Logo

अन्नपूर्ण प्रथम हिमाल आरोहणको हीरक महोत्सव सुरु

नारच्याङबेंसीदेखि हुमखोला, फुतफुते झरना, साँधीखर्क, भुसकेत, पञ्चकुण्ड ताल हुँदै जेठ १९ मा चार हजार एक सय मिटर उचाइको अन्नपूर्ण आधारशिविर पुग्ने मौरिस हर्गोज पदमार्गयात्रामा करिब दुई सय जना सहभागी छन् ।

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अवस्थित नारच्याङदेखि आधारशिविरसम्मको पदयात्रा टोलीलाई शनिबार बेलुकी पदमार्गको प्रवेशबिन्दु नारच्याङ बेंसीमा स्वागत गरेर महोत्सव सुरु भएको घोषणा गरिएको हो ।

आइतबारदेखि सुरु भएको पदयात्रा टोलीमा सहभागी हुन आएका अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोग छोरा फ्रान्सका माथिएस हर्जोगलगायत १४ जना विदेशी, पर्यटन ब्यवसायी, पत्रकारको टोलीलाई अन्नपूर्ण गाउँपालिका–४ नम्बर वडा कार्यालयलगायतका संघसंस्थाले स्वागत गरेका थिए । माथिएस हर्गोजसँगै आएका फ्रान्सका कलाकारले प्रथम आरोहीको सम्मानमा संगीत प्रस्तुत गरे ।

उनीहरुले जेठ १९ बेलुकी अन्नपूर्ण आधार शिविरमा पनि सांगीतिक प्रस्तुति गर्ने बताइएको छ । प्रथम आरोही मौरिसका छोरा माथिएस, नाति इथेन हर्जोगलगायत फ्रान्सका ६, बेलायतका तीन, भारतका पाँच र इटलीका एक जना पाहुना सरकारको निमन्त्रणामा हीरक जयन्तीको कार्यक्रममा सहभागी हुन आएको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर पुनले बताए ।

नारच्याङबेंसीदेखि हुमखोला, फुतफुते झरना, साँधीखर्क, भुसकेत, पञ्चकुण्ड ताल हुँदै जेठ १९ मा चार हजार एक सय मिटर उचाइको अन्नपूर्ण आधारशिविरमा पुग्ने मौरिस हर्गोज पदमार्गको पदयात्रामा करिब दुई सय जना सहभागी छन् । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहण शुभारम्म भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा आगामी जेठ २२ सम्म विविध कार्यक्रम गरेर हीरक महोत्सव मनाइने अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।

‘आरोहणको ७५ वर्षपछि पहिलो पटक सम्बन्धीत भूगोलमा महोत्सव मनाउन पाएकोमा हर्षित भएका छाैं,’ पदयात्रा टोलीलाई स्वागत गर्दै उनले भने, ‘हर्गोजको टोलीबाट भएको अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको सम्भावना अन्तर्राष्ट्रियकरण भएकाले हीरक महोत्सव आयोजना गरिएको हो ।’ म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ ।

आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्गोज र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । महोत्सव अवसरमा जेठ १९ र २० मा अन्नपूर्ण गाउँपालिकाका ८ वटै वडाको सहभागितामा मगर संस्कृतिमा आधारित पुख्र्यौली नृत्य, झाँकी तथा खुला नृत्य प्रतियोगिता आयोजना गरिनेछ ।

जेठ २० मा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आधारशिविरमा राखिएका आरोहीका सालिक अनावरण, संग्रहालय र मौरिस हर्गोज पदमार्ग उद्घाटन, नारच्याङबेंसीमा मूल समारोह, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम राखिएको अन्नपूर्ण पालिका उपाध्यक्ष दिवा तिलिजा पुनले बताइन् । जेठ २० मा हुने आधारशिविरदेखि नारच्याङसम्म म्याराथन दौड प्रतियोगितामा म्याग्दीका ४२ धावकले नाम दर्ता गराएका छन् । यो टोलीले जेठ २१ मा पर्यटकीय स्थल घोडेपानी पुनहिलमा पदयात्रा गर्ने कार्यक्रम छ ।

जेठ २२ मा पोखरामा प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरण अवलोकन गर्ने कार्यक्रम छ । अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समिति, पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को आयोजनामा महोत्सव गर्न लागिएको हो । नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ मा अन्नपूर्ण हिमाल र आधारशिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो ।

पोखरामा मौरिस हर्जोगका छोरा म्याथिएस र नाति सिमोनसहितको टोली
७५औं अन्नपूर्ण प्रथम हिमाल आरोहणको दिवस (हीरक महोत्सव) मनाउन पोखराबाट पदयात्रामा निस्केको टोली अन्नपूर्ण क्षेत्र नारच्याङ पुगेको छ । पोखराबाट हिँडेको टोली म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नारच्याङ (अन्नपूर्ण क्षेत्र) पुगेको हो ।

अन्नपूर्ण गाउँपालिकाको नेतृवमा स्थानीयले टोलीलाई बाजागाजासहित भब्य स्वागत गरेका थिए । हिरक महोत्सवको अवसर पारेर आयोजना गरिएको पदयात्रामा मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन र नाती सिमोन ज्याक्युस, फ्रान्सेली पर्वतारोहण अनुसन्धानकर्ता र सांगीतिक टोली गरी १४ जनाको टोली पनि सहभागी छ ।

पोखराबाट पर्यटन बोर्डको नेतृत्वमा पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित ६० जना सहभागी छन् । टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले मौरिसका छोरा र परिवारसहितको टोली अन्नपूर्ण दिवस मनाउन आएको बताए ।

प्रतिक्रिया दिनुहोस्