एनसेलको ‘लिग अफ क्रियटर्स’

काठमाडौं– मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लिग अफ क्रियटर्स’ अभियान सुरु गरेको गरेको छ ।
यो अभियानले नेपालभरि फैलिएका भावी प्रतिभाशाली डिजिटल सामग्री निर्माताको पहिचान र सशक्तीकरण गर्ने लक्ष्य लिएको एनसेलले जनाएको छ । अभियानअन्तर्गत सञ्चालन गर्ने प्रतियोगिताले डिजिटल कन्टेन्ट क्रियटर्स बन्न चाहनेलाई ‘माई नेटवर्क, माई कनेक्टिभिटी’ विषयवस्तुमा आधारित रही आफ्ना सामग्री प्रस्तुत गर्न प्लेटफर्म दिनेछ ।
प्रतियोगितामार्फत सहभागीले आफ्नो पहिचान बनाउने मौका पाउने एनसेलले बताएको छ । पुरस्कारका रुपमा एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाइनेछ । सहभागी प्रतियोगीलाई सन्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फुडी नेपाल, पराक्रम राणा, एकता तण्डुकारजस्ता सम्बन्धित क्षेत्रका अग्रणी व्यक्तित्व र चर्चित क्रिएटर्सले मार्गदर्शन गर्नेछन् ।
‘यो केवल प्रतियोगिता मात्र होइन । यो एक सिर्जनात्मक विकास यात्रा हो, जसमा मेन्टरसिप, कार्यशाला, वास्तविक अनुभव लिँदै सिक्ने मौका, चुनौतीपूर्ण चरण र रोमाञ्चक पुरस्कार रहेका छन् । अभियानमार्फत, हामी नयाँ पुस्ताका नेपाली डिजिटल सामग्री निर्मातालाई सिक्ने, अघि बढ्ने र प्रभावशाली सामग्रीमार्फत परिवर्तन ल्याउन प्रेरणा दिँदै सशक्त बनाउने प्लेटफर्म दिन चाहन्छौं’, एनसेलका मार्केटिङ कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक पुनम सिंहले भनिन् ।
प्रतियोगिताका लागि जेठ १८ देखि दर्ता खुलाइएको एनसेलले जनाएको छ । प्रतियोगितामा पहिला अनुभव भएका वा नभएका सबै १६ वर्षमाथिका नेपाली डिजिटल सामग्री निर्माताले सहभागिता जनाउन सक्नेछन् । सहभागीले आफ्नो नेटवर्क र कनेक्टिभिटीप्रतिको व्यक्तिगत वा भावनात्मक बुझाइ झल्किने ३० देखि ९० सेकेन्डको भर्टिकल भिडियो तयार गरी टिकटक र इन्स्टाग्राम दुवैमा पोस्ट गर्नुपर्नेछ ।
देशभरिबाट प्राप्त हुने भिडियोबाट उत्कृष्ट ५० जना क्रिएटर्सलाई मेन्टरले छान्नेछन्, जसले विशेष प्रशिक्षण र मेन्टरसिप प्राप्त गर्नेछन् । ‘लिग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले असार १४ मा गरिनेछ। मुख्य विजेताले एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षका लागि ब्रान्ड डिल प्राप्त गर्ने कम्पनीले बताएको छ ।