Logo

पेम्बाको सगरमाथा विजययात्रामा एनसेल फाउन्डेसनको सहयोग

काठमाडौं– मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले मृर्गौला प्रत्यारोपण गरेका पेम्बा शेर्पाले सगरमाथाको सफल आरोहण गरेर हासिल गरेको ऐतिहासिक उपलब्धिमा एनसेल फाउन्डेसनको सहयोग रहेको बताएको छ । ऐतिहासिक सफलता साहस, संकल्प र शक्तिको उदाहरण मात्र नभई, दृढ संकल्पका साथ देखिएका सपना असम्भव छैन भन्ने सशक्त सन्देश पनि रहेको एनसेलको भनाइ छ ।

पेम्बाले वैशाख ३१ गते बिहान सगरमाथाको शिखर चुमेका थिए । यो यात्रा एक व्यक्तिगत विजय मात्र नभई शारीरिक चुनौती भोगिरहेकाका लागि आशाको उज्यालो सावित भएको एनसेल फाउन्डेसनले बताएको छ । साथै, यो यात्राले जलवायु परिवर्तनका कारण संकटमा परेका हिमाल संरक्षणका लागि जनचेतना फैलाउने महत्त्वपूर्ण कार्य गरेको कम्पनीको भनाइ छ ।

‘सगरमाथा आरोहणभरि मेरो स्वास्थ्य सबल रह्यो । यस यात्रामा मैले विश्वभरका ८५ करोडभन्दा बढी मिर्गौला रोगीको आशा बोकेर सगरमाथाको चुचुरोमा पाइला राखें र इच्छा गरेमा केही पनि असम्भव छैन भन्ने कुरालाई पूरा गर्न सफल भएँ । यो यात्रा पग्लिँदै गएको हिमाल जोगाउन पनि एउटा सन्देश थियो । यसमा एनसेल फाउन्डेसनको विश्वासप्रति गौरव गर्न चाहन्छ’, पेम्बाले भने । एनसेलले पेम्बाको ऐतिहासिक सफलताका लागि उनलाई बधाइ दिएको छ ।

‘उहाँको यात्रा प्रेरणा, सहनशीलता र प्रतिबद्धताको कथा हो । यो केवल एक व्यक्तिगत लक्ष्यप्राप्ति मात्र नभई विश्वव्यापी जलवायु मुद्दाप्रतिको आह्वान पनि हो । यस महत्त्वपूर्ण यात्राको सहयात्री हुन पाएकामा खुसी छौं’, एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् । एनसेल फाउन्डेसन समुदायमा अर्थपूर्ण परियोजनामार्फत दिगो प्रभाव पार्ने देशभरका समुदायलाई सशक्त र समावेशी बनाउन दिँदै आएको छ । एनसेलले हालसम्म २ अर्ब रुपैयाँभन्दा बढीको सामाजिक योगदान दिएको छ ।

प्रतिक्रिया दिनुहोस्