Logo

लमजुङका वैदेशिक रोजगार पीडितलाई दुई करोड सहयोग

लमजुङ– लमजुङका वैदेशिक रोजगार पीडितहरूले करिब दुई करोड रुपैयाँ आर्थिक सहायता पाएका छन् । जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको आप्रवासी श्रोत केन्द्रले वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका पीडित वा परिवारलाई उक्त आर्थिक सहयोग उपलब्ध गराएको हो । आप्रवासी श्रोत केन्द्रका अनुसार जिल्लामा हालसम्म एक करोड ९२ लाख ५९ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध भएको छ ।

सोमध्ये सबैभन्दा धेरै एक करोड १८ लाख रुपैयाँ वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका परिवारमा गएको छ । केन्द्रका अनुसार वैदेशिक रोजगारको क्रममा मृत्यु भएका १३ जनामध्ये ११ जनाको परिवारले आर्थिक सहयोग पाइसकेका र दुई जनाको प्रक्रियामा रहेको छ । त्यसैगरी ठगीसम्बन्धी समस्याका पीडितहरूका लागि ४९ लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग भएको छ । ठगीसम्बन्धी ३४ निवेदनमध्ये १८ वटाको समाधान भइसकेको र १६ वटा प्रक्रियामा रहेको पनि श्रोत केन्द्र लमजुङले जनाएको छ ।

वैदेशिक रोजगारीको क्रममा स्वास्थ्यसम्बन्धी समस्या भएकाहरूलाई १२ लाख ४२ हजार रुपैयाँ आर्थिक सहयोग गरेको केन्द्रले जनाएको छ । स्वास्थ्यसम्बन्धी समस्या भएका १२ जनाको निवेदन आएकोमा पाँच जनाको समस्या समाधान भएको र सात जनाको प्रक्रियामा रहेको केन्द्रले जनाएको छ । सो बाहेक अलपत्र/उद्धारलगायत विभिन्न समस्यामा परेकाहरूलाई ६२ लाख ६२ हजार रुपैयाँ सहयोग गरेको केन्द्रले जनाएको छ । उक्त रकम जिल्ला प्रशासन कार्यालयमा आएको र पीडितहरूलाई प्रदान गरिएको आप्रवासी श्रोत केन्द्र लमजुङका परामर्शदाता ईश्वर लोहनीले बताए ।

सुरक्षित आप्रवासन परियोजना (सामी) नेपाल सरकार र स्विस सरकारबीच भएको द्विपक्षीय सम्झौता बमोजिम सन् २०१३ देखि कार्यान्वयन भइरहेको छ । नेपाल सरकारका तर्फबाट श्रम तथा रोजगार मन्त्रालय र हेल्भेटास स्वीस इन्टर कोअपरेसनले संयुक्त रूपमा लमजुङसहित देशका विभिन्न जिल्लाहरू छनोट गरी सो परियोजना कार्यान्वयनमा आएको हो । यसअघि जिल्लाको सदरमुकाम बेसीसहरमा मात्रै कार्यान्वयन भएको सो योजना यसैवर्षदेखि जिल्लाको सुन्दरबजार र दोर्दीमा पनि सुरु हुँदैछ ।

बेसीसहर नगरपालिकाले भने जिल्ला प्रशासन कार्यालय परिसर भित्रैको संरचनाबाट सेवा प्रवाह गरिरहेको छ । सो परियोजनाअन्तर्गत सम्भावित आप्रवासी कामदार, वैदेशिक रोजगारबाट फर्किएका आप्रवासी कामदार, आप्रवासी कामदारका परिवार, विद्यालयका विद्यार्थीहरू, सञ्चार क्षेत्र तथा समाजका विभिन्न समूहहरूलाई आवश्यकताअनुसार सूचना, सीप, न्यायको पहुँच, मनोसामाजिक परामर्श सेवा, पैरवी, पुनस्र्थापन, क्षमता विकासजस्ता विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ ।

परियोजनाबाट सुरक्षित वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि भरपर्दाे तथा तथ्यमा आधारित आवश्यक सूचनाहरू उपलव्ध गराउने, वैदेशिक रोजगारमा सीप तालिम लिएर मात्र जान अभिप्रेरित गर्ने, साथै नि:शुल्क सीप तालिमका लागि सिफारिस गर्ने, वैदेशिक रोजगारमा जाँदा लेखबद्ध भएर जान अभिप्रेरित गर्ने र यसका प्रक्रियाहरूबारे जानकारी गराउने, बीमा गराउँदा, स्वास्थ्य परीक्षण गराउँदा, करारनामामा हस्ताक्षर गर्दा र वैदेशिक रोजगार व्यवसायी कम्पनी छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू जानकारी तथा परामर्श हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्