ३५ लाखमा ठेक्का सम्झौता भएको छ ।

दुई वटै सडक यही असारसम्म सम्पन्न गर्नुपर्ने सम्झौता अवधि रहेको छ । गाउँपालिकाको गौरवका योजनाका रुपमा अघि सारिएको भन्दै स्तरोन्नती हुँदै कालोपत्रको कामलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने अध्यक्ष चन्दले बताए । सडक कालोपत्र भएपछि आउजाउ गर्नका लागि सहज हुनुका साथै स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पुग्ने गरिएको अध्यक्ष चन्दको भनाई छ ।

सिम्ता गाउँपालिकाले यी दुई सडकलाई गाउँपालिकाभित्रका मुख्य सडकका रुपमा लिएको छ भने अन्य सबै वडा जोड्ने गरी सडक निर्माण गरेको छ । गाउँपालिकाभित्र अधिकांश ठाउँमा ट्रयाक खोलिसकेको र अब ती सडक स्तरोन्नतीको कामलाई प्राथमिकता दिइएको अध्यक्ष चन्दले जानकारी दिए । सिम्ता गाउँपालिकाभित्र पर्ने छिञ्चु जाजरकोट सडक खण्ड बाहेक गाउँपालिका भित्रका यी दुई सडक नै पहिलो पटक कालोपत्र गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्