पूर्वी रुकुममा धमाधम संरचना «

पूर्वी रुकुममा धमाधम संरचना

रुकुम पूर्व अहिले नयाँ संरचना बनाउनमा ब्यस्त छ । ०७२ को संविधान लागू भएपछि रुकुमबाट छुटेर बनेको पूर्वी रुकुमको अहिलेको सदरमुकाम रुकुमकोटमा विभिन्न कार्यालय भवनहरु धमाधम निर्माण भइ रहेका छन् । नयाँ संरचनाबाट रुकुम पश्चिम र रुकुम पूर्वमा विभाजन भएपछि पुरानो सदरमुकाम मुसिकोट रुकुम पश्चिममा परेपछि रुकुमकोट अहिले पूर्वी रुकुमको सदरमुकाम बनेको हो । नयाँ संरचनाबाट पश्चिम रुकुम कर्णाली प्रदेश र पूर्वी रुकुम प्रदेश–५ मा विभाजन भएका हुन् । हिमाली जिल्लाको पहिचान बनाउँदै गरेको पूर्वी रुकुमको ५३ हजार जनसंख्या रहेको छ ।
नयाँ संरचनाले बनेको नयाँ जिल्ला पूर्वी रुकुममा ३ वटा स्थानीय तहहरु रहेका छन् । पूर्वी रुकुमका सिस्ने गाँउपालिका, भुमे गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिका रहेका छन् । अहिलेको सदरमुका रुकुमकोट सिस्ने गाउँपालिकामा पर्दछ । कान्छो जिल्ला रुकुम पूर्वमा जिल्ला सदरमुकामको केहि विवाद रहेको स्थानीय पत्रकार जयमान बुढा मगरले बताए । केहि संरचनाहरु रुकुमकोटमा रहेकाले रुकुमकोटबाट जिल्ला सदरमुकाम चलेपनि सदरमुकामको विषयमा विवाद रहेको उनले बताए । नयाँ संरचना बन्दै गर्दा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले पूर्वी रुकुमको सदरमुकाम पुथा उत्तरगगां गाउँपालिका–१२ मा रहेको गोलखाडालाई सदरमुकाम बनाउने निर्णय रहेकाले सदरमुकामा गोलखाडामै रहनु पर्ने विवाद रहेको मगरले बताए ।
नयाँ जिल्ला भएकाले धेरै कार्यालय एउटै भवनबाट सञ्चालन गर्नुपर्ने समस्या रहेको प्रमुख जिल्ला अधिकारी मोहनकुमार अर्यालले बताए । अहिले जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय एउटै भवनबाट सञ्चालन हुँदै आएको छ । पुरानो इलाका प्रशासन कार्यालयको भवनबाट अहिले जिल्ला प्रशासन कार्यालयले सेवा दिइ रहेको अर्यालले बताए । अन्य संरचनाहरु पनि निर्माण हुने क्रममा रहेको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् । जिल्ला अस्पताल मंसिर ५ गते उद्घाटन भएको छ अब चाँडै निर्माण सम्पन्न भएर सेवा दिने बरालले बताइन् ।
पूर्वी रुकुम भागखोला र सानोभेरीदेखि धैलागिरी हिमालसम्म फैलिएको छ । पूर्वीरुकुम पर्यटकीय सम्भावना बोकेको जिल्ला पनि हो । पूर्वी रुकुमको मुख्य पर्यटकीय स्थलहरुमा कमल ताल, सुन दह, मुसिउ दह हुन । तत्कालीन समयमा बाउन्न पोखरी त्रिपन्न टाकुरी भनेर चिनिने जिल्ला भएपनि अहिले जिल्लामा दुईवटा मात्र ठूला पोखरी रहेको स्थानीय पत्रकार जयमान बुढा मगरले बताए । हिमाली जिल्ला भएकाले सम्बन्धित हिमाल रहेका स्थानसम्म पुग्ने पर्यटकीय पदमार्ग र व्यावसायिक धर्मशालहरु निर्माण र बेशक्याप निर्माण गरी पर्यटनबाट जिल्लाको विकास गर्ने तयारी रहेको जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर वलीले बताए । जिल्लामा ५ हजारदेखि ७ हजार उचाइ रहेका हिमालहरु रहेको उनले बताए । जिल्लामा पुथा हिमाल ७२४६ मिटर देखि ४५०० मिटर उचाइमा रहेको हिमाल रहेको वलीले बताए । पूर्वी रुकुममा पुथा हिमाल, दोगारी हिमाल, साम्जाङ हिमाल, सिस्ने हिमाल, ङिम्कुँ हिमाल, मुसिकोल्टा हिमाल रहेका छन् ।
पूर्वी रुकुम कान्छो जिल्ला रहेकाले अब केहि वर्ष संरचना निर्माणसँगै जिल्लाको अन्य विकास गरिने जिल्ला समन्वय समिति पूर्वी रुकुमका समन्वय समिति प्रमुख वलीको भनाई छ । “हामीसँग प्राकृतिक सुन्दरता छ पर्यटन प्रवद्र्धन गर्दै जिल्लालाई समृद्ध बनाउने सपना छ ।” वलीले भने ।

 

दिपक बोहोरा-मेगराज खड्का

प्रतिक्रिया दिनुहोस्