जंगली जोगाउन घरेलु कालिजपालन «

जंगली जोगाउन घरेलु कालिजपालन

सिन्धुपाल्चोक-जंगलमा पाइने कालिजको चोरी सिकारी रोक्न घरेलु कालिजपालन सुरु गरिएको छ । पछिल्लो समय आकर्षणमा रहेको जंगली कालिजको चोरीशिकारी हुन थालेपछि घरमै व्यावसायिक रूपमा पालन सुरु गरिएको हो ।
विशेषगरी पहाडी भेगभन्दा माथिल्लो स्थानमा पाइने जंगली कुखुरा (कालिज)को मासुको माग स्थानीयस्तरमा बढेको छ । लेक तथा पहाडी जंगलमा पाइने जडिबुटी खाएर हुर्कने कालिजको चोरी सिकारी हुँदा लोप हुने अवस्थामा पुगेपछि स्थानीय युवाले घरमै कालिजको व्यावसायिक पालन गरेका हुन् ।
जंगली कालिज जोगाउने मात्रै नभई गाउँमै रोजगारीको वातावरण सिर्जना पनि हुने र युवालाई विदेश पलायन रोक्ने उद्देश्यले कालिजपालन सुरु गरिएको हो । स्थानीय युवा मिलेर सुनकोसी गाउँपालिका–६ थुम्पाखरमा असोज दोस्रो साताबाट व्यवसाय थालनी गरिएको रामचन्द्र कार्कीले जानकारी दिए । “जंगलमा पाइने कालिजलाई लुकीछिपी चोरी सिकारी हुन्छ, यसको रोकथाम हुनुपर्छ भन्ने हामीले ठानेका छौं,” व्यवसाय सुरु गर्नुको एउटा कारण प्रष्ट्याउँदै रामचन्द्र भन्छन्, “जंगली कालिज जोगाउनु युवाको कर्तव्य पनि हो, स्थानीयले गैरकानुनी काम नगरुन् भनेर नयाँ व्यवसाय सुरु गरियो ।” उनले जंगली कालिजकै स्वाद दिलाउने हेतुले घरमै कालिजपालन सुरु गरिएको जनाए । गाउँकै अन्नलाई दानाको रूपमा प्रयोग गरेकाले जंगलमा पाइने कालिजको जस्तै स्वाद पाइने कार्कीको दाबी छ ।
यो व्यवसाय गाउँमै रहेका ७ कार्की परिवारका युवा मिलेर गरेका हुन् । उनीहरूले व्यवसायलाई भगवती वाइल्ड एण्ड क्याटल प्रोडक्ट प्रालि नामाकरण गरेका छन् । साँगाबाट रिङनेट जातको कालिजको ५३ वटा चल्ला ल्याएर सुरु गरिएको हो । असोजमा हालिएको चल्ला अहिले खानाका लागि योग्य भइसकेको कार्की बताउँछन् । जंगलमा देखेको कालिज काभ्रेको साँगा र पोखरामा रहेका साथीहरूको फार्ममा पालेको देखेपछि हाइड्रोपावर व्यवसायी रामचन्द्रको मनमा पनि आफ्नो गाउँमा कालिज पालन व्यवसाय गर्ने सोच पलाएपछि आफ्ना दाजुभाइको सल्लाहअनुसार व्यवसाय सुरु भएको हो ।
अर्का साझेदार यज्ञराज कार्कीका अनुसार मासुका लागि कालिज मात्र नभएर अण्डा र चल्लासमेत उत्पादन गर्ने लक्ष्यका साथ व्यवसाय सुरु गरिएको हो । “हामी मासुका लागि कालिजसहित चल्ला र अण्डा उत्पादनलाई पनि जोड दिन्छौं,” यज्ञले भने, “हामी मात्रै नभएर सिंगो गाउँ र आसपासलाई कालिजको हब बनाउने हाम्रो लक्ष्य हो ।”
राजधानीका विभिन्न रेस्टुराँमा मात्र नभई जिल्लाकै सुकुटेलगायतका पर्यटकीय क्षेत्रका होटलहरूले कालिज उपलब्ध गराउन आग्रह गरेको अर्का सञ्चालक मधुराम कार्की बताउँछन् । राम्रो उत्पादन नै सुरु नभई पर्याप्त माग आउन थालेको उनले बताए । उनीहरू कालिज हेर्न आउने आन्तरिक पर्यटकलाई होमस्टेको व्यवस्था गरी घरमै कालिजको मासु खाने प्रबन्ध मिलाउने तयारीमा समेत लागेका छन् ।
कालिज पालन सुरु गरेसँगै उनीहरूले केही समस्या पनि झेलिरहेका छन् । कालिजको उपचार गर्ने छुट्टै विशेषज्ञ नहुँदा कुखुरालाई गर्ने उपचार गराउनु परेको रामचन्द्रले गुनासो गरे । अन्य मुलुकमा कालिजको उपचार गर्ने छुट्टै विशेषज्ञ भए पनि नेपालमा अझै यसको व्यवस्था हुन नसकेको उनको गुनासो थियो । कालिजको बिमा गर्ने व्यवस्था नहुँदा जोखिमसमेत आफैले व्यहोर्नुपर्ने अवस्था रहेको यज्ञले बताए ।
“कालिजको बिमा गर्ने कुरा गर्दा ब्रोइलर कुखुराको मूल्यमा गर्नुपर्ने रहेछ,” यज्ञले भने, “त्यो मूल्यमा बिमा गर्दा त कालिजको मूल्यको पाँच प्रतिशत पनि जोखिम बहन हुँदैन ।” उपचार सेवा र बिमाको व्यवस्था गर्न उनीहरूले सरकारसँग माग गरेका छन् । सरकारले अनुमति दिए कालिजसँगै मृग पालन पनि सुरु गर्ने उनीहरूको योजना छ ।

किशोर बुढाथोकी

प्रतिक्रिया दिनुहोस्