Logo

सामुदायिक विद्यालयमा पूर्वाधार अभाव

जुम्ला– तातोपानी गाउँपालिकाका सामुदायिक विद्यालयले पूर्वाधार अभाव झेलिरहेका छन् । तातोपानीमा रहेका २९ वटा सामुादायिक विद्यालयमध्ये अधिकांशले शौचालय, खानेपानी, मैत्रीपूर्ण कक्षा कोठालगायतका पूर्वाधारको अभाव भोगिरहेको पाइएको हो ।

शिक्षा पत्रकार समूह कर्णाली प्रदेशको टोलीले तातोपानीका ६ वटा विद्यालयमा गरेको स्थलगत अनुगमन अनुसार दिवा खाजा प्रवर्द्धन, छापामय विद्यालय, शैक्षिक गुणस्तरमा गम्भीरता देखिएपनि पूर्वाधार अभाव झेलिरहेको भेटिएको हो । शनिबार सहयात्रा तेस्रो परियोजना अन्तरर्गत तातोपानी गाउँपालिका, किर्डाक नेपाल, सेभ द चिल्डे्रनको सहयोग तथा शिक्षा पत्रकार समुहका सहजीकरणमा ‘शिक्षा संवाद कार्यक्रम’ सञ्चालन गरिएको छ ।

स्थानीय सरकार सञ्चालन पछि हरेक विद्यालयमा पूर्वाधार निर्माण धमाधम भइरहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । अध्यक्ष चौलागाईले विद्यार्थीका लागि बसाइनै असहज हुने गरी पालिकाका कुनै पनि विद्यालयमा पूर्वाधारको अभाव नरहेको दाबी गरे । अध्यक्ष चौलागाई भन्छन्,‘पालिकाको स्रोत र साधनले धाने जत्ति हामीले शिक्षामा लगानी गरिरहेका छौं । २९ वटै सामुदायिक विद्यालयमा आवश्यक पूर्वाधार बनेका छन् । सीमित स्रोत साधनका कारण माग गरे अनुसारका सबै संरचना निर्माण गर्न एकै चोटी गर्न सम्भव छैन । तर समस्याग्रस्त विद्यालयमा विशेष प्रथामिकताका साथ पूर्वाधार बन्छन् ।’

दरबन्दी मिलान, विद्यार्थीका टाउको गन्ने जस्ता थुप्रै अभ्यास गरेर शिक्षा क्षेत्रमा भइरहेको आर्थिक अनियमितता समेत रोकिएको अध्यक्ष चौलागाईको दाबी छ । तर सधैं पालिकाको मुख ताक्ने र स्थानीयले कुनै पनि चासो नदिने प्रवृत्तिले काम गर्न समस्या रहेको उनको तर्क छ । केही विद्यालयका व्यवस्थापन समितिले राम्रै काम गरेको भेटिए पनि अधिकांश समितिहरु योजनाको उपभोक्ता समितिमा बस्ने मोहमा लिप्त रहेको समेत उनले खुलासा गरे ।

जनजागृति मावि बारागाउँका प्रधानाध्यापक अमरबहादुर रावतले एक प्रधानाध्यापकले मात्रै चाहेर विद्यालय सुधार सम्भव नरहेको बताए । खेलमैदान, खानेपानी, मैत्रीपूर्ण शौचालयलगायतका अभाव अधिकांश विद्यालयले झेलिरहेको उनले उल्लेख गरे । उचित वातावरण नभएको खण्डमा अपेक्षाकृत शैक्षिक गुणस्तर हासिल गर्न सम्भव नरहेकाले भन्दै उनले शैक्षिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए । शिक्षक कालीबहादुर शाहीले दुर्गमका विद्यालयमा घेराबारलगायतका पूर्वाधार नहुँदा समस्या रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्