पहाडकी रानी घान्द्रुक

ताप्लेजुङ – माघे संक्रान्तिको मिर्मिरे बिहानी थियो । अघिल्लो दिनको यात्राले होला, निकै थकित थियौं । आँखाको ढकनी खुल्यो तर शरीर उठाउन असजिलो बन्यो । एक्कासि बाहिरको आवाज आयो, ए ! हिमाल ! उठ क्या….।
सबै ज-याकजुरुक उठे । क्षणभरमै होटलको छत भरियो । माछाको पुच्छरझैं देखिने गरिको माछापुछ्रे हिमाल । जता हे-यो उतै लोभलाग्दो देखिएको हिमचुलीको दृश्य । चाँदीझै टलक्क टल्किएको सेताम्मे हिमालमा कलिलो घामको किरण ठोक्किएको थियो । निलो आकाश । आकाश नै छुएको आभास हुने गरिको हिमालको दृश्य साँच्चिकै लोभलाग्दो थियो । सबैले मोबाइलबाट फोटो कैद गर्न भ्याए ।
वस्तीभित्रको गुम्बामा विहानैदेखि बुद्ध वाणी गुन्जन्छ । बस्तीमाथिको मालिका वराह मन्दिरमा किन्डिङ किन्डिङ घन्टीको आवाज सुनिन्छ । समुद्री सतहदेखि १ हजार ९ सय मिटरको उचाइमा अवस्थित गुजुमज्ज परेको घान्द्रुक बस्ती । अधिकांश घरको छानो ढुङ्गाको स्लेट । पैदलमार्ग र आँगनमा पनि ढुङ्गा नै बिच्छ्याएको छ । चिटिक्क परेको बस्तीको सरसफाइ जो कोहीको मनमा यादगर बन्छ । आजभोलि घान्द्रुकलाई ‘पहाडकी रानी’ पनि भन्न थालिएको छ । बस्तीभित्र गुरुङ सङ्ग्रहालय छ ।
सङ्ग्रहालय ऐतिहासिक विषयको अध्ययन गर्ने थलो भएकाले अध्ययन गर्न चाहनेका लागि रुचीको विषय बन्छ । गुरुङ पोसाक र गरगहना लगाएर फोटो खिच्न खुबै मन पराउँछन् ।
अन्नपूर्ण हिमाल र अन्नपूर्ण संरक्षण क्षेत्र आरोहण तथा घुमफिरका लागि आउने पर्यटकका लागि परिचित गन्तव्य बनेको छ । अझ नेपाल आएर घान्द्रुक नटेकी फर्किए यात्रा अधुरो हुने शब्द निकै प्रयोग हुन थालेको छ । सुन्दर बस्तीमा विद्युत् तथा इन्टरनेटको सुविधा र न्यानो आतिथ्यताले पर्यटकको मन घान्द्रुकमा अडिएको हुन्छ । हेभन भ्यू होटल सञ्चालक सन्तोष गुरुङका अनुसार बस्तीभित्र करिब ७ सय घर छन् । तीमध्ये झन्डै आधाजसोकोमा होटल तथा होमस्टे छ । करोडौ लगानी गरेका होटल र पुरानो घरमा सञ्चालित होमस्टे फस्टाएकै छ । खोलिएका होटल तथा होमस्टे बन्द त के बरु अझै थपिँदै छ । अझ घान्द्रुकबाट प्राकृतिक सौन्दर्यमा रमाउँदै पदयात्रा गर्न चाहनेका लागि घान्द्रुक–घोरेपानी क्षेत्र पनि छ । जंगलको बाटो, हिमाल दृश्य र सुनसान क्षेत्र साँच्चिकै यात्रा गर्न लायक मानिन्छ ।
कक्षा–११ का ४६ जना विद्यार्थीको टोलीमध्येकी एक डिकी शेर्पाले भनिन्, “बाहिरबाट आएका मान्छे मात्रै देखिन्छ । यहाँको त त्यति देखिँदैन ।” ट्राभल एण्ड टुरिजमतर्फकी विद्यार्थी शेर्पाकोझै अर्की छात्रा रोजा लिम्बुले पनि जिज्ञासा राखिन् । उनले भनिन्, “ढुङ्गाको छानो भएको यति सुन्दर घर मासियो भने के हुन्छ ? किनकी धेरै घर कङ्क्रिटबाट बनिएको-बन्दै छ ।” ताप्लेजुङ सदरमुकामस्थित कञ्चनजंघा बोर्डिङ स्कुलका संस्थापक दिनेश भट्टराईले आधुनिकतासँगै यहाँको मौलिकता जोगाउनुपर्ने खाँचो औल्याउँदै जवाफ फर्काए । भट्टराईले भने, “टुरिजम पढाएर मात्र हुँदैन । पर्यटन के हो भनेर गराइने घुमफिरले खास अर्थ दिन्छ ।” शिक्षक लेनिस खड्काका अनुसार मौलिक परम्परा, संस्कार र संस्कृति तथा स्थानीय परिकार पर्यटकको लागि अर्गानिक हुन् ।
तर आधुनिकतासँगै कृत्रिम बनावटले ऐतिहासिक विशेषता ओझेलमा पर्ने भएकाले सावधानी अपनाउनुपर्ने व्यवहारिक शिक्षा हुन आवश्यक छ । दिनभर खेतबारीमा काम गर्ने, साँझपख सांस्कृतिक कार्यक्रम गरी रमाइलो गर्ने र सोझो तथा फरासिलो जातिको पहिचान बनाएको घान्द्रुक बस्तीको सुन्दरता आधुनिकतासँगै मेटिने पो हो कि भन्ने चिन्ता हुनु स्वभाविकै हो ।
सन् १९५० तिर फ्रान्सेली नागरिक मोरिस हरजाले अन्नपूर्ण हिमाल आरोहण गरेसँगै घान्द्रुक बस्ती चर्चामा आउन थालेको मानिन्छ । घान्द्रुक हुँदै अन्नपूर्ण आधार क्षेत्र प्रवेश गर्ने बाटो खुलेसँगै घान्द्रुकका बासिन्दाको पर्यटन व्यवसाय सुरु भएको हो । भ्रमण वर्ष २०२० सफल बनाउन घान्द्रुक पनि एउटा गन्तव्य हो ।
कसरी पुग्ने ?
पोखराबाट करिब ३० किलोमिटर पक्की सडक यात्रा गरेर नयाँ पुल पुगिन्छ । नयाँ पुलदेखि घान्द्रुकसम्म कच्ची सडकमा २ घन्टा यात्रा गर्नुपर्छ । नयाँपुल–घान्द्रुक दुरी करिब २२ किलोमिटर छ । हिउँदमा पनि टु ह्विलर गाडी पुग्न मुश्किल छ । रुटमा चल्ने बस तथा ट्याक्सी उपलब्ध छ । यदि ४० जनासम्म बोक्ने बस भाडामा चाहिए आवतजावतवापत १५ हजार पर्छ । तर सिजनको बेला असोज–कात्तिक र चैत–वैशाखमा भाडामा २-४ हजार बढी पर्छ । तपाईको बजेट र चाहनामा होटल वा होमस्टेको सेवा सुविधा लिन सकिन्छ । यदि समूहमा हुनुहुन्छ भने १ जना बरावर १ रात सुतेको वेड चार्ज, एक छाक सादा खाना र विहानको चिया नास्ता (व्रेकफास्ट) गरी कम्तीमा १ हजार पुग्छ ।
(घान्द्रुकबाट फर्केर)