Logo

प्रतिदिन औषतमा पर्यटकले गर्ने खर्च

पर्यटकले प्रतिदिन औषतमा गर्ने खर्च पाँच वर्षमा ३७ प्रतिशत घट्यो

काठमाडौं– मुलुकमा भित्रिने पर्यटकको संख्यामा विस्तारै सुधार आए पनि उनीहरुले गर्ने दैनिक खर्च घट्दो क्रममा देखिएको छ । पर्यटकको बसाइ अवधि पनि बढ्न सकेको छैन ।

पछिल्लो पाँच वर्षको तथ्यांकलाई केलाउँदा प्रत्येक वर्ष पर्यटक संख्या बढेको तर उनीहरुले गर्ने खर्च र बसाइ अवधि घटेको देखिएको हो । सन् २०२० को तुलनामा २०२४ मा पर्यटकले दैनिक गर्ने खर्च औषतमा झण्डै ३७ प्रतिशतले घटेको छ ।

आर्थिक सर्वेक्षण २०८१–८२ का अनुसार सन् २०२० मा नेपाल आउने पर्यटकले प्रतिदिन औषतमा ६५ अमेरिकी डलर खर्च गर्थे । यसको ५ वर्षपछि सन् २०२४ मा भने पर्यटकले दैनिक औषतमा ४०.८ अमेरिकी डलरमात्र खर्च गरेको देखिएको छ । यो करिब २४ अमेरिकी डलर अर्थात् ३७ प्रतिशतको कमी हो ।

पाँच वर्षको अन्तरालमा पर्यटकको बसाइ अवधि भने लगभग खर्चजस्तै घटेको छैन । एक–दुई दिनमात्र फरक छ । २०२० मा औषतमा पर्यटक बसाइ १५.१ दिन भएकामा २०२४ मा १३.३ दिनमा झरेको हो । सर्वेक्षणका अनुसार सन् २०२१ मा नेपाल भ्रमणमा आउने एक पर्यटकले औषतमा दैनिक ४८ डलर खर्च गरेका थिए । प्रतिपर्यटक औषत बसाइ अवधि १५.५ दिन थियो ।

यस्तै, सन् २०२२ मा पर्यटकको औषत बसाइ १३.१ दिन र औषत खर्च ४०.५ अमेरिकी डलरमा झरेको देखिन्छ । आर्थिक सर्वेक्षणअनुसार सन् २०२३ मा पनि पर्यटकको खर्चमा खासै सुधार आउन सकेको छैन । यो वर्ष प्रतिपर्यटकको औषत बसाइ १३.२ दिन र प्रतिपर्यटक प्रतिदिन खर्च औषतमा ४१ अमेरिकी डलर थियो । पछिल्लो वर्ष सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक नेपाल आएका थिए ।

पर्यटकको खर्च र बसाइ अवधिमा सुधार नआएका बेला राष्ट्रिय योजना आयोगले भने बसाइ र खर्च गर्ने क्षमतामा महत्वाकांक्षी लक्ष्य अगाडि सारेको छ । आयोगको सोह्रौं योजना (२०८१/८२–८५/८६ ले वार्षिक पर्यटक आगमन संख्या २५ लाख पुर्‍याउने भनेको छ । यस्तै, पर्यटकको औषत बसाइ अवधि १५ दिन, प्रतिदिन औषत खर्च ८५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको छ । कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ७ प्रतिशत पुर्‍याउने लक्ष्य छ ।

सन् २०२१ मा कोभिडका कारण पर्यटक आगमन शून्यप्रायः भए पनि नेपालमा पर्यटकले गर्ने खर्च र उनीहरुको बसाइ अवधि बढेको थियो । त्यो समयमा नेपाल आउँदा कोभिडका कारण केही दिन क्वारेन्टिनमा बस्नुपर्दा खर्च र बसाइ अवधि बढेको हो । कोभिड महामारीका कारण सन् २०२० मा पर्यटक आगमनमा अघिल्लो वर्षको तुलनामा करिब ८० प्रतिशतले कमी आएको थियो । तर, पर्यटकको औषत खर्च र बसाइ अवधि लम्बिएको थियो ।

पर्यटकको खर्च गर्ने डलर र बस्ने समय अवधि नबढे पनि पर्यटकले गर्ने खर्चबाट आउने आय बढ्दो क्रममा छ । सन् २०२३ मा पर्यटकको भ्रमण आय ७२ अर्ब ४५ करोड ५६ लाख थियो । २०२४ मा यसमा १५ प्रतिशतले वृद्धि भई ८३ अर्ब ३९ करोड ४० लाख पुगेको छ ।

यस्तै, सन् २०२२ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट ४६ अर्ब ७६ करोड रुपैयाँ विदेशी मुद्रा आर्जन भएको थियो । सन् २०२१ मा यस्तो आय १३ अर्ब ५० करोड ११ लाख रुपैयाँमात्र थियो । कोभिडका कारण सन् २०२० र २०२१ मा पर्यटक आगमन क्रमशः २ लाख ३० हजार र १ लाख ५१ हजारमात्र थियो । सन् २०२२ मा पर्यटक आगमनमा उच्च वृद्धि भएर ६ लाख १४ हजार ८ सय ६९ पुगेको थियो ।

पर्यटन व्यवसायीहरुका अनुसार पर्यटकका लागि उपयुक्त गन्तव्यको विकास नहुनु नै खर्च बढ्न नसक्नुको पहिलो कारण हो । नेपाल भ्रमण गर्न आउने पर्यटकलाई ‘इन्गेज’ गराउने वातावरण नहुँदा उनीहरुले गर्ने खर्च र बसाइ अवधि बढाउन नसकिएको होटल संघ नेपालका अध्यक्ष विनायक शाह बताउँछन् । उनले भने, ‘नयाँ पर्यटकीय गन्तव्यमा पूर्वाधार विकास नहुनु पहिलो कारण हो । दोश्रो भनेको काठमाडौं, पोखरा र चितवन बाहेकका अन्य पर्यटकीय गन्तव्यको प्रचारप्रसार नहुनु हो । तेश्रो कारण सरकार र सरोकारवाला निकायले स्रोत बजारमा प्रचारप्रसार पर्याप्त गर्न सकेका छैनन् ।’ सरकारले सोह्रौं योजनामा राखेको लक्ष्य असम्भव नभए पनि चुनौतीपूर्ण रहेको अध्यक्ष शाहको भनाइ छ । ‘लक्ष्य पूरा गर्न पूर्वाधार विस्तार, स्रोत बजारमा प्रचारप्रसार र डिजिटल पेमेन्टको चुहावट नियन्त्रण गर्नुपर्छ । पूर्वाधार विस्तार गर्न नसक्दा खर्चालु पर्यटकको आगमन वृद्धि हुन सकेको छैन । सडक पूर्वाधारसँगै विमानस्थल सुधार र हवाई टिकटको मूल्यमा कमी गरी प्रचारप्रसारमा जोड दिनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्