यातायात व्यवसायी र गृहमन्त्रीबीच छलफल चल्दै

काठमाडौं- यातायात व्यवसायीका प्रतिनिधि र गृहमन्त्री रमेश लेखकबीच छलफल चलिरहेको छ ।
सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा देशव्यापी चक्काजाम घोषणा गरेका यातायात व्यवसायीका प्रतिनिधि र गृहमन्त्रीबीच गृहमन्त्रालयमा छलफल सुरु भएको हो ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको नाममा यातायात व्यवसायीहरुले सोमबार एक दिन देशभर सार्वजनिक यातायातका साधन चलाएका छैनन् । गाडी नचल्दा यात्रीहरु मर्कामा परेका छन् ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
काठमाडौं उपत्यकाका सडकहरुमा निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरु फाट्टफुट्ट चलेका छन् । तर सार्वजनिक बस, माइक्रो बस र टेम्पोहरु चलेका छैनन् ।